काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवन समुद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले गर्नुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेको राष्ट्रपति रामचन्द्र पौडेल मण्डनदेउपुरको नव–निर्मित प्रशासकीय भवन समुद्घाटन कार्यक्रममा वताएको छ । आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढि निर्भर रहन्छ ।
यस मण्डनदेउपुर नगरपालिका संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको छ ।
१६ करोड १९ लाख ७९ हजारको लागतमा तयार भएको भवनको लागि संघीय समपुरकबाट १ करोड ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन गरिएको थियोे ।
लिफ्टसहितको भवनमा साना–ठूला गरी ६४ वटा कोठा छन् । २ वटा हल, अपांगमैत्री, लैंगिकमैत्री शौचालय निर्माण गरिएका छन् ।
नगरपालिका परिसरमा नै निर्माण गरिएको हेलिप्याड उद्धघाटनका साथै नगरपालिकाको लोगो अनावरण गरिएको थियो ।
कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो । त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ । स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ । हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी समेत रहेको छ ।
राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा म नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिन चाहन्छु ।
उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना छ । यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढिरहेको छ । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्ने विश्वास समेत रहेको छ ।
विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्ने तथा जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन्छ ।