Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ५सबै दलका प्यारा ल्हारक्याल ! र उनको विगत

सबै दलका प्यारा ल्हारक्याल ! र उनको विगत

काठमाडौं : विवादास्पद व्यक्ति ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको विषयलाई लिएर यतिबेला विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो निर्देशनमा लामालाई कोषको उपाध्यक्ष बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

तर, मन्त्रिपरिषद्मा यसबारेको एजेण्डा सार्वजनिक नभई प्रधानमन्त्रीले मुख्यसचिव वैकुण्ठ अर्याललाई बुँदा थप्न लगाएर ल्हारक्यालबारे निर्णय गराएको बुझिन्छ ।

ल्हारक्याललाई उपाध्यक्ष बनाउन विभागीय मन्त्रालय संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयले नै प्रस्ताव लगेको थियो । मन्त्री सुदन किरातीले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा मन्त्रिपरिषद्मा सिफारिस लगेको अभिव्यक्ति दिएका छन् ।

ल्हारक्यालको विगत राम्रो नभएको जान्दाजान्दै प्रधानमन्त्री प्रचण्डले किन उनैलाई कोषको उपाध्यक्ष बनाउने निर्णय गरे रु यसमा उनकै क्याबिनेटमा रहेका अन्य मन्त्रीहरुसमेत आश्चर्यमा छन् ।

‘सरकार प्रमुख र पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले ल्हारक्याललाई नै कोषको उपाध्यक्ष बनाउने निर्णयमा पुग्नु भएको कुरा हामीले पछिमात्र थाहा पायौँ, ‘माओवादीकै एक मन्त्रीले भने, ‘उहाँहरुबीचको सम्बन्ध के हो, त्यो हामीलाई थाहा भएन । तर, विवादास्पद व्यक्तिलाई जिम्मेवारी दिने कुरामा प्रधानमन्त्री संयम् हुनुपर्ने, त्यो देखिएन ।’

सिफारिस लैजाने संस्कृति मन्त्री किरातीले पार्टीको केन्द्रीय सदस्य भएको र लामो समय काम गरेको अनुभवका आधारमा ल्हारक्याललाई कोषको उपाध्यक्ष बनाउने सिफारिस लगिएको बताए ।

छेपारोले रङ फेरेजस्तै पार्टी फेर्ने ल्हारक्याल राष्ट्रिय राजनीतिमा कांग्रेस, एमाले हुँदै अहिले माओवादीमा छन् । कांग्रेसमा हुँदा गुम्बा विकास समितिको अध्यक्ष, एमालेमा हुँदा समानुपातिक सांसदसँगै राज्यमन्त्री र माओवादीमा आइसकेपछि समानुपातिक सांसद हुँदै अहिले कोषको उपाध्यक्ष पदमा पुग्न उनी सफल भएका छन् ।

कुनै बेला यिनै पार्टीका शीर्ष नेताहरूका बारेमा ल्हारक्यालले गरेको विवादास्पद टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । लुम्बिनी प्राङ्गणमा गरिएको एक कार्यक्रममा यिनै ल्हारक्यालले प्रधानमन्त्री प्रचण्डविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले लुम्बिनीको पुरातात्त्विक अशोका पिलर बिक्री गरेर खाने कुरा गरेका थिए । उनले भनेका थिए, ‘प्रचण्ड लुम्बिनी विकास कोषको निर्देशक समितिमा हुनुहुन्छ, कतै प्रचण्डले नै अशोक स्तम्भ बेचेर खान्छ कि भन्ने डर लागिरहेको छ ।’

त्यसो त ल्हारक्यालले त्यतिबेला झलनाथ, माधव नेपाल, केपी ओली र सुशील कोइराला कोही ठिक छैनन् भन्ने अभिव्यक्ति दिएका थिए ।

‘कुनै बेला प्रधानमन्त्रीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका ल्हारक्याललाई उहाँकै सिफारिसमा कोषको उपाध्यक्ष बनाउने त्यस्तो के आइलाग्यो ?’ मन्त्रिपरिषद्का एक सदस्यले भने, ‘खासमा मन्त्रिपरिषद् बैठकमा ल्हारक्यालको नाम उल्लेख भएको थिएन ।’

माओवादीकै केन्द्रीय सदस्य तथा पोलिटब्यूरो सदस्य लेखनाथ न्यौपानेले ल्हारक्यालको निर्णयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘रुपान्तरण अभियानमा उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ ।’

नेकपा एमालेका सचिव एवं पूर्व संस्कृति मन्त्री योगेश भट्टराईले ल्हारक्यालको विषयमा विश्वविद्यालयले नै अनुसन्धान गर्नुपर्ने बताए । ‘तपाईं पूर्व संस्कृतिमन्त्री समेत भएका नाताले विवादास्पद ल्हारक्याललाई कोषको उपाध्यक्ष बनाइनु ठिक हो कि होइन ? र उनी कसरी सबै पार्टीको प्यारो भए रु’ भन्ने प्रश्नमा भट्टराईले भने, ‘ल्हारक्यालको विषयमा अनुसन्धान गर्न युनिभर्सिटी नै लगाउनुपर्छ । जस्तो सरकार, उस्तै निर्णय भनेको यही हो । सकभर विवादरहित व्यक्ति बनाउनुपर्थ्यो ।’

लुम्बिनीका नेताको डेलिगेशन काम लागेन
गत बिहीबार उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेट्न रक्षा मन्त्रालय पुगेका लुम्बिनीको मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, रुपन्देहीस्थित कांग्रेसका पार्टी सभापति रामकृष्ण खाण, र कांग्रेसका नेता भरत शाह लगायत केही कांग्रेसी नेताले ल्हारक्याललाई कुनै पनि हालतमा कोषको उपाध्यक्ष बनाउन नहुने सुझाव दिएका थिए ।

उनीहरुले सकभर कांग्रेससम्बद्ध व्यक्तिलाई बनाउने, नभए माओवादीकै अरूलाई बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिन खड्काको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने तर, प्रचण्ड जसरी पनि ल्हारक्यालाई बनाउने मुडमा रहेको बताएका थिए ।

यस्तो छ ल्हारक्यालको विगत
नेपाली कांग्रेसको राजनीतिबाट उदाएका ल्हारक्याल २०५८ मा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष बनेका थिए । झण्डै ६ वर्ष समितिको अध्यक्ष बनेका उनी २०६४ मा एमालेबाट समानुपातिक सांसद बने ।

त्यतिमात्रै होइन, २०६७ चैतमा ल्हारक्याल एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री भएका बेला राज्यमन्त्री बनेका थिए । एमालेमा चार वर्ष टिकेका ल्हारक्याल २०७० मा माओवादीमा प्रवेश गरे । २०७१ माघमा माओवादीकै कोटाबाट समानुपातिक सांसद भएका ल्हारक्याल अहिले माओवादीका केन्द्रीय सदस्य छन् ।

२०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरेको थियो । १० करोड रुपैयाँको मागदाबी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपैयाँ धरौटी तिरेर छुटे ।

पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन गरेको उजुरी अख्तियारमा परेको थियो । दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामाको बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ परेका थिए ।

गोली फेला परेको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए । गोली फेला परेको काण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट छुटेका उनलाई वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो । समाचार रातोपाटीका लागि सुवास गोतामेले लेखेका हुन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular