फागुन ४–७ गते सम्म बनेपाको लायकुमा बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव हुने

0
125

बनेपा काभ्रे : काभ्रे जिल्लामा आगामी फागुन ४ गते देखि ७ गतेसम्म बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को आयोजना हुने भएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुनेछ ।

महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने भएको छ । महोत्सवको अन्य तयारी धमाधम भईरहेका छन् ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् ।
महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु विदेशिने क्रमलाई न्युनिकरण गर्ने लगायतका उपलब्धीको अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here