नेपालमा मंकीपक्स सङ्क्रमण जोखिम कति

0
90

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्स प्रकोपलाई लिएर संगठनको आपत्कालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । डब्ल्यूएचओ महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उता छिमेकी राष्ट्र भारतको नयाँ दिल्लीमा मंकीपक्सका नयाँ सङ्क्रमित पुष्टि भएको छ । त्यहाँका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स सङ्क्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना सङ्क्रमित भेटिएका छन् ।

छिमेकी राष्ट्र भारतमा मंकीपक्सका बिरामी पुष्टि हुनुका साथै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएको छ ।

हुन त मंकीपक्स कुनै नौलो भाइरस होइन । पछिल्लो पटक मे ७ मा नाइजेरियाबाट फर्किएका बेलायती नागरिकमा मंकीपक्स भाइरस देखिएको बेलायतले जानकारी दिएको थियो । तत्पश्चात् मंकीपक्स भाइरस देखिने क्रम जारी छ । यसलाई कोभिड–१९को लहर जस्तै मंकीपक्सको लहर भन्न रुचाउने सरुवा रोग विशेषज्ञ शेर बहादुर पुन रुचाउँछन् ।

मंकीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिँदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौँ वर्षीया बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरूमा यो रोगको लक्षण देखिएकाले यस रोगलाई मंकीपक्स भनिएको थियो ।

नेपालमा मंकीपक्स सङ्क्रमण जोखिम कति रु

हाल नेपालमा मंकीपक्स देखिएको छैन । यद्यपि नेपालको हवाइमार्गसँगै स्थलमार्गहरु धेरै देशहरूसँग जोडिएको छ । नेपालमा मंकीपक्सको सङ्क्रमण हुने सम्भावनालाई शून्यचाहिँ मान्न नसकिने सरुवा रोग विशेषज्ञ डा। पुन बताउँछन् । चीनमा कोरोना भाइरस देखिदा युरोप अर्थात् अमेरिका, भारत हुँदै नेपालमा सङ्क्रमण आएकै हो । तत्काल अहिलेको लागि जोखिम नभए पनि भावी दिनमा आउन सक्ने जोखिमबारे सबैले ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘जो व्यक्ति मंकीपक्स सङ्क्रमण पुष्टि भएको देशबाट आएका छन् । उसमा २१ दिन भित्रमा लक्षणहरू देखिन्छ, देखिँदैन भनेर निगरानी गर्नुपर्छ । त्यस अवधिमा शरीरमा बिमिरा, पानीफोकाहरु जस्तो देखिए, ज्वरो आए, ज्यान दुखेमा अहिलेको अवस्थामा मंकीपक्स सङ्क्रमणको सम्भावना रहन्छ । यस्तो लक्षण देखिएका व्यक्तिहरू स्वास्थ्य संस्थामा सम्पर्क गरेर परीक्षण, उपचार परामर्शका लागि जानुपर्ने हुन्छ ।’

डा। पुनका अनुसार मंकीपक्सको अहिलेसम्म कुनै उपचार छैन । यद्यपि सङ्क्रमण हुन नदिनका लागि रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।

यस्तै, सन् २०१९ मा पछिल्ललो पटक सिङ्गापुरमा मंकीपक्स भाइरस देखिएको थियो । त्यहाँ त्यसबेला एकदमै सावधानी अपनाइएको थियो । यस्तै, सिङ्गापुरसँग जोडिएका छिमेकी देशहरुले पनि निकै सावधानी अपनाएर मानिसहरुको आवजजावतमा कडाइ र निगरानी गरिएको थियो ।

यता नेपाल भारत सीमा क्षेत्र तथा त्रिवि विमानस्थलमा रहेका हेल्थ डेक्समा कोभिड–१९ सङ्क्रमणको पहिचान र परीक्षणसँगै मंकीपक्स सङ्क्रमण जोखिम भएकाले कडा गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले बताए । नेपालमा मंकीपक्सको प्रकोप नदेखिएपनि छिमेकी राष्ट्रिय भारत देखिएकाले सावधानी अपनाउनुपर्ने उनले बताए । डब्लूएचओले विश्वव्यापी रूपमा मंकीपक्स प्रकोपलाई स्वास्थ्य आपत्काल घोषणा गरेकाले सर्तक रहन उनको आग्रह छ ।

सामान्यतया मंकीपक्स रोग जनावरबाट मानिसमा सर्ने भएकाले ‘जोनोसिस डिजिज’ पनि भन्ने गरिन्छ । अहिलेसम्म थाहा पाएअनुसार स–साना स्तनधारी जनावर खास गरी अफ्रिकन मुसा लगायतका विभिन्न जनावर र बाँदरबाट सरेको भन्ने गरिन्छ । तर, हामीलाई मंकीपक्स भाइरस प्राकृतिक रूपमा कहाँ रहन्छ, कसरी जनावरसम्म आइपुग्छ, त्यसपछि मानिसको सम्पर्कमा आएर कसरी फैलियो भन्ने कुरा अझै पनि ठोस तरिकाले प्रमाण पाउन सकिरहेको अवस्था नरहेको डा। पुन बताउँछन् । मानिसबाट मानिसमा सङ्क्रमितको मुखबाट थुकको छिटा निस्किदा, नजिकै रहेको अर्को व्यक्तिको नाक, मुख, आँखा, छालाहरू खुल्ला भएमा त्यहाँबाट सर्न सक्छ ।

शरीरमा बिमिरा हुने भएकाले ती व्यक्तिले प्रयोग गर्ने लुगा, बेडबाट सर्न सक्ने पनि भनिएको छ । यसरी मानिसबाट मानिसमा सर्न सक्छ । तर, अहिलेको लहरमा देखिएको मंकीपक्स अलि फरक भएको उनी बताउँछन् ।

विभिन्न अध्ययनहरुमा पुरुषले पुरुषसँग सम्पर्क गर्दा मंकीपक्स भाइरस सर्ने भनिएको छ । अर्थात् ‘गे’हरुमा देखिएको भनिएको छ । यदि अध्ययनहरूले यो कुरालाई स्थापित गरेमा यो हो सर्ने तरिका भनेर बुझ्नुपर्ने हुन्छ । अहिलेसम्म जतिलाई मंकीपक्स भाइरस सङ्क्रमित भएको छ, उनीहरूमा सङ्क्रमण भएको स्रोत अज्ञात छ ।

जोगिने उपाय

–मुखको छिटाबाट सर्ने भएकाले मंकीपक्स सङ्क्रमणबाट जेगिन मास्कको प्रयोग गर्नुपर्ने हुन्छ ।

–साबुन पानीले हात धुनुका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

–शङ्कास्पद सङ्क्रमित व्यक्तिहरूले प्रयोग गरेको लुगा, बेडहरू प्रयोग गर्नु हुँदैन ।

मंकीपक्सको खोप

खास गरी यसलाई स्मलपक्स अर्थात् बिफरको दाजुभाइ भन्ने गरिन्छ । यो बिफर परिवारको भाइरस हो । स्मलपक्सको खोप मंकीपक्सका लागि ८५ प्रतिशत प्रभावकारी भएको भनिएको छ । सन् १९८० मा विश्व स्वास्थ्य संगठनले बिफरको उन्मुलनको घोषणा गरिसकेको छ । बिफरलाई प्रयोग गरिने खोप मंकीपक्स सङ्क्रमितलाई पनि प्रयोग गर्न मिल्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here