Friday, September 22, 2023
Homeअर्थबागमती प्रदेशका पशुमा खोरेत महामारी

बागमती प्रदेशका पशुमा खोरेत महामारी

मकवनपुरः बागमती प्रदेशका पशुहरूमा खोरेतको महामारी देखिएको छ । नेपालभरि नै मानिसमा कोरोना संक्रमण फैलिरहँदा बागमती प्रदेशको पशुहरूमा पनि खोरेतको महामारी देखिएको हो ।

प्रदेशको विशेषगरि खुर फाट्टिएको पशुमा खोरेतको संक्रमण देखिएको छ । हरेक वर्ष पशुमा खोरेत देखिने गरेको भएपनि यो वर्ष खोरेत महामारीकै रुपमा संक्रमण फैलिइरहेको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशको रसुवा र नुवाकोटबाहेक अन्य सबै जिल्लाका पशुमा खोरेतको संक्रमण देखिएको छ ।

प्रदेशको ११ जिल्लाका पशुमा खोरेतको महामारी फैलिएको भएपनि हालसम्म मन्त्रालयमा तथ्यांक आइपुगेको छैन् । बागमती प्रदेशमा खोरेतले महामारीको रुप लिएको भएपनि हालसम्म प्रदेशभरिका कति पशुलाई खोरेत संक्रमण भयो र कति यसबाट मरे भन्ने तथ्यांक मन्त्रालयसँग छैन् ।

चितवनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका अनुसार प्रदेशका अन्य जिल्लाको तुलनामा चितवनमा यसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।

चितवनमा हालसम्म १ हजार ३ सय ७२ वटा पशुमा खोरेतको संक्रमण देखिसकेको छ । त्यसैगरि खोरेतले चितवनमा हालसम्म १ सय ७४ भन्दा बढी पशुको मृत्यु भइसकेको छ ।

केन्द्रका अनुसार चिवतनमा यसको संक्रमण सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा फैलिएको छ । भरतपुरमा हालसम्म ५ सय ६० पशुमा खोरेतको संक्रमण हुँदा १ सय ४४ पशुको यसबाट मृत्युसमेत भइसकेको छ । केन्द्रको निमित्त सहायक प्रमुख प्रभात न्यौपानेका अनुसार भरतपुरका १ सय २० गाई, ९० भैँसी र ३ सय ५० बंगुरमा खोरेत लागेको हो ।

त्यसैगरि रत्ननगर नगरपालिकाका १ सय ३० पशुमा खोरेत देखिएको छ भने ५ वटा मरेका छ। खैरहनीमा २ सय ७५ पशुलाई खोरेत लाग्दा २३ वटाको मरेका छन् ।

राप्ती नगरपालिकाका ३ सय पशुलाई पनि खोरेत संक्रमण देखिएको छ । उनले इच्छाकामना गाउँपालिकामा ३ र कालिकामा ६ वटा पशुमा खोरेत लाग्दा माडि नगरपालिकाका ९८ पशु खोेरेत संक्रमित भएको बताए ।

त्यहाँका २ वटा पशुको खोरेतबाट मृत्यु भएको छ । न्यौपानेले खोरेत नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि हालसम्म नियन्त्रणमा आउन नसकेको बताए । ‘खोरेत नियन्त्रणमा लिन हामीले सबै उपाय अवलम्बन गरिरहेका छौं’, उनले भने, ‘अझै नियन्त्रणमा आइसकेको भने छैन ।’

हाल चितवनमा खोरेत नियन्त्रणमा लिन पशुलाई भ्याक्सिन लगाइरहेको उनले जानकारी दिए । न्यौपानेका अनुसार समुदायमा पुगेर भ्याक्सिन लगाउने, खोरेत संक्रमित स्थानमा निर्मलीकरण गर्ने तथा उपचार गरेर नियन्त्रणमा गर्ने प्रयास भइरहेको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर ३ जिल्लामा पनि खोरेतको महामारी फैलिएको छ । उपत्यकामा एक साता अघिको तथ्यांकअनुसार ५ सय १५ पशुमा यसको संक्रमण देखिएको हो ।

यी ३ जिल्लाका ३ सय २१ गाई, २३ भैँसी, ७९ बाख्रा र ९२ वटा बंगुरमा खोरेत पुष्टि भएको छ । खोरेत संक्रमणका कारण उपत्यकाका २२ गाई, २ बाख्रा र ७ बंगुरको मृत्युसमेत भइसकेको छ ।

त्यसैगरि धादिङको धुनीबेँसी र गल्छी गाउँपालिकाका करिब १ सय २० गाई, भैँसी र बाख्रामा खोरेत संक्रमण देखिएको छ । खोरेत नियन्त्रणमा लिन धादिङमा पनि खोप लगाइरहेको जिल्लास्थित सम्बन्धित कार्यालयले जनाएको छ ।

खोरेतले नेपालको दूध प्रतिबन्धित
खोरेतका कारण नेपालमा उत्पादन हुने दूध विदेशमा प्रतिबन्धसमेत लगाइएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशु विकास अधिकृत बासुदेव नाथका अनुसार नेपालमा खोरेतको संक्रमणका कारण यहाँ उत्पादित दूध बाहिर निर्यात हुने गरेको छैन ।

विश्व पशु स्वास्थ्य संगठनको विवरणमा नेपालमा खोरेतको संक्रमण रहेको उल्लेख गरिएको हुनाले नेपालमा उत्पादन हुने दूध विदेश निर्यातमा रोक लागेको छ। ‘खोरेत उन्मूलन नभएसम्म नेपालबाट अन्य देशमा दूधजन्य पदार्थ निर्यातमा रोक लगाइएको छ’, उनले भने ।

के हो खोरेत ?

खुर भएका पशुको मुख र खुट्टामा खोरेत संक्रमण हुन्छ । संक्रमण फैलिँदै जाँदा दुई वटा खुरका छाला कुहिने समस्या हुन्छ । शुरुको अवस्थामा पशुको मुखबाट र्‍याल आउने तथा जिब्रामा घाउसमेत हुन्छ ।

खोरेत लागेका पशुलाई शुरुमा कडा ज्वरो आउँछ। बिरामी पशुको खुर पाक्ने भएकाले खुट्टा सुन्निएपछि खोच्याउने हुन्छ । मुखमा फोका आउने भएकाले दानापानी खान छाड्छ। एक्कासी दूध दिन छाड्छ ।

यो रोग पशु स्याहार गर्ने व्यक्तिबाट पनि सर्छ। त्यसैले पशुलाई घाँस, पराल खुवाउने समयमा अलग्गै जुत्ता, कपडा लगाएर खुवाउनुपर्ने हुन्छ । तर नेपालमा पशुको हकमा यसरी काम गरिँदैन। खोरेत लागेको पशुलाई औषधि खुवाएर अर्को पशुको स्याहार गर्न जाँदा पनि रोग सर्छ।

जैविक सुरक्षा नै खोरेत नियन्त्रणको मुख्य उपाय रहेको विज्ञहरू बताउँछन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular