काठमाण्डौ :- जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले बुझाएको छ ।
नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता बापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता बापतको रकम हिजो बुझाएको हो । यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ रुपैयाँ किस्ता रकम भुक्तानी भएको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफलसमेत भइरहेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ ।