काठमाडौं । कवि निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अदृश्य हावा’ सार्वजनीकरण तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ ।
शनिबार, नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा सुचक प्रकाशन तथा सम्यक सन्देशको आयोजनामा भएको उक्त कार्यक्रम संघाराम विहारका प्रमुख श्रद्धेय भिक्षु उपतिस्स महास्थवीरकाे प्रमुख आथित्यतामा सम्पन्न गरिएको थियाे ।
भिक्षु महास्थवीरद्वारा पञ्चशील प्रदानका साथै पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै कार्यक्रम संयाेजक एवं सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण तथा ‘अदृश्य हावा’ कार्यक्रम सँगसँगै आयोजना गर्नुकाे औचित्य प्रस्ट्याएका थिए । सुचक प्रकाशनको १५ वर्षे यात्रामा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार तेस्रो संस्करणको रुपमा कार्यक्रम आयोजना भएकोले यो निकै महत्वपुर्ण रहेको बताउँदै अश्वघोषकै सम्झनामा पुरस्कार स्थापना गरिएको अध्यक्ष भेटुवालले बताए ।
सम्यक सन्देशका सल्लाहकार एवम् बौद्ध अध्येता श्यामलाल चित्रकारले भिक्षु अश्वघोषको विराट व्यक्तित्वको परिचय दिँदै यस्तो पुरस्कारबाट पुरस्कृत प्रा।डा। द्वयप्रति हार्दिक कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८१ बाट लामो समय सम्यक सन्देश प्रकाशनमा महत्वपुर्ण भुमिका निभाउनु भएका प्रा.डा.बज्रराज शाक्य र प्रा.डा.रन्जना धाख्वा बज्राचार्यलाई सम्मानित गरिएको थियो । यसैगरी, त्रियान मिडियाका प्रतिनिधि राजु नापितलाई सम्मान गरिएको थियो ।
भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. शाक्यले कुनैबेला बुद्ध धर्मलाई हिन्दु धर्मको एउटा शाखाको रुपमा मात्र अङ्गीकार गरेको अवस्थाबाट आफूहरूको कठिन मेहनतले यसलाई आजको अवस्थासम्म ल्याउन सफल भएकोमा हर्षित भएको बताए । भिक्षु अश्वघोषको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउँदा आफुलाई गर्व महसुस भएको बताउँदै उनले सम्यक सन्देशलाई अझै प्रगतिको शुभकामना व्यक्त गरे ।
यसैगरी, कवियत्री निन्द्रा देउजा ‘राजवंशी’ले कविता संग्रह प्रकाशन गरेर आयोजकले यो स्थान सम्म ल्याउन सहयोग गरेकाेमा आयोजक र कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गरेकी थिईन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमल्सिनाले कवि राजवंशीले सरल र बोधगम्य काव्य सिर्जना गरेको थाहा पाउँदा आफू खुशी भएको बताए । कवि निद्रा देउजा राजवंशीका कवितामा महिला अधिकार, शोषण, दमन, अत्याचार, भ्रष्टाचार, शान्ति, प्रेम, बिछोड, माटोप्रेम, प्रकृति-चित्रण तथा सामाजिक विकृतिको सेरोफेरोलाई उजागर गरेकाे पाईन्छ ।
कवि निद्रा देउजा राजवंशीले आफ्नो एउटा कविता वाचन गर्दै गरिमामय उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गरिन् सम्यक सन्देशका संरक्षक एवम् समाजसेवी केदारनाथ श्रेष्ठकाे सभाअध्यक्षतामा सम्पन्न सो कार्यक्रमका पत्रकार एवं समालोचक माधव घिमिरे अटल,समाजसेवी चन्द्रदास राजवंशी, सम्यक सन्देशका सल्लाहकार एवं सुगत बौद्ध महाविद्यालयका पूर्व प्राचार्य तिर्थरत्न शाक्य , लीलादेवी साहित्य पुरस्कारका सस्थापक एवं साहित्यकार लीलादेवी श्रेष्ठ लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा संचारकर्मीहरुकाे उपस्थित रहेको थियो ।
लोमश वाङ्मय प्रतिष्ठानका सचिव तथा कवि नवीन पल्लवले सहजीकरण गरेको उक्त कार्यक्रमकाे समापन भने भिक्षु महास्थविरद्वारा पुन्यानुमोदन गर्दै सम्पन्न गरिएको थियो ।