काभ्रे । नेकपा (माओवादी केन्द्र) धुलिखेल नगर समितिको तेस्रो अधिवेशनबाट सुरेन्द्र महतको अध्यक्षतामा ३९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।
आईतबार धुलिखेलमा सम्पन्न नगरको तेश्रो अधिवेशनबाट महत अध्यक्षमा चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा रामप्रसाद हुमागाई र यसोदा श्रेष्ठ तामाङ, सचीवमा दोर्जे तामाङ, सह-सचिवमा कृष्ण जि बनेपाली र कोषाध्यक्षमा अन्जली तामाङ चयन भएका छन्।
उद्घाटनसत्रलाई सम्बाेधन गर्दै पार्टीका उप-महासचिव गिरिराजमणि पोखरेलले माओवादीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको दाबी गरे । वर्तमान सरकारले अहिले कुलमानलाई निकाल्न खोजेको भन्दै उनले आपत्ति जनाए ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उप-महासचिव पाेखरेलकाे स्पष्टेक्ति छ । आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै बलबुतामा अघि बढ्न सक्ने गरी पार्टी बलियो बनाउनुपर्ने उनी बताउँछन् ।
आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने उप-महासचिव पाेखरेलकाे जिकिर थियाे ।