दोस्रो खानीखोला कप: फुटबलमा र भलिबल दुवै विधाको उपाधि वडा नम्बर ६ लाई

0
1060

काभ्रे : ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’को उपाधि खानीखोला गाउँपालिका वडा नम्बर ६ ले जितेका छन् । खानीखोला गाउँपालिका खुलकुद विकास समितिको आयोजनामा भएको दोस्रो खानीखोला कपको फुटबल र भलिबल दुवै विधाको उपाधि वडा नं. ६ ले हात पारेका हुन् ।

खानीखोला वडा नं. ६ ले वडा नं. ५ लाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गरेको थियो । त्यस्तै तेस्रो स्थानको लागि समेत निर्धारित समयमा कुनै गोल ननिस्किएपछी पेनाल्टी सुट आउटबाट खेलको छिनोफानो भएको थियो । जसमा वडा नं. ४ ‘ए’ लाई पराजित गर्दै वडा नं. ७ ‘ए’ तेस्रो स्थान पक्का गरेका थिए ।

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेम प्रकाश लामाका अनुसार फुटबलतर्फ विजेता वडा नं. ६ सँगै द्वितीय (वडा नं. ५) र तृतीय (वडा नं. ७ ‘ए’) टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिबलतर्फ वडा नं. ६ ले वड नं. ७ ‘ए’ लाई १ का विरुद्ध ३ सेटले पराजित गरेको हो । पहिलो सेट गुमाएको वडा नं. ६ ले दोस्रो, तेस्रो र चौथो सेट २५–१३, २५–१४, २५–१८ को अन्तरले जित्यो । पहिलो सेटमा वडा नं. ७ ले ‘ए’ ले १९–२५ अन्तरले जितेको थियो ।

विजेतासँगै, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । वडा नं. ७ को ‘ए’ र ‘वि’ उपविजेता र तेस्रो भएको छ । पुरस्कार खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर लामा लगायतले वितरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात गर्दै खेलकुद खानीखोलाको अभिन्न अंगको रुपमा विकास गर्दै लैजाने बताए ।

अध्यक्ष थिङले स्थानीय सरकारले औपचारिकरुपमा खेलकुद क्षेत्रलाई विकास गर्न र खेल मार्फत राष्ट्रको लागि योगदान दिन सक्ने युवाहरु स्थानीय, प्रदेश हुँदै देश तथा अन्तराष्ट्रि तहसम्म खेल क्षेत्रमा प्रतिभा जन्माउनको लागि सरकारले खेल प्रतियोगिता आयोजना गरिएको बताए ।

फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । प्रथम खानीखोला कप अन्तर्गत कराँते विधातर्फ पुरुष र महिला दुवै खेल भने केही समयपछि आयोजना गरिने गाउँपालिका खेलकुद विकास समितिले जनाइएको छ । गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए ।

खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगिता मार्फत गाउँपालिकाले व्यवस्थित र समय तालिका अनुसार खेल सञ्चालन गर्ने हो भने समयमै सम्पन्न गर्न सकिने सन्देश दिन सफल भएका बताए । खेलकुदको विकासका लागि प्रतियोगिताहरुलाई व्यवस्थित र सुरक्षित बनाउदै लैजाने उनको भनाई छ ।

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर लामाले खेलकुद विकासको लागि खानीखोला र महाभारत गाउँपालिका जस्ता ग्रामीण भेगका गाउँपालिकालाई प्राथमिकताका साथ खेलकुद सामाग्री उपलब्ध गराउने गरेको बताए ।

उनले खेलकुद गतिविधि सन्चालनको लागि गाउँपालिकाको पुर्व अध्यक्ष कृष्ण बहादुर खुलालले असहयोग गरेको समेत बताए ।

पुरस्कार वितरण तथा समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङसँगै जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर लामा, विभिन्न राजनीतिक दलका नेताहरु शेखर लामा, मिना तामाङ, डम्बरबहादुर तिमल्सिना, टीका अविरल, वडा अध्यक्षहरु बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, निर्वाचन वडा अध्यक्ष दुर्गा तिमल्सिना लगायत उपस्थित रहेका थिए ।

कात्र्तिक २२ गतेदेखि सञ्चालन भएको खेलमा फुटबल र भलिबल समावेश गरिएको थियो । जसमा ७ वटा वडाबाट फुटबलमा ८ र भलिबलमा ५ टिम विच प्रतिस्पर्धा भएको थियो ।

यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरिएकोमा यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गरिएको हो । फोटोहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here