बनेपा : काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको उग्रेश्वर परिसरमा बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा बनेपा महोत्सव–२०८१ को उद्धघाटन आज भब्य रुपमा भएको छ ।
आजदेखि संचालन भएको महोत्सवको बनेपा पार्टी भेन्युबाट नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो । महोत्सवको उद्घाटन् बागमती प्रदेशका आर्थिक, मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताएका हुन । व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने बताए । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरेका थिए ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहेको समेत उनले जानकारी दिए ।
मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत गरिने उनले जानकारी दिए । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ ।
महोत्सवमा बिभिन्न बिधाका खेलकुद, गायन , नृत्य ,धिमे बाजा प्रतियोगिताका साथ साथै प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ ।