काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न यो खबरदारी सभा नगरेको बताएका छन् ।
शनिबार पार्टीले काठमाडौमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खबरदारीसभा लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गरिएको बताएका हुन् । उनले बरु आफूहरुले खबरदारीसभा गर्ने भनेपछि सत्तापक्षमा आतंक मच्चिएको बताए ।
उनले भने, ‘यो खबरदारीसभा घोषणापछि सत्तापक्षमा आतंक मच्चिएको छ । खबरदार ! सरकार ढल्छ भन्ने डरले बेथितितिर नजानु भ्रष्टारीको संरक्षणमा नलाग्नु । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खबरदारीसभा गरेको हो । प्रतिगमनकारीले टाउको उठाउन लागेकाले आफूहरु सडकमा आएको हो ।’
उनले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाए ।