पनौती, काभ्रे: जिल्लाको ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा व्यक्तिगत खर्चमा बुद्धको मुर्ति निर्माण गरेका छन् । जिल्लाको पनौती नगरपालिका–७ स्थित् त्रिवेणीघाटमा पनौति निवासी हिराकाजी थिङ र लोकुमारी घिसिङको छोरा विशाल थिङ (अर्थमान)ले आफ्नै खर्चमा शाक्यमुनि बुद्ध (च्योम्दन्दे) को मुर्ति निर्माण गरेका हुन् ।
मुर्तिको लगानीकर्ता थिङले सोमबार लामा पेमाग्याछोबाट नवनिर्मित शाक्यमुनि बुद्ध मुर्तिको ह्राप्ने (प्राण प्रतिष्ठा) गरिएको जानकारी दिए । उनले ‘कुशल कर्ममा लगाउन मन, अलमलिएकालाई मार्गदर्शन, गुरु, बुद्ध, धर्म र संघको सम्मान, पनौती पर्यटन प्रवद्र्धन’ भन्ने उद्देश्यले बुद्ध मुर्ति निर्माण गरिएको बताए ।
उनले बुद्ध मुर्ति चित्रकार तथा थाङ्का खाइपा उत्तरमान घिसिङले बनाएको बताए । उनका अनुसार खाइपा घिसिङले आधा कामको मात्र पारिश्रमिक लिने गरी बुद्ध मुर्ति बनाएको हो ।
ढुङ्गालाई कुँदिएर मुर्ति बनाउन करिब डेढ महिना लागेको बताए । ‘करिब डेढ महिना लगाएर कुँदिएको ७ फिट अग्लो बुद्ध मुर्ति निर्माण गर्दा २ लाख भन्दा बढी खर्च भएको छ,’ उनले भने, ‘बुद्ध मुर्ति मेरो आफ्नै खर्चमा निर्माण गरेको हो ।’
ह्राप्नेमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले पनौती नगर एक ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल भएकोले यसलाई थप पर्यटकीय क्षेत्र बनाउनु समस्त पनौतीबासीको कर्तव्य भएको बताए ।
उनले पनौती नगर सबै जाती, धर्म र संस्कारले सम्पन्न रहेकोले बताउदै बुद्ध मुर्तिबाट पनौतीमा थप धार्मिक सम्पदा थपिएकोमा खुसी व्यक्त गरे । त्यस्तै उनले शाक्यमुनि बुद्ध मुर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिने बताए ।
तामाङ सेवा समितिका सचिब हुत्तमान घिसिङ (दावा)ले पनौतीमा स्थायी बासिन्दाका रुपमा तामाङहरुले विगतमा साँस्कृतिक र धार्मिक अवसरको प्रयोगमा पीडित रहेपनि अबका दिनमा समान अबसर हुनेमा आशा व्यक्त गरे । उनले पारीवारिक पहलबाट निर्माण भएको भए पनि उदघाटनपछि उक्त बुद्धमुर्तिको संरक्षण गर्ने जिम्मा पनौती नगरपालिकाले लिनुपर्ने बताएका थिए ।
सल्लाहकार हिरामाया घिसिङले शाक्यमुनि बुद्धको मुर्ति निमार्णले नमोबुद्धको धार्मिक किँवदन्तीसँग जोडिएको कथा नमोबुद्ध जंगलमा गई सुत्केरी बघिनीलाई आफ्नो शरीर खुवाएर बचाइएको व्यक्ति पनौतीकै रहेकोले इतिहासलाई थप अध्ययन गर्न सहयोग विश्वास समेत व्यक्त गरे ।
त्रिवेणीघाट नजिकै ढुङ्गाको चट्टानमा खोपिएर बनाएको शाक्यमुनि बुद्ध मुर्तिसँगै सिँढि, बार, बाघको मुर्ति आदिलाई आकर्षक ढंगले रङ रोगन गरी चिटिक्क परिएका छन् । यसअघि खासै मानिसको ध्यान नपुग्ने उक्त ढुङ्गाले शाक्यमुनि बुद्धको स्वरुपमा अनावरण भएपछि अहिले सबैको ध्यान खिचेका छन् ।
बुद्ध मुर्ति निर्माणले मकर मेलाको लागि त्रिवेणीघाटमा आउने दर्शनर्थीमा थप रौनकता समेत थपिएका छन् । पनौती संघीय राजधानी काठमाडौँबाट ३२ कि.मि.को दुरीमा रहेको छ ।