काभ्रे : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको घोषणा गरे ।
योसँगै बैंकहरूबीच आपसमा हुने कारोबारको दर बढ्नेछ । राष्ट्र बैंकले चालू आवमा अनिवार्य नगद मौज्दात (सिआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।
अब बैंकहरूले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ । वैधानिक तरलता अनुपात (एसएलआर) को सीमासमेत बढेको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ । मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुई थरी ब्याजको व्यवस्था भएको हो । बढ्दो आयात निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकका आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ ।
एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो ।