विश्व शान्ति सांस्कृतिक पनौती–नमोबुद्ध पदयात्रा (फोटोफिचर)

0
28

काभ्रे : काभ्रे जिल्लाको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत विश्व शान्ति सांस्कृतिक पदयात्रा गरेको छ । शानिबार विश्व शान्ति दिवसका अवसरमा जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले पनौतीदेखि नमोबुद्धसम्म पदयात्रा गरेको हो ।

समिति प्रमुख दीपक गौतमले पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृतसँगै धार्मिक सर्किटका रूपमा विकासको पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको बताए ।

सेवा समाजका अध्यक्ष प्रह्लाद केसीले विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन तथा काभ्रेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवद्र्धन गर्दै विश्वभर चिनाउन विश्व सांस्कृतिक शान्ति पदयात्राको आयोजना गरिएको बताए ।

पुर्व प्रधानन्याधीस खिलराज रेग्मीले विश्व शान्ति पदयात्राको उद्घाटन गरेसँगै शान्ति पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट ऐतिहासिक एवं पर्यटकीय क्षेत्र तथा शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा नमोबुद्ध गुम्बामा पुगेर समापन भएका छन् ।

पनौतीदेखि नमोबुद्धसम्मको ९.८ किमी दूरीको पदयात्रामा नेपाल सरकारका पुर्व सुचना, सञ्चार तथा प्रविधि मन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा, पुर्व उर्जा राज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ, बागमती प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामा, श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्साल लगायत २ हजारभन्दा धेरै सहभागी थिए । विश्व शान्ति पदयात्रको लागि स्थानीय सरकार, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिकले सहयोग गरेका छन् ।

नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here