Friday, September 29, 2023
Homeसमाजएसईईमा गणितको नजिताले खडा गरेको प्रश्न

एसईईमा गणितको नजिताले खडा गरेको प्रश्न

काठमाडाैँ: गणितको नजिताले भने शैक्षिक गुणस्तर सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ । बोर्डले दिएको जानकारी अनुसार कुल परीक्षार्थीको एक तिहाइले गणितमा ई ग्रेड मात्र पाएका छन् ।

अरु विषयमा शिक्षकले प्रयोगात्मक नम्बर दिने व्यवस्था छ । र, यसको पूर्णांक २५ तोकिएको छ । शिक्षकले दिएको नम्बरलाई परीक्षा बोर्डले सहजै मान्यता दिनेछ ।

तर गणितमा प्रयोगात्मक नम्बर दिने व्यवस्था छैन र, १ लाख ५५ हजार ४५८ परीक्षार्थीले गणितमा ई ग्रेड मात्र ल्याएका छन् । यो संख्या कुल परीक्षार्थीको ३२।८६ प्रतिशत हुन आउँछ । ऐच्छिक गणितमा १७ हजार २०१ जनाले ई ग्रेड ल्याएका छन् ।

गणितबाहेक अरु अनिवार्य विषयहरुमा केही सुधार देखिएको छ । त्यस्तैगरी यो वर्ष अंग्रेजी विषयमा ई ल्याउनेको संख्या ४०७ जना रहेको छ । गत वर्ष अंग्रेजीमा ई ल्याउनेको संख्या २८५ रहेको छ । नेपालीमा ई ल्याउने ६३ जना छन् भने गत वर्ष ६१ जना रहेका थिए ।

विज्ञान विषयमा ई ग्रेड ल्याउने १ हजार ७२१ जना थिए भने गत वर्ष जम्मा ८५७ र सामाजिक अध्ययन विषयमा ई ल्याउने ३८३ जना छन् भने गत वर्ष ३ सय जना रहेका थिए ।

ऐच्छिक विषयहरुमा भने गत वर्षको भन्दा कमजोर नतिजा देखिएको छ । ऐच्छिक अर्थशास्त्रमा ५६ हजार ८७४ जनाले ई ल्याएका छन् भने गत वर्ष ५३ हजार ३३८ जनाले ई ल्याएका थिए ।

समग्रमा जीपीएमा भने सुधार भएको देखिन्छ । २०७८ सालमा ३।६ देखि ४।० जीपीए ल्याउने परीक्षार्थी कुल परीक्षार्थीको १।९४ प्रतिशत थियो भने यो वर्ष ४।६३ प्रतिशत रहेको देखिन्छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विषयगत नतिजाको तथ्यांकले शैक्षिक गुणस्तर खस्किएको देखाउने बताउँछन् । ‘तथ्यांक अनुसार आधा भन्दा बढी विद्यार्थीको ताँतीले ग्रेड वृद्धिको परीक्षा दिनुपर्ने देखिन्छ त्यो भनेको अहिलेको नतिजा अनुसार कक्षा ११ पढ्न नपाउनु हो’ उनी भन्छन् ‘नपढेर, नपढाएर अथवा पढ्न, पढाउन नजान्दा नतिजा सुधार्न सकिएको छैन ।’

तर राष्ट्रिय परीक्षा बोर्डले भने जम्मा जीपीएको संख्यामा केही सुधार आएको दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ‘जम्मा जीपीएको संख्यामा सुधार आएको देखिन्छ । तर विषयगत रुपमा भने विश्लेषण गर्न बाँकी नै छ ।’

RELATED ARTICLES

follow us

FansLike

Most Popular