युएई : तामाङ समाज युएईले आयोजना गर्न लागेको मन्जुश्री सम्बत २८६१ औं डुल ( स पुख्री ) ल्हो अर्थात सर्प बर्ग सोनाम ल्होछार सेलो बिशेष सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । यो कार्यक्रम युएईमा रहेका तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परा र एकताको प्रतीकस्वरूप हर्षोल्लासका साथ मनाउन लागिएको हो ।
कार्यक्रम २५ जनवरी २०२५ मा आबुदाबी इन्डियन ईस्लामिक सेन्टरमा र २६ जनवरी २०२५ मा बर दुबैमा रहेको एस के सेभेन क्लबमा दिनको १ बजेबाट सुरु हुने त्यसै गरि रसअल खैमाह क्षेत्रिया समितिको ०१ फेब्रुअरी २०२५ मा हुने तामाङ समाज युएईका अध्यक्ष भिम दोङ तामाङले जानकारी दिनु भएको छ ।
तामाङ समाजका पदाधिकारीहरूले जानकारी दिएअनुसार, ल्होछारको यस विशेष कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति झल्काउने नृत्य, संगीत, तथा परम्परागत प्रस्तुति समावेश गरिनेछ । साथै, कार्यक्रममार्फत तामाङ जातिको ऐतिहासिक पहिचान र सांस्कृतिक विविधता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा चर्चित कलाकारहरू सुमिना ल्हो, सन्जिब घिसिङ, मनमाया वाईबा लगायत अन्य कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुति समेत रहेको आयोजक टिमले जानकारी दिएको छ । सांस्कृतिक सामग्रीको व्यवस्थापन, र कार्यक्रमस्थलको सजावटलगायतका कामहरू तीव्रगतिमा भइरहेका छन् । कार्यक्रमलाई भव्य र सफल बनाउन विभिन्न समूहहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । तामाङ समुदायको उत्साहजनक सहभागिताले यस कार्यक्रमको आकर्षणको मुख्य केन्द्र हुनेछ ।
आयोजक समितिका अनुसार, कार्यक्रममा तामाङ समुदायका अग्रज व्यक्तित्वहरू, युएईका नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, र तामाङ कला-संस्कृतिप्रति रुचि राख्ने विभिन्न राष्ट्रका अतिथिहरूको सहभागिता रहनेछ । कार्यक्रममा तामाङ मौलिक पोशाकहरूको पनि प्रस्तुत गरिनेछ ।
समाजका अध्यक्षले बताएअनुसार, यो कार्यक्रम तामाङ समुदायका लागि मात्र नभई नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि महत्त्वपूर्ण मानिन्छ । उनले युएईमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।
ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने भएकाले यसले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास गरिएको छ ।