नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।
माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउन पनि सजिलो हुन्छ ।’ सहमहामन्त्री किशोर राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायतले दुई वटा कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।
‘गठबन्धन जोगाउनु पनि पर्नेछ । साथै सिटको तालमेल गर्दा स्वाभाविक खालको बनाउनुपर्छ,’ नेताहरूले भनेका थिए, ‘त्यसो गर्दा तलको साथीहरूले स्वीकार गर्छन् । अस्वाभाविक गर्दा स्वाभाविक हुने नेताहरूको भनाइ छ । तर बैठकमा सहभागी एक नेताका अनुसार आज माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको कुरा सुनेर मात्र आफ्नो प्रस्ताव राख्ने बैठकले निष्कर्ष निकालेको छ ।
यस्तै बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए । ‘लोसपालाई पनि गठबन्धनमा ल्याउँदा राम्रो हुन्छ । मधेसमा एमाले र लोसपाको गठबन्धन रोक्न पनि हामीले उदार हुनुपर्छ,’ उनले बैठकमा भनेका थिए ।