चिया कस्तो पिउने, कसरी पिउने ?

0
183

‘चिया खानु भो त ?’ सबेरै कसैसँग वार्तालाप हुँदा हामी यही प्रश्न गर्छौं । आपसी संवाद र सौहार्द्धको थालनीमा यहाँ ‘चिया’ले सहजीकरण गरिदिन्छ ।

चिया खासमा जिब्रोको तलतल मेट्ने पेय मात्र रहेन । यसले हाम्रो आत्मीयताको भाष्य पनि निर्माण गरिदियो । त्यसैले त कसैसँग मीठो बात मार्नुपरेमा हामी आग्रह गर्छौं, ‘लु अब चिया पिऔं न त ।’ नयाँ चिनजानकासँग सम्बन्धको गाँठो बलियो बनाउन होस् वा वैरभावको कारण धरापमा परेको सम्बन्धलाई नवीकरण गर्न, स्वादिलो बहाना बनेको छ चिया ।

‘यसो चिया पिऔं न त’ भन्नुले हाम्रो आत्मीयताको भाव प्रकट हुन्छ । वास्तवमै चियाले हामीलाई भावनात्मक रुपमा एकाकार गराइदिन्छ । थाँती रहेको कुनै काम पूरा गर्न वा कुनै नयाँ योजनाको वीजारोपण गर्नु परेमा हामी भन्छौं, ‘अब चिया गफ गरौं न ।’

थाहा छैन, ‘चिया गफ’ले कति योजनाहरु बने, कति सम्बन्धहरु प्रगाढ भए, कति समस्याहरु हल भए । तर ठोकुवा गरेरै भन्न सकिन्छ, सामाजिक जीवनमा मिठास भर्न चियाले गज्जब काम गरेको छ । त्यसैले त कुनै आगन्तुक आउनसाथ हामी हार्दिकताका साथ तात्तातो चिया टक्र्याउँछौं । कतै एकसुरले हिंडिरहँदा चिनेजानेका भेटिए ‘चिया पिएर छुटौं’ भन्छौं ।

चिया वास्तवमा जादुयी पेय हो । चियासँग मान्छेको साइनो कहिलेदेखि कसरी जोडियो होला रु यस सम्बन्धमा केही प्रचलित कथा छन् । ती सबै कथाको सारले भन्छ, चियाको स्वाद पहिलो पटक चिनियाँ नागरिकले लिए ।

उनी कुनै शासक थिए वा वनस्पतिविद् । एक बखत यात्रा गरिरहेको बेला उनले पिउनका लागि पानी उमाले । पानी उमालिरहेको बेला त्यहाँ संयोगले कुनै वनस्पतिको पात खस्यो । पानीसँगै उक्त पात पनि उम्लियो । त्यो पानी गाढा रंग र बास्नामा रुपान्तरित भयो । यसरी पहिलो पटक उनैले चियाको स्वाद पहिचान गरेको बताइन्छ ।

यसरी तेह्रौं शताब्दीमा पहिचान भएको चिया अहिले नेपालीहरु घरेलु पेय बनेको छ । पूर्वी पहाडी भेगहरु चियाले हराभरा छन् । नेपाली माटोको आफ्नै उत्पादन हो यो । अनि यसमा नेपाली श्रम र पसिना मिसिएको छ ।

अहिले नेपालमा सयौंथरी चिया बन्छ । ती चियाको आफ्नै विशिष्ट गुण र स्वाद छन् । तर हामीले खाइरहेको परम्परागत चियाभन्दा यी अलग छन् । हामीलाई त कडा रंग भएको चिनी र दूध मिश्रण गरिएको चिया पिउने बानी परेको छ । खासमा चियाको असली स्वाद भने केही भिन्न छ ।

हाम्रो घर(आँगनमा यस्तो चिया उत्पादन हुन्छ, जसको स्वादले विश्वका चिया पारखीलाई लोभ्याइरहेको छ । त्यसैले त हामीले तयार गरेका यी चिया विश्व बजारमा निर्यात हुनेगर्छ । यसरी निर्यात हुने चिया वास्तवमै उच्च गुणस्तरको हुनेगर्छ । शुद्ध र असली चिया पनि यही नै हो ।

