पशुपतिको जलहरीमा ११ किलो सुन गयब, महालेखाले उठायो प्रश्न

0
183

काठमाडौं : पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव डेढ वर्षदेखि अनुसन्धान गरिरहेको छ ।

जलहरी राख्ने क्रममा सुन गायव पारिएको र त्यसको ज्याला अनियमित रुपमा खर्च भएको विषयमा डेढ वर्षदेखि चलिरहेको अनुसन्धान टुंगोमा पुग्न सकेको छैन ।

यही बीचमा महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको पुष्टि गरेको छ । उसले करिव ११ किलो सुन गायव भएकोमा प्रश्नमात्रै उठाएको छैन, जलहरी बनाउँदाको ज्यालामा पनि कानून विपरीत काम भएको निष्कर्ष निकालेको छ ।

गतवर्ष प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको मन्दिर पुगेर दर्शन गरेका थिए र त्यसै क्रममा मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा अनुसार मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने काम भएको थियो । त्यतिबेला पुरानो भएको जलहरीबाट पानी चुहिएको, चाँदीको पाता खिइएर सरसफाइ गर्दा चोट लाग्ने गरेको भन्दै पशुपति क्षेत्र विकास कोषले नयाँ जलहरी फेर्ने निर्णय भएको थियो ।

चौतर्फी विरोधका बाबजुद जलहरी निर्माणका लागि पशुपति क्षेत्र विकास कोषबाट १०८ किलो सुन खरिद गर्ने निर्णय भएको थियो । तर महालेखाले सबै गरेर ९६ किलो ८२२ ग्राम सुन मात्रै खपत भएको औंल्याएको छ ।

चौतर्फी विरोधका बाबजुद जलहरी निर्माणका लागि १०८ किलो सुन खरिद गर्ने निर्णय भएको थियो । त्यो सुनले जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायत आवश्यक सामान बनाइयो । कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको भनी सर्वोच्च अदालतमा विवरण पठाएको छ । तर महालेखाले सबै गरेर ९६ किलो ८२२ ग्राम सुन मात्रै खपत भएको औंल्याएको छ ।

१२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो । पशुपति क्षेत्र विकास कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिव एक सय किलो सुन लाग्ने भएपनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो ।

सुन कमलो हुने भएकाले त्यसमा अरु धातु र रसायनको समिश्रण गरियो । दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिंक समेत गरी १०७ किलो ४९० ग्राम सुन कायम गरियो । १०८, १००८ जस्ता अंश शुभको प्रतिक मानिने भएकाले १०८ किलो सुन पुर्‍याइएको थियो ।

त्यसमा १० किलो ९७६ ग्राम सुन बचेको थियो । त्यतिबेलाको विनिमय दर अनुसार सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपैयाँ थियो । व्यापारीहरुसँग सुन किन्ने योजना बनेकोमा पछि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र प्रकाशित गर्नुपर्ने भएपछि सोझै नेपाल राष्ट्र बैंकबाट सुन खरिद भएको थियो ।

चाँदीको साटो सुनको जलहरी राख्ने पशुपति क्षेत्र विकास कोषको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दा परेपछि हतारहतारमा मन्दिरमा जलहरी राख्ने काम भयो, अनि जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पनि सुनको जलहरी नराख्नु भनी अन्तरिम आदेश दिएको थियो, जुन कार्यान्वयन गर्न सम्भव भएन ।

सुन हराएको विषयमा प्रश्न उठेपछि अख्तियारले समेत छानबिन थाल्यो । सुनका बारेमा कुनै प्रतिक्रिया नदिएका कोषका पदाधिकारीहरुले चौतर्फी प्रश्न उठेपछि भने रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको जवाफ दिएका थिए । त्यसपछि माइन्यूटमा ‘साथै बाँकी रहेको सुन पशुपतिनाथलाई पेटी र रिङ बनाएर चढाइयो’ भनी थपिएको छ ।

तर, उनीहरुले यो विषय मुचुल्का लगायत अरु कुनैपनि कागजातमा उल्लेख गरेका थिएनन् । महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

पशुपतिनाथ मन्दिरको जलहरी निर्माण गर्ने क्रममा अर्को अनियमितता पनि भएको छ । जलहरी निर्माण गर्न करिव एक करोड रुपैयाँ लाग्ने ‘स्टिमेट’ भएको थियो । एक करोड रुपैयाँको काम गराउन टेण्डर आह्वान गर्नुपर्ने थियो । त्यसरी टेण्डर गर्दा ढिलो हुने र अनुकुलका व्यक्ति पनि छान्न नपाउने भएपछि कोषका तत्कालिन सञ्चालक परिषदका अध्यक्ष एवं पर्यटनमन्त्री भानुभक्त ढकालले कोषबाट ज्याला नदिने निर्णय गराए ।

जलहरी बनाउँदा करिव ५५ लाख रुपैयाँ लाग्ने र त्यो काम प्रतिस्पर्धाविना गर्न नहुने भनेर कतिपय पदाधिकारीहरुले आवाज उठाएका थिए । त्यसपछि जलहरी निर्माणको रकम भक्तालुहरुले व्यहोर्ने र उनीहरुले नै सोझै भुक्तानी गर्ने भनी पर्यटनमन्त्री भानुभक्त ढकालले नै अर्को जुक्ति लगाए र त्यही अनुसार माइन्यूट तयार गरियो । परिषद बैठकले ‘सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दाताहरुबाट सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने’ भनी निर्णय गरेको थियो ।

निर्णय अनुसार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले खर्च गरे । जलहरी निर्माण गर्दा कालिगढलाई भुक्तानी गर्नुपर्ने करिव ९५ लाख रुपैयाँ उनैलाई तिराइएको थियो । उनले ज्याला मात्रै तिरिदिएनन्, पशुपतिनाथको गर्भगृहमा आफ्नो नाम सहितको चाँदीको घडा समेत राख्ने सुविधा पाएका छन् । अनि विशेष पूजामा आएका ब्राम्हणहरुलाई दक्षिणा दिने लगायतका काममा पनि अनौपचारिक खर्च गरे, जसको कुनै हिसाबकिताब छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here