खानीखोलामा यसरी मनाइयो धान दिवस, अध्यक्ष थिङ आफैँ खटिए रोपाईंमा (फोटोफिचर)

0
190

खानीखोला, काभ्रेः जिल्लाको खानीखोला गाउँपालिकामा ‘जलवायु अनुकूलित कृषिक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय मूल नाराका साथ २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । शुक्रबार खानीखोला गाउँपालिकाको कृषि शाखाको आयोजनामा गाउँपालिका केन्द्र समेत रहेको वडा नम्बर ५ स्थित् ताल्ढुंगामा रोपाइँ गरी धान दिवस मनाइएको हो ।

रोपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्दबहादुर थिङ ‘छिन्ताङ’ किसानलाई उच्च सम्मान गर्दै उत्पादनलाई बढोत्तरी गर्ने योजना ल्याउने गरी आफुहरु लागिरहेको बताए । किसानका समस्या समाधान गर्न तयार रहेको भन्दै आफू मात्रै नभई अरूलाई समेत खुवाउने वर्ग भएकोले किसानको स्थान सबैभन्दा उच्च रहेको उनको भनाई छ ।

‘सबैको खेतमा अघिल्लो बर्षहरुमा भन्दा धेरै धान फलोस् ।’ धान दिवसको शुभकामना दिँदै अध्यक्ष थिङले भने, ‘कफी खेतीमा झैं धानलगायत उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याउनुका साथै कम्तिमा कृषिमा खानीखोलालाई आत्मनिर्भर बनाउँदै निर्यता गर्ने सम्मको योजना छ ।’

त्यस्तै गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले रासयानिक मल, बीउ विजन, सिँचाइ लगायतका आधारभूत कुराबाट वञ्चित हुन नदिन यसतर्फ स्थानीय सरकार गम्भीर रहेको बताए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले व्यवसायीक रूपमा कृषि मार्फत् उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

रोपाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसँगै राजनीतिकर्मी, जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखसहितका कर्मचारी र किसान तथा स्थानीयहरुको सहभागिता रहेका थिए । रोपाईं भने स्थानीय रुद्र हुमागाईंको खेतमा गरिएको हो ।

कृषि शाखाका प्रमुख महेश कुमाईले किसानलाई राहत तथा प्रोत्साहनका विभिन्न कार्य गरिरहेको बताए । खानीखोलासँगै जिल्लाको बनेपा, पनौति, धुलिखेल, पाँचखाल लगायतका स्थानमा विभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ । यस्तै एक रोपाईं कार्यक्रममा प्रतिपक्षी दलका नेता पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटा समेत सहभागी थिए ।

किसानहरु खडेरीले मकै बाली बिग्रिएकाले धानकै आशा रहेको बताउँछन् । तर खडेरीका कारणले कतिपय ठाउँमा किसानले बीउ समेत राख्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here