सिन्धुली : हरिहरपुरगढि, सिन्धुलीमा अवस्थित लि:ल फङ (घले समाज) ले परम्परागत सांस्कृतिक महत्वको लि:ल (घले) प्रि ल्हो ल्होसर कार्यक्रम गाउँपालिका प्रमुख बज्रध्वोज वाईबाको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरेको छ । आयोजित ल्होसर कार्यक्रमले समुदायको एकता, परम्परा संरक्षण र सांस्कृतिक पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
कार्यक्रममा परम्परागत पहिरनमा सजिएका सहभागीहरूले ल्होसरको विशेषतालाई झल्काउने सांस्कृतिक, नृत्य र गीत प्रस्तुत गरेका थिए । घले समाजका अग्रज व्यक्तित्वहरूले ल्होसरको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिको बारेमा जानकारी दिँदै यस पर्वले भातृत्व, सद्भाव र समृद्धिको सन्देश प्रवाह गर्ने उल्लेख समेत गरेको थियो ।
ल्होसर कार्यक्रमको प्रमुख आकर्षण परम्परागत परिकार र सांस्कृतिक प्रस्तुतिहरू थिए । सहभागीहरूले ल्होसरको वातावरणलाई अझ रमाइलो बनाएका थिए । साथै, स्थानीय कलाकारहरूले पनि प्रस्तुत गरेको नृत्य र संगीतले सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्षले यस्तो सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो परम्परासँग जोड्ने अवसर प्रदान गर्ने र समुदायको पहिचानलाई बलियो बनाउने धारणा व्यक्त गरेब। उनले समुदायको एकता र विकासमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिज्ञ र अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । अतिथिहरूले घले समाजको यो प्रयासलाई प्रशंसा गर्दै आगामी दिनमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
सिन्धुलीको हरिहरपुरगढिमा सम्पन्न भएको यो कार्यक्रमले घले समाजको सांस्कृतिक पहिचानलाई मात्र प्रवर्द्धन गरेको छैन, सम्पूर्ण क्षेत्रलाई पर्यटनको दृष्टिले पनि आकर्षणको केन्द्र बनाउने सम्भावना प्रस्तुत गरेको छ। ल्होसरको यो भव्य समारोहले समुदायभित्रको एकता, सद्भाव र सांस्कृतिक वैभवलाई सशक्त बनाउँदै भावी पुस्ताका लागि प्रेरणाको स्रोतको रूपमा आफूलाई स्थापित गरेको छ ।