काभ्रे : काभ्रे जिल्लाको रोशी रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेको छ । उक्त (बोधिचित्त)को रुख वार्षिक तीन करोड रुपैयाँ लेन–देन सम्झौतामा विक्री भइसकेको खुल्नमा आएको छ ।
घरधनी शेरबहादुर तामाङले बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुख बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।
‘दुई–तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो’, तामाङले भने, ‘अहिले बल्ल रुखमा फूल फूल्दै थियो, फल्नुअघि नै आएर रुख काटिदिए ।’
उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए । त्रिपाठीले यही व्यवसायमा रहेका अरुले आफूले नपाएको झोंकमा यस्तो घटना गराएको हुनसक्ने बताए । ‘अरुले पनि किन्न खोजेका थिए, नपाएपछि यस्तो गरेको हुनसक्छ’, त्रिपाठीले भने, ‘फूल मात्र फुलेको बेला यस्तो गरेकाले पनि यो प्रतिशोधबाहेक केही होइन भन्ने देखिन्छ ।’
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ भने फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताउँछन् । उनका अनुसार, गएराति १ बजेतिर तामाङको घर छेउमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका थिए ।
सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको थियो । यद्यपि, त्यतिञ्जेल यसमा संलग्न व्यक्तिहरु फरार भइसकेका थिए । प्रहरी टोली घरमा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट, हसिया हतौडा अंकित झण्डा र मट्टीतेल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रुख काटेर जाने क्रममा नेकपा माओवादी जिन्दावाद भन्ने नारा लगाउँदै गएको स्थानीयले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी स्रोतका अनुसार, अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती व्यक्तिले आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपि, पछि घरधनी तामाङले लामा र त्रिपाठीलाई रुख बिक्री गरेका थिए ।
घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेका छ ।
काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।