आजदेखि मलमास अर्थात् पुरुषोत्तममास: के गर्ने, के नगर्ने ?

0
196

काठमाडौं : मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।

के हो अधिकमास ?
चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।

हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके।

वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा ९वा कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँसी वा शुक्लपक्षको पूर्णिमा० सम्मको अवधिलाई चान्द्रमास भनिन्छ।

चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ।

एक महिनामा दुई औँसी
‘संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो’, अधिकारी भन्छन्, ‘एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ।’ यो पटक साउन २ र ३१ गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो।

यो समय गरिएका धार्मिक कार्यले फल दिँदैन भन्ने मान्यता छ। यो महिना भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको धर्मशास्त्री डा. देवमणि भट्टराईले बताए।

यो अवधिमा काठमाडौंको मच्छेनारायण मन्दिरमा दर्शन गर्न जाने परम्परा छ। यहाँ महिनाभर मेला लाग्छ।

मलमासमा के गर्ने, के नगर्ने ?
धर्मशास्त्री डा. देवमणि भट्टराई यो समयमा मांगलिक शुभकार्य गर्न नहुने मान्यता रहेको बताउँछन्। ‘विशेष पूजाआजा, यज्ञ–अनुष्ठान गर्नु हुँदैन । व्रतबन्ध, विवाहर गर्भाधानजस्ता संस्कार गर्नु हुँदैन’, उनी भन्छन्, ‘त्यस्तै शिलान्यास, नवगृहप्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला बर्जित छन्।’

कामना राखेर तीर्थयात्रा पनि गर्न नहुने मान्यता छ। तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्यपूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टिजस्ता संस्कार रोकिँदैनन्।

यो समयमा भगवान् पुरुषोत्तम ९नारायण० को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ। बृहन्नारदीय पुराणअन्तर्गतको भनिएको पुरुषोत्तम माहत्म्यमा अधिकमासको उत्पत्ति कसरी भयो र यसवेला के गर्न हुन्छ र के हुँदैन लगायत विभिन्न प्रसंग बताइएका छन्।

यो महिनामा तुलसी पत्रले भगवान नारायणको पूजा आराधना गर्ने, श्रीमद्भागवत महापुराण श्रवण गर्ने लगायत विधान बताइएका छन्। यसबेला गरिने स्नान, दान र भगवान पुरुषोत्तमको आराधना विशेष फलदायी हुने बताइएको छ। अधिकमासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा मालपुवा दान आदि कार्य गरिन्छ।

यो वेला नवविवाहित पतिपत्नी एकैसाथ बस्न नहुने ज्योतिषीय मान्यता छ। ज्योतिषका यी नियमबारे पुरुषोत्तम माहत्म्यमा केही बताइएको छैन। कसैले पूरै महिना र कसैले सुरुका केही र अन्त्यका केहीदिन घर छल्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here