मधेश विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट कानून तथा जन प्रशासन सङ्कायको डीन छनोट गरेको छ ।
अन्तवार्ताका लागि छनोट भएका ५ जना उम्मेदवारमध्यबाट काठमाडौं कलेज अफ म्यानेजमेन्टका प्रा.डा. अञ्जय कुमार मिश्रलाई डीन पदमा छनोट गरिएको हो । विश्वविद्यालयको विकास एवम् हितमा सहयोग पु-याउने, क्षमतावान र दूरदृष्टिका साथ काम गर्न सक्ने व्यक्तित्वहरूबीचको खुला प्रतिस्पर्धाबाट डीनको नियुक्ति गरिएको हो ।
विश्वविद्यालयले मिति २०८१।०५।०७ गते आफ्नो वेवसाइटमा आवश्यक मापदण्डसहित खुला प्रतिस्पर्धाबाट डीन नियुक्तिको सूचना जारी गरेको थियो । डीन छनौट समितिले आवेदन दिएका ५ जना मध्ये ५ जनाको नाम सर्टलिष्टमा परेको थियो । सर्ट लिस्टमा परेका उम्मेदवारहरुलाई असोज १९ गते अन्तवार्ताका लागि बालाइएको थियो ।
सर्टलिस्टमा परेकाहरूमा सह–पाध्यापक डा. शुक्रराज अधिकारी, डा. अञ्जय कुमार मिश्रा, डा. मायानाथ घिमिरे, डा. धर्मेन्द्र कुमार शाह , डा. बंश कर्णको नाम सर्टलिस्टमा परेको थियो ।
मधेश विश्वविद्यालय २०७९ भााद्रमा स्थापना भई स्नातक तहमा दुई कार्यक्रम सञ्चालनमा रहेको छ । उक्त विश्वविद्यालयका प्रथम डीन डा. मान बहादुर विकले राजिनामा दिएपछि विश्वविद्यालयमा शैक्षिक प्रशासन तथा अनुसन्धान गर्न गराउन जनशक्तिको आवश्यकता खड्कीरहेको बेला योग्य उम्मेदवारको छनोट गरिएको हो ।
मिति २०८१।०६।१९ गते रजिस्टारको कार्यालयले गरेको अन्तवार्तामा विज्ञ प्रा.डा. महानन्द चालिसे तथा प्रा.डा. दिपक भण्डारीसहितको टोलीले अन्तवार्ता गरी दोस्रो डीनको रूपमा प्रा.डा. अञ्जय कुमार मिश्रलाई नियुक्त गर्ने सूचना प्रकाशन गरेको हो । डा. अञ्जय कुमार मिश्र ६ पेटेन्ट, २५ प्रतिलिपि, २०० भन्दा बढी विज्ञ समिक्षित लेख, दर्जन भन्दा बढी रेफरेन्स पुस्तक तथा विभिन्न अवार्डबाट सम्मानित भएका व्यक्ति हुन । उहाँ विभिन्न अनुसन्धानमूलक जर्नलहरूमा प्रधान सम्पादकमा रही कार्यरत छन् ।
शिक्षा विज्ञान तथा प्रविधिको विज्ञको रुपमा समेत काम गरी मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको अवधारणा पत्र पनि तयार पारेका हुन् । Google Scholar Citation को आधारमा AD Scienfic Ranking बाट नेपालको उत्कृष्ट व्यवस्थापन बैज्ञानिकको रुपमा २०२३ देखि लगातार प्रथम Ranking मा पर्न सफल छन् ।