काठमाडौँ :- गठन भएको तीन महिना बितिसक्दा पनि कांग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बताएका छन्। सहिद स्मृति युवा क्लवको १५औं वार्षिकोत्सव गृहजिल्ला रोल्पाको राङसीमा उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए।
पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्वले प्रतिनिधिसभाका दुई प्रमुख दल कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप लगाए।सरकारले तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्वहरुकै स्वार्थमा काम गरेको टिप्प्णी पुनले गरे ।
‘विचौलिया तत्वहरुले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो सरकारले लिएको छैन ।’ सरकारले मुलुकका निराशा बढ्दै गएको र जनतामा आशा जगाउन नसकेको उनको भनाइ छ । उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने सरकारमा रहेका दलहरुलाई जनताका आकांक्षा र भावना अनुसार काम गर्न सुझाउँदै स्पष्ट गरे।