काभ्रे : काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १० जनागालस्थित सेतोपाटी क्षेत्रमा निर्माणाधीन संरचनाहरू हटाउन पुरातत्व विभागले निर्देशन दिएको छ ।
सेतो पाटीमा पाटीको मर्म र भावना विपरीत माथिल्लो तलामा नेपाल रेडक्रस सोसाइटी जनगाल उपशाखा, उग्रतारा जेष्ठ नागरीक समितीको साथै नगर प्रमुख स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, नगर स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेको छ । पछिल्लो समय सत्तलको दक्षिण र पूर्वी भागको पेटी र गारोमा फलामको रेलिङ्ग बार लगाई सेड तयार गरी पाटीको मौलिक स्वरुपलाई विगार्ने काम भएको भनि उक्त स्थलको अध्ययन गरी प्रतिवेदन पेश भएको हुँदा ऐतिहासिक सेतो पाटीमा सञ्चालन गरिएका कार्यालयहरु तथा पाटीको मौलिक स्वरुपलाई नै असर पर्ने गरी थप गर्न लागिएका नयाँ संरचनाहरु तत्काल हटाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौं संशोधन सहित) को परिधिभित्र रहि सम्पदा संरक्षण गर्न निर्देशन दिएको छ ।
संरचना निर्माणले सेतोपाटीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई समाप्त पार्न सक्ने सम्भावनाका कारण विभागले तत्काल कदम चालेको हो । यसका साथै, बनाइएको संरचना अन्य प्रासंगिक कानुनहरूको उल्लङ्घनमा पर्ने भएकाले विभागले स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गरी संरचना हटाउने प्रक्रियामा सहकार्य गर्न आह्वान गरेको छ ।