त्यसो त अहिले सहरी क्षेत्रमा चिया संस्कृति पनि फैलिंदै गएको छ । चिया अड्डा अर्थात् टी लाउञ्जहरु खुल्ने क्रम तीव्र भएको छ । यी अड्डाहरुको मेनुमा सयौंथरी चिया उपलब्ध छन् । त्यसको रंग, गुण र स्वादमा विविधता छ । अनि विविधता छ, चिया पारखीहरुमा पनि ।

विशुद्ध चियाका लागि खुलेका यी लाउन्जहरुले ग्रीन टिदेखि मसलेदार दूध चियासम्म टक्र्याउँछन् । थरीथरीका चियामा सहरीया युवापुस्ताको स्वाद विस्तारै प्रगाढ हुँदै गएको छ । तर यति नै काफी छैन ।

नेपालमा चिया रोपण सुरु भएको करिब दुई सय वर्षपछि पनि असली चिया पिउनेहरुको संख्या उल्लेख्य छैन । हाम्रै घर–आँगनमा उत्पादन हुने चियाको खास स्वाद कस्तो होला रु हामीसँग यसको निर्धक्क जवाफ छैन । किनभने हामीकहाँ उच्च गुण र स्वादको चिया पिउने प्रवृत्ति छैन ।

हामीकहाँ उत्पादन हुँदै आएको दुई पात एक सुइरोको चिया, सुइरोबाट मात्र तयार गरिने चियाको आफ्नै विशिष्ट गुणहरु छन् । विशेषगरी पूर्णतस् जैविक विधिबाट खेती गरिएको चिया बगानबाट यी चिया बनाइन्छ । हातले जतनसाथ टपक–टपक टिपेर, सफासुग्घरसाथ डोकोमा बोकेर, विशेष प्रविधिबाट प्रशोधन गरेर चिया बनाइन्छ ।

सामान्यत चिया दुई खालको हुन्छ, अर्थोडक्स र सिटिसी । हामीले अक्सर चिया पसलतिर खाने सिटिसी चिया हो, जुन दूध र चिनी मिश्रण गरेर खाइन्छ । त्यसको स्वाद बढाउन ल्वाङ, सुकुमेल, मरिच आदि पनि हालिन्छ । तर, अर्थोडक्स चियामा त्यस्तो मिश्रण जरुरी हुँदैन । यसको आफ्नै विशिष्ठ स्वाद हुन्छ ।

अर्थोडक्स चियामा पनि मूलत ६ वटा भेराइटी छन् । ब्ल्याक टि, ग्रीन टि, ह्वाइट टि, वुलङ टि, यल्लो टि र पुएर टि । यल्लो र पुएर टि चाहिँ हाम्रोमा बनेको छैन । यी चियाहरुको स्वाद, गुण र रंगमा पनि एकरुपता हुँदैन । मानौं ब्ल्याक टि भन्नसाथ सबैतिर बन्ने चिया उस्तै हुँदैन । यसमा भूगोल, हावापानी, सिजन र बनाउने टि मास्टरले फरक पार्छ ।

कुन ठाउँमा, कसले, कस्तो हावापानीमा, कसरी बनाएको हो भन्ने कुराले यी चियाको स्वाद, गुणमा भिन्नता ल्याउँछ । खासमा अतिरिक्त चिनी, दूध वा अरु कुरा मिश्रण नगरी यी चियाहरुको शुद्ध स्वाद लिनुपर्ने हुन्छ । यसरी चिया पिउँदा तन र मनलाई प्रफुल्ल अनि आनन्द तुल्याउनुपर्छ भनिन्छ । पूर्ण आरमसाथ चियाको चुस्की लिनुपर्ने हुन्छ, ताकि त्यसको असली स्वाद हाम्रो पाँचै इन्द्रियले अनुभूत गर्न सकोस् । खासमा चिया पिउने तरिका त्यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here