काठमाडौंः निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आइसियु बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले हस्तान्तरण गरेका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले उक्त बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताए ।
उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।
नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आइसियु बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि बताए ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए । उनले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने जानकारी दिए ।
डा. बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आइसियु बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताए ।