काभ्रे: कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एक साताका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगनको समय बढाएको छ ।
प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ। यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो ।
यसैबीच रोशी गाउँपालिकाले आजदेखि वारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । सूचना जारी गर्दै वडा नम्बर १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतवार, सोमवार र मंगलवार समय तोकिएको छ भने वडा नम्बर ७ दखि १२ सम्मकालाई बुधवार, बिहीवार र शुक्रवार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले जानकारी दिए ।
गाउँपालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधवारदेखि शुक्रवारसम्म सेवा स्थगन गरेको थियो ।