काठमाडौं । ‘बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ ।
समितिले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख २९ गते बैशाख शुक्ल पूर्णिमाका दिन २५ सय ६९ औँ बुद्ध जयन्ती कार्यक्रम विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले विशेष र महत्त्वपूर्ण रहने जानकारी दिएको हो ।
समितिको संयोजनमा विभिन्न ७७ वटा संघसंस्थाहरूको सहभागीतामा मनाउन गईरहेको बुद्ध जयन्ती कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा हुने समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले बताउनुभयो। बुद्ध जयन्ती भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको त्रिसंयोगको पावन अवसर हो। यस अवसरमा बौद्धनाथ क्षेत्रमा आयोजना हुने कार्यक्रमले शान्ति, करुणा र अहिंसाको सन्देश विश्वभर फैलाउने लक्ष्य राखिएको समितिका कार्यकारी निर्देशक तामाङले जानकारी दिनुभयो ।
बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यस पटकको बुद्ध जयन्ती विशेष हुन लागेको समितिका अध्यक्ष राजकुमार लामाले बताउनु भयो । यसैगरी , उक्त दिन रेन्पोछेबाट वाङ अविशेक समेत प्रदान गर्ने कार्यक्रम रहेको वहाँले जानकारी दिनुभयो ।
बैशाख २९ गते विहान ८ बजेर ४५ मिनेटमा लामागुरुहरु, विभिन्न सांस्कृतिक झाँकी शान्ति, प्रहरी ब्याण्ड, बौद्ध परम्परा र कलात्मक विरासतको प्रदर्सनसहित भिक्षु,स्थानीय बासिन्दा, विभित्र संघ संस्था लगायत भक्तजनको सहभागीतामा महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गरी चुच्चेपाटीस्थित हायत चौरमा पुगेर औपचारिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
यसैगरी, समितिका अध्यक्ष राजकुमार लामाले उक्त दिन र्यालीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना रहेको जानकारी दिए । औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत गरिएको आयोजकले जनाएको छ ।