काभ्रे । महाभारत गाउँपालिका–१ धापमा रहेको भैरब माध्यमिक विद्यालय कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले विद्यालयमै टनेल खेति सुरु गरेको छ । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ११ र १२ मा अध्ययनरत ३६ विद्यार्थीले विद्यालय परिसर नजिकै रहेको साँडे तीन रोपनी जग्गा ५ बर्षको लागि लिजमा लिई सामूहिक तरकारी खेती गर्न लागेका हुन् ।
विद्यालयले दुई दिवसीय महाशिवरात्रि र शनिबार बिदाको सदुपयोग गर्दै सहयोग र सरोकारको साथमा कृषि बाली विज्ञान विषयमा अध्ययन कक्षा ११ र १२ को विद्यार्थीहरुले टनेल बनाउनुका साथ बायोइन्सेन्टिभ ब्याड र प्लास्टिक मल्चिङ सिस्टममा टनेल खेत गर्ने तरिका सिकेका छन् ।
कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लागेको विद्यालयका प्रधानाध्यापक पुर्ण दास श्रेष्ठले बताए । विद्यार्थीले गोलभेडा, साग, काक्रा, फर्सी, करेला, सिमि लगायत बेमौसमी तरकारीहरु उत्पादन गर्ने तयारी रहेको छ । । विद्यालयबाट आर्गनिक तरकारी उत्पादन गरेर स्थानीय बजारमा सरल सुलभ मुल्यमा बिक्री गर्ने र आएको आम्दानी विद्यार्थीको पठनपाठनमा खर्च गर्ने प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीले विद्यालयमा च्याउ उत्पादन पनि सुरु गरिसकेको छ । प्रयोग आत्मकमा सफल भइसकेको र उत्पादनको तयारी रहेको छ । यहि पुष १३ गते बसेको बैठकको निर्णयले टनेल खेति गर्ने भनि निर्णय गरेको र जग्गा लिई विद्यालयकै निजि खर्चमा तीन वटा टनेल निर्माण गरि उत्पादन गर्न लागेको प्रधानाध्यापक श्रेष्ठले बताए । एउटा टनेल निर्माणका लागि गाउँपालिकाले टनेल प्लाष्टिक सहयोग गरेको छ ।
परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले सहयोग र सरोकारले विद्यालयलाई सहयोग गरिरहेको छ । खेतीको लागि अहिले सम्म खानेपानीको पानीले काम चलाई रहेको र विद्यालयमा टनेल निर्माण भएपनि पानीको भने समस्या रहेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
विद्यालयमा सहयोग र सरोकारको साथले ‘शिक्षा संगै सीप’ अन्तर्गत कक्षा ९ मा अध्ययनरत विद्याथीहरुले विभिन्न प्रकारका मसला बनाएर परिक्षण गरेको छ । विद्यालयमा विद्यार्थीलाई पढाईसँग विभिन्न विषयमा परिक्षणत्मक सिकाइ हुने गरेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष प्रदिप योन्जनले बताए ।
विसं २०५१ मा स्थापना भएको विद्यालयमा विसं २०७६ देखि कृषि बाली विज्ञानको पढाइ शुरु भएको हो । हाल कक्षा १२ सम्म अध्ययन भइरहेको छ ।