बर्दिया । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दियाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया र छलफलमा सहभागी भएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्न स्थानीय तहका नेताहरुलाई सहभागी नगराई खुला वातावरण सिर्जना गरिएको थियो ।
अन्तरक्रियामा सहभागी दुबै स्थानीय तहका सहिद तथा बेपत्ता परिवारले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए।
अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।
गुनासा सुनेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने, ‘पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ। हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुःख सुख साट्दै आएका छौँ।’
उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गर्दै भने, ‘शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ।’
अध्यक्ष प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए ।
उनले भने, ‘आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ। साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिने छ।’
बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले स्मरण गराउँदै भने, ‘संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार समेत बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन्।’
कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे ।