छोराको निधनपछि बौरिन नसकेकी सिता श्रीमान् तेस्रो पटक प्रधानमन्त्री भएको थाहै नपाई बितिन्

0
169

२०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनको खबर सुनेपछि सीता दाहाल फेरि उठ्न सकिनन्। आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त भइन्।

बुधबार बिहान सीताको निधनको घोषणा त्यही अस्पतालले गर्‍यो, जुन अस्पतालमा ६ वर्षअघि उनका छोरा प्रकाश दाहालको निधनको घोषणा भएको थियो। उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरेका थिए।

‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरून्तातुरून्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भनेका छन्, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’

२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता ८ वर्षकी हुँदा आफ्नो परिवारसँगै चितवनको सुन्दरबस्तीमा बसाइ सरेर गएकी थिइन्। छोरी भएकै कारण उनी औपचारिक शिक्षाबाट बञ्चित भइन्।

२०२६ साल वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक गोरेटोमा हिँडिन्। २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्।

‘२०३५ सालमा गाउँमा महिला भेला राख्ने भनेर राखियो। अमिक दाइ (अमिक शेरचन)की श्रीमती पनि त्यही हुनुहुन्थ्यो। दुई(तीन वटा क्लासमा बसिसकेपछि मलाई मुलुकमा कम्युनिष्ट शासन ल्याउनैपर्छ भन्ने लाग्यो,’ सीताले केही वर्षअघि दिएको एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा भनेकी छन्,‘मलाई भित्रैबाट कम्युनिष्ट हुनुपर्छ र उहाँलाई सहयोग गर्नुपर्छ भन्ने लागेपछि म उहाँलाई सहयोग गर्न थालें।’

स-साना छोराछोरी र श्रीमानको भूमिगत राजनीति दुबैलाई सन्तुलन गरेर अघि बढ्न स्वाभाविक रूपमै सीतालाई कठिन थियो। तर उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा जे जति भूमिका निर्वाह गरिन्, त्यसमा कुनै खोट छैन।

माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार सीता दाहालले पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्ने गरेकी थिइन्।

‘२०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो,’ महासचिव गुरूङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरूवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।’

सीता स्वयंले पनि आफूले पार्टीभित्रका अन्तरविरोधहरू सल्टाउने गरेको बताउँदै आएकी थिइन्।

‘संघर्ष गर्ने पार्टीमा बेला बेलामा अन्तरसंघर्ष भइहाल्छ, मिलाउनुपर्छ भन्ने मेरो जोड हुन्थ्यो। मैले बाबुरामजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरैपटक कुरा मिलाउँदै आएकी छु,’ एकपटक सीता दाहालले भनेकी थिइन्, ‘त्यतिबेला प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुबै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्नुस् भन्थें।’

उनको अभिभावकीय भूमिकाकै कारण अधिकांश माओवादी नेता कार्यकर्ताहरू उनलाई आमा भनेर सम्बोधन गर्छन्। भूमिगतकालमा प्रचण्डका हरेक आरोह(अवरोहमा सँगसँगै रहेकी सीताको जिन्दगी शान्ति प्रक्रिया पछि भने सहज हुन सकेन।

२०७० चैतमा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भएपछि सीताको राजनीतिक सक्रियता धेरै थिएन। हुन त त्यसअघि पनि उनले पार्टीमा कहिल्यै आफ्नो लागि भाग खोज्ने र सक्रिय हुने चाहना राखिनन्। प्रचण्डसँग ५४ वर्षसम्म सँगै रहेकी सीता दाहालले यो समय पूर्ण रूपमा प्रचण्डकै सारथीका रूपमा कटाइन्।

‘बिहे गरेर काठमाडौं आइए पढ्न आएका बेला प्रचण्डजीले माओका किताब बिरालोले बच्चा सारेको जस्तो कहिले यता कहिले उता सार्नुहुन्थ्यो, मैले किन यस्तो गर्नुहुन्छ भनेर सोध्दा कम्युनिष्ट यस्तै हो भन्नुहुन्थ्यो। पछि मैले पनि बुझ्दै गएपछि उहाँ सही बाटोमा हुनुहुन्छ भन्ने लाग्यो,’ सीताले आफ्नो जीवनको संघर्ष सुनाउने क्रममा एबीसी टेलिभिजनसँग भनेकी थिइन्, ‘२०४३ सालदेखि नारायणगढ र २०४६ सालदेखि काठमाडौंमा पार्टी हेडक्वाटर भन्ने भयो। खाना पकाउने र खुवाउने काममात्रै भयो। मैले उहाँलाई जसरी सहयोग गर्न सक्थें त्यसरी नै गरें।’

भीषण संघर्षका बेला अविचलित प्रचण्डको साथमा रहेकी सीता दाहाल प्रचण्ड परिवारले आर्थिक अवस्थिति सुधारेपछि र चमकधमक पूर्ण जिन्दगी बिताउने बेलामा पारिवारिक शोकका कारण उठ्न सकिनन्।

तीन छोरी र एक छोराकी आमा सीता २०७४ मा छोरा प्रकाशको निधन भएपछि त झन् थला नै परिन्। उनको बिग्रँदै गएको स्वास्थ्यका कारण हुनसक्छ, प्रचण्डले आफू पुग्ने ठाउँमा सम्भव भएसम्म सीतालाई लिएर नै जाने गर्थे। कार्यक्रमहरूका मञ्चमा बसेकै बेला सीता दाहाल सम्हालिन नसकेर रोइरहेको तस्बिर र भिडिओहरू बारम्बार आइरहन्थे। सीता दाहाललाई सन्तान वियोगको पीडाबाट माथि उठाउन हो सायद, प्रचण्ड उनलाई बेला बेलामा विभिन्न ठाउँमा लिएर जान्थे। तर सीता उठ्न सकिनन्। गम्भीर खालको पार्किन्सन्सले झन् झन् गलाउँदै लगेपछि तीन वर्षयता उनी ओछ्यानमै थला परेकी थिइन्। छोरीहरू रेणु र गंगा उनलाई विशेष हेरचाह गर्दै आएका थिए।

सिंगो पार्टी पंक्तिले अभिभावकका रूपमा व्याख्या गर्ने, कुनै पनि विवादमा नमुछिएकी सीता दाहालको आफ्ना श्रीमान प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री भइरहँदा बुधबार निधन भएको छ। आफ्ना दुई सन्तानको वियोग थेगिसकेका प्रधानमन्त्री प्रचण्ड पत्नी वियोगमा परेका छन्। यस कभर स्टोरी सेतो पाटीको लागि विनु सुवेदीले लेखिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here