भक्तपुरः भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) मंगलबारदेखि सर्वसाधारणका लागि खोलिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जीर्णोद्धार’ पुस्तक पनि सार्वजनिक गरे ।
अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए । उनले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापरबाही भएको बताए ।
पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने भन्दै उनले सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने काम नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा निर्माण गराएको काठमाडौँको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाकै पुरानो भएको बताए ।
१५ रोपनी ५ आना २ पैसामा रहेको पोखरीको बीचमा नागको अवशेष राख्ने ठाउँको पनि जीर्णोद्धार गरिएको छ । पोखरी वरिपरिको पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनःनिर्माण गरिएका छन् । रानीपोखरीको पुनःनिर्माण ०७५ माघदेखि थालिएको हो ।
नगरपालिकाले कूल ४ करोड ४१ लाख १९ हजार लागत अनुमान गरेकामा उपभोक्ता समितिमार्फत २ करोड ५४ लाख ८३ हजार रूपैयाँमा निर्माण भएको जानकारी प्रजापतिले दिए ।