Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ३खाँडादेवी गाउँपालिकाले थाल्यो जनगणना, तथ्यांक विभाग भन्छः ऐनअनुसार कारवाही गर्छौँ

खाँडादेवी गाउँपालिकाले थाल्यो जनगणना, तथ्यांक विभाग भन्छः ऐनअनुसार कारवाही गर्छौँ

रामेछापः केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणनामा चित्त नबुझेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना थालेको छ । तथ्यांक विभागले गाउँपालिकाकालाई कारवाही हुने जनाएको छ भने गाउँपालिकाले चाहिँ कानून पढ्न विभागलाई सुझाएको छ ।

खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङले विभागले गरेको जनगणनाको आँकडा नमिलेको भन्दै जनगणना थालिएको बताए । उनले जनगणना थालेको एक साता भएको बताउँदै हालसम्म २५ प्रतिशत काम सकिएको र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने बताए ।

अध्यक्ष तामाङले भने, ‘हाम्रो गाउँपालिकाका ९ वटा वडाका लागि ९ जना गणकहरु परिचालन गरेका छौँ । तथ्याङ्क विभागको मिथ्या आँकडा आएको छ । तथ्याङ्क विभागको नजरमा हाम्रो काम अवैध भए होस् । हाम्रो स्थानीय सरकार सञ्चालन ऐनमा पनि आफ्नो क्षेत्रको जनगणना लिने व्यवस्था छ । उहाँहरुको जनगणना चित्तबुझ्दो भएन । अर्को कुरा, उहाँहरुले स्थानीय सरकार पनि छ भन्ने व्यवहार पनि गर्नुभएन ।’

कक्षा १२ अध्ययन गरेका विद्यार्थीहरुलाई जनगणनाका लागि परिचालन गरिएको उनले बताए । तामाङ अध्यक्षले धेरै जनसंख्या भएका वडाका गणकहरुलाई २० हजार, त्यो भन्दा कम जनसंख्या भएका वडाका गणकलाई १५ हजार र थोरै जनसंख्या भएका वडाका गणकलाई १२ हजार रुपैयाँ पारिश्रमिकको व्यवस्था गरिएको जानकारी दिए ।

अध्यक्ष तामाङले २ बर्षअघि पनि आफ्नो गाउँपालिकाले जनगणना गरेको बताउँदै तथ्याङ ऐनअनुसार कारवाही गर्ने केन्द्रीय तथ्याङ्क विभागलाई स्थानीय सरकार सञ्चालन ऐन पढ्न आग्रह गरे ।

उनले भने, ‘हामीले दुई–दुई बर्षको फरकमा जनगणना गर्ने गरेका छौँ । २ बर्षअघि पनि हामीले गणना गरेका थियौं । तथ्याङ्क विभागलाई एकात्मक राज्य व्यवस्थाको दम्भ छ । स्थानीय सरकार सञ्चालन ऐनमा पनि आफ्नो क्षेत्रभित्र रहेका नागरिक, विद्यार्थीको आंकडा लिने व्यवस्था छ । उहाँहरुले हाम्रो ऐन नै पढ्नुभएन ।’

अध्यक्ष तामाङले एक महिनाभित्र जनगणनाको आँकडा सार्वजनिक गर्ने बताएका छन् ।

विभाग भन्छः ऐनअनुसार कारवाही गर्छौँ
केन्द्रीय तथ्याङ्क विभागले भने गाउँपालिकाको सो कामलाई गैरकानुनी भनेको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले त्यसरी गरेको गणनालाई संघ सरकारले मान्यता नदिने बताए । उनले तथाङ्क ऐन २०१५ को दफा ७ (ग) अनुसार कारवाही हुने बताए ।

तथ्याङ्क ऐन २०१५ ले केन्द्रीय तथ्याङ्क विभाग बाहेक अरु निकायलाई जनगणना गर्न नदिने उनको भनाइ छ । उनले राष्ट्रिय स्तरमा संघले गरेका जनगणना सर्भेहरु स्थानीय तह अथवा प्रदेश सरकारले गर्नु हुँदैन भनेर ऐनमा ब्यवस्था रहेको बताए ।

उनले भने, ‘ऐनले नै त्यसरी नगर्नु भनेको छ । अन्र्तराष्ट्रिय विधि प्रक्रिया पु¥र्याएर जनगणना गर्नुपर्ने हुन्छ । त्यसरी जनगणना गर्नु कानुनको बर्खिलाप नै हुन्छ । उहाँहरुले गरेको तथ्याङ्क संकलनलाई संघ सरकारले बैध मान्दैन ।’

जनगणना सम्पन्न गरेर प्रारम्भिक जनसंख्या विवरण सार्वजनिक गरेको विभागले हाल विस्तृत रिर्पोट तयारीका लागि आंकडा प्रशोधन तथा विश्लेषणको काम गरिरहेको छ । समाचार रातोपाटीमा खेलिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular