खानीखोला गाउँपालिकाको पन्ध्रौं गाउँ सभा तथा आठौं बजेट अधिवेशनमा प्रस्तुत
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम
आदरणीय सभा अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरू ।
१. खानीखोला गाउँपालीकाको पन्ध्रौं गाउँसभाको आठौं बजेट अधिवेशनमा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत एवम् अन्य कर्मचारी मित्रहरू, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीहरू सर्वप्रथम खानीखोला गाउँपालिकाको आजको यस गरिमामय गाउँसभामा म गाउँपालिकाको अध्यक्ष र गाउँ कार्यपालिका परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक न्यानो अभिवादन टक्रयाउँदछु ।
यस खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यस गरिमामय गाउँसभाको बैठकमा प्रस्तुत गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नु हुने आदरणीय खानीखोलाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी लगायत सबैमा यसपालि पनि पुनः आभार सहित धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा इतिहासका विभिन्न कालखण्डमा विशेषत जनयुद्धको महान् अभियानमा यस खानीखोला गाउँपालिकाको भूमिबाट प्राण उत्सर्ग गर्नु हुने अमर योद्धाहरू श्री अर्जुन बहादुर थिङ, श्री मान कुमारी गोले, श्री धन कुमारी गोले, श्री दल बहादुर भ्लोन, श्री डिल बहादुर थिङ, श्री राममाया बज्यु, श्री लोक बहादुर सिंतान, श्री रेशम बहादुर घिसिङ, श्री केनाम सिं घिसिङ (विशाल), श्री भक्तराज पाख्रिन (जनम), श्री अरविन जिम्बा, श्री देवराज सापकोटा (दर्शन), श्री कुमार वाईबा (संजिव ), श्री झलक दर्लामी मगर, श्री याङ्ग्रीमाया वाईबा, श्री मिठूमाया वाईबा, श्री सुवास वाईबा, श्री जनक वाईबा, श्री रमिता माया थोकर, श्री मनोहरी फुयल, श्री बुद्धि बहादुर घिसिङ (डेन्साङ), श्री छविलाल कामी, श्री धन बहादुर श्रेष्ठ विच्छु, मनहरी फुयल, श्री होमनाथ तिमल्सिना लगायत अमूल्य जीवनको आहुति दिनु हुने यी महान् ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली निर्माणसम्मको चरणमा आइपुग्दा घाइते तथा बेपत्ता पारिएका परिवारप्रति आजको यस सभा मार्फत गहिरो श्रद्धा पूर्वक सम्मान व्यक्त गर्दछु । मूलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण तथा परिवर्तनमा युगान्तकारी रूपमा नेतृत्वदायी भूमिका खेल्नु हुने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु ।
२. सङ्घीय संरचना अनुसार नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोक जिल्लाका १३ वटा स्थानीय तहहरू मध्ये जिल्लाको दक्षिणी भेगमा अति विकट मानिएको sis पारिको क्षेत्रमा अवस्थित यस खानीखोला गाउँपालिका खानीखोलाको स्वच्छ एवम् कञ्चन पानीजस्तै समृद्धिको मीठो सपना बोकेर अघि बढि रहेको छ । कूल १३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको उत्तरी सीमानामा बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका, पूर्वमा महाभारत गाउँपालिका, दक्षिणमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र पश्चिममा ललितपुरको महाङ्काल गाउँपालिका पर्दछ । उत्तरतर्फ महाभारत पर्वत, पूर्वतर्फ चाउ खोला, दक्षिणतर्फ कोखाजोर र बागमती नदी एवम् पश्चिमतर्फ दुर्लुङ खोलाले घेरिएको यस गाउँपालिका आफैंमा प्राकृतिक रूपमा अत्यन्तै मनोरम सुन्दर र हरियालीयुक्त छ । गाउँपालिकाको नामसँग साइनो जोडिएको यस भूगोलको मध्य भाग भएर बग्ने खानीखोला यहाँको मुख्य सौन्दर्य हो । यहाँको संस्कार, भावना र मनोविज्ञान यही सौन्दर्यसँग जोडिएको छ । प्राकृतिक दृष्टिले शान्त, प्रदुषण रहित स्वच्छ हरियालीयुक्त खानीखोला आज विकासको अनमोल अपेक्षाको बीचमा खडा छ । २०७३ साल फागुन २७ गतेको स्थानीय सरकार सञ्चालन तथा गठन आदेश बमोजिम साविक फलामेटार, डाँडागाउँ, साल्मेचाकल, सालधारा र मिल्चे गरी ५ गाउँ विकास समिति मिलेर जम्मा ७ वडाको यस खानीखोला गाउँपालिकाको वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १२,२०१ कूल जनसङ्ख्यामा पुरुष ४९.६ प्रतिशत र महिलातर्फ ५०.४ प्रतिशत रहेको छ । (जिल्ला निर्वाचन कार्यालय, काभ्रेपलाञ्चोकको तथ्याङ्क अनुसार यस गाउँपालिकामा १४,३९८ जनसङख्या रहेकोमा पुरुषतर्फ ७,०३४ र महिलातर्फ ७,३३४) रहेको देखिन्छ । जसमा गाउँपालिकामा अपाङ्गता भएका व्यक्ति २.८ प्रतिशत रहेका छन् । आफ्नै छुट्टै भौगोलिक पहिचान रहेको यस गाउँपालिकामा विशेष गरी तामाङ, मगर, नेवार, बाहुन, क्षेत्री, गुरुङ, माझी, विश्वकर्मा, सार्की, पहरी, दमाई समुदायका मानिसहरूको बसोबास रही आएको छ । दूध, तरकारी तथा माछामासुमा आफैमा आत्मनिर्भर रहेको यस गाउँपालिकाको अर्को पहिचान ऐतिहासिक भीमसेनथान मन्दिर, महादेवथान मन्दिर, थुम्की, लाप्चे गुफा, गोल्मे दरबार, चमेरे गुफा हुनु हो । यस गाउँपालिकामा तामा, चुन, फलाम लगायत अथाह खानीको भण्डार रहेको छ । जडिबुटीजन्य प्राकृतिक स्रोतले पनि यस गाउँपालिका भरिपूर्ण छ । हाम्रो खानीखोला यस्ता अनगिन्ती सम्भावना बोकेर आफ्नो यात्रामा अगाडि बढिरहको छ । न्यूनतम ३०० मिटरदेखि अधिकतम ३००० मिटर उचाईमा फैलिएको यस गाउँपालिका निश्चय नै हामी सबैको साझा प्रयत्नबाट बदलिनेछ भन्ने विश्वास यस सभाले लिएको छ । मूलुकमा सङ्घीयताको स्थापनासँगै यसले प्रदान गरेको जनाधिकार सिंहदरबारको अधिकार गाउँ गाउँमा भएको व्यवस्थाले यहाँको जनमानसमा आएको उत्साह वास्तवमै आकर्षक छ । यसर्थ अब हामी सबै यो उत्साहका साथ “हामी बनाउछौं, हाम्रो खानीखोला” अभियानमा जुट्न पुनः एक पटक आजको यसै गाउँसभाबाट सङ्कल्प गर्दैछौं ।
यस गाउँपालिका भौगोलिक रूपमा अति विकट रहे पनि यहाँको उच्च पहाडहरूमा रहेको महत्वपूर्ण जडीबुटी र खोलानालाहरू यस क्षेत्रको अर्थ उपार्जनका लागि महत्वपूर्ण आधार बन्न सक्छन् भन्ने कुरामा कुनै दुई मत छैन । सङ्घीय संरचन अन्तर्गत राजधानीबाट नजिक रहेर पनि विविध कारणले हालसम्म पनि यहाँका अधिकांश जनताहरू कृषि पेशामा नै आत्मनिर्भर रहेकोले यहाँको मुख्य आर्थिक स्रोत पनि कृषिमा नै आधारित रहेको छ । यस क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गरी केन्द्रीय राजधानीसम्म विस्तार गरी अर्थोपार्जनलाई प्रभावकारी बनाउन उपयुक्त मार्गको खोजीमा हामी निरन्तर प्रयासरत रहेको कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु ।
सभाका सदस्यज्यूहरू,
१.१ पृष्ठभूमी
३. विश्वव्यापी रूपमा फैलिएको कोभिड – १९ महामारीबाट थलिएर माथि उठ्न लागेको अर्थतन्त्र पुनः रुस युक्रेन युद्ध र सोबाट विश्व आपूर्ति श्रृङ्खलामा आएको सङ्कुचनले नेपाललाई समेत प्रभाव पारेको छ । यसबाट सङ्घीय सरकारको राजस्व परिचालनमा प्रभाव पर्न गई स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तान्तरणमा नकारात्मक असर परेको छ ।
नेपालले जनसाङ्ख्यिक लाभ लिँदै अल्प विकसित मूलुकबाट विकासशील मूलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन सयौं युवाहरू रोजगारीको खोजीमा गाउँ छोडेर विदेशिनु पर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ । आन्तरिक र बाह्य बसाइँ सराइँका कारण नेपालका गाउँघरहरू सुनसान बस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उब्जाउ खेतबारी बाँझै रहन पुगेका छन् । यस सन्दर्भमा युवालाई गाउँभित्रै रोजगारीको अवसर सिर्जना गर्ने र गाउँघरको बसाइलाई आकर्षक बनाउने चुनौति हामी सबैको साझा मुद्दा हुन पुगेको छ ।
नेपालको संविधान २०७२ जारी भए पश्चात दोस्रो पटक सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनले अब सङ्घीयताको स्थायित्व र संस्थागत विकासबारे विमति राख्ने विषयले प्राथमिकता पाउने छैन । सङ्घीयता सबल रुपले स्थापित भई कार्यान्वयनको दोस्रो पञ्च वर्षीय कार्यकाल पनि मध्यम भ सकेको वर्तमान परिवेशले यसप्रतिको
आशङ्काले कुनै स्थान नपाउने निश्चित छ । यद्यपि यही संविधानद्वारा प्रदत्त अधकारको उपभोग गर्दै निर्वाचनमा सहभागी भई विजयी भएका केही व्यवस्था विरोधीहरूको आवजाहरू यदाकादा देखिनु लोकतान्त्रिक प्रणाली अन्तर्गतकै अङ्ग हो भन्ने कुरालाई बुझेर तपाईं हामी यो व्यवस्थाबाट जनताले प्राप्त गरेको लाभको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्नु पर्दछ ।
यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनः उत्थानशील क्रियाकलाप मार्फत अगाडि बढाउँदै तीव्र र दीगो आर्थिक विकास गरी समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्नु परेको छ । यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक तथा पूर्वाधार विकासका कार्यक्रमलाई विशेष जोड दिनु पर्ने अवस्था सिर्जना भएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्य छ । यसका लागि विद्युतीय सुशासन प्रणालीलाई सेवा प्रवाहमा व्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिन्छ ।
१.२ चालू आ.व.को नीति तथा कार्यक्रमको समीक्षा
(क) आर्थिक क्षेत्र
१. खानीखोला गाउँपालिकाबासी आर्थिक जीवनमा रूपान्तरण ल्याउने उद्देश्यले हामीले थालिएको प्रयासको प्रभावकारिता विगत वर्ष भन्दा थप अरू बृद्धी भई कूल ग्राहस्थ उत्पादन………… बाट …….. पुगेको छ । मूलतः कृषि उत्पादन मार्फत अर्थ उपार्जनको क्षेत्रमा ठूलो योगदान पुगोस भन्ने हेतुले कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम लागु भए पश्चात यसको लिकप्रिय ह्वात्तै बढेको छ । कफीमा औजार तथा विरूवा वितरणको कार्यक्रमले कफी किसानलाई राहत मिलेको छ र सातै वटा वडामा कृषक समूह मार्फत कफीको बेर्ना उत्पादन गर्न नर्सरी स्थापना गरिएको हुँदा आगामी वर्षबाट बेर्ना वितरण गर्न नपर्ने भएको छ र उक्त कार्यक्रमबाट खानीखोलाका किसानलाई व्यवसायिक बन्न उत्प्रेरित गरिएको छ । यद्यपी यस कार्यको सक्रिय अनुगमन हुन अति आवश्यक देखिन्छ ।
२. गाउँपालिकाको अति लोकप्रिय कार्यक्रम स्थानीय उत्पादन खरीद बिक्री केन्द्र स्थापना भई माननीय मुख्यमन्त्री श्री शालिकराम जमकट्टेलज्यूबाट उद्धघाटन समेत सकेको छ । यसको मूल उद्देश्य स्थानीय नागरिकले गरेको उत्पादनलाई बजारको पहुँचमा पु-याउने र त्यस कार्यमा सरकार स्वयंबाट जिम्मेवारी लिई किसानलाई सहजिकरण गर्ने भएको हुँदा प्रारम्भिक कालमै यस प्रतिको जनचासो व्यापक रहेको देखिन्छ । यस कार्यक्रमबाट खानीखोलाको आर्थिक जीवनमा ठूलै परिवर्तन आउने सरकारलाई मात्र होइन आ नागरिकलाई समेत आशा जागेको छ । यद्यपी यसमा थुप्रै चुनौतीहरू रहेको छ ।
३. खानीखोलाको अर्को उत्पादनको मुख्य श्रोत भनेको पशुपालन हो, यसबाट यहाँको नागरिकको दैनिकी धानिरहेको छ । गाई-भैंसीको दुधबाट बन्ने खुवाहरू गाउँपालिकाको किसानको आम्दानीको मुख्य स्रोत हो बार्षिक हाम्रो खानीखोला गाउँपालिकाबाट रू. १० करोड बराबरको खुवा निर्यात हुन्छ । यस आर्थिक वर्षबाट यसलाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ ।
४. गाई-भैंसी, बाख्रापालनमा किसानहरूलाई अनुदानको व्यवस्था गरिएको छ तर यो सोचे अनुरुप व्यवस्थित र प्रगतिमूलक हुन सकेन । किनकि यहाँको किसानहरू उत्पादनमुखी भन्दा अनुदानमुखी हुने सम्भावना बृद्धि भएकोले आगामी वर्ष यस कार्यको थप समिक्षा गरी अगाडी बढ्नुपर्ने देखिन्छ ।
५. खानीखोला गाउँपालिका अन्तर्गतका ४०२ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूको जग्गाको निस्सा वितरण गरको छौं ।
६. कृषिजन्य सामाग्रीको उत्पादकत्व वृद्धि गरी स्थानीयस्तरमा व्यवसायीकता विकास गर्न खानीखोला गाउँपालिकाको केन्द्रमा कृषि हाटबजार सञ्चालन गरिएको छ ।
(ख) सामाजिक क्षेत्र
१.गाउँपालिका सरकारले आर्थिक वर्ष २०७९/०८० बाटै शिक्षामा ठूलै सुधार गर्नपर्ने विषयको समिक्षा गर्दै गाउँ शिक्षा सम्मेलन मार्फत गाउँ शिक्षा योजना ( आवधिक शिक्षा योजना निर्माण गर्यो जस मार्फत विद्यालयका तल्लो कक्षामा प्रविधिमैत्री (Smart Digital Class), मध्यम तहमा अतिरिक्त कक्षा र माध्यमिक तहमा आवसिय शिक्षाको अवधारणामा जोड दिइयो । जसलाई प्रभावकारी बनाउन तल्लो कक्षामा यस आर्थिक वर्षमा १२ वटा Smart TV. को व्यवस्थापन गरी वितरण गरीयो भने मध्यम र उच्च तहमा गरिने क्रियाकलापको पनि कार्य अगाडी बढाइएको छ ।
२. सहाराविहिन बालबालिकाको शिक्षालाई सुनिश्चित गर्न श्री कुमारी माध्यमिक विद्यालय, जगथलिमा आवसिय शिक्षाको आरम्भ गरी आमाबाबु नभएका बेसहारा १४ जना बालबालिकाको पठनपाठन शुरु भएको छ ।
३. गाउँपालिका भित्रको स्थानीय पाठ्यक्रम आरम्भ गरी सञ्चालनमा ल्याइएको छ । यस गाउँपालिकाको ८५% जनसङ्ख्या ओगटेका तामाङ सामुदायको राष्ट्रिय भाषा ( मातृभाषा ) मार्फत पठनपाठनको व्यवस्था मिलाईएको छ । जसले बागमती प्रदेश सरकारको नेवाः र तामाङ भाषालाई पनि सरकारी कामकाज भाषाको रूपमा मान्यता दिने निर्णयलाई पनि मद्दत पग्नेछ ।
४. विगत ३० वर्षदेखि यस क्षेत्रको सामुदायिक विद्यालयहरूको परीक्षाको प्रश्नपत्र निर्माण गैर सरकारी संस्थाबाट निर्माण हुँदै आएकोमा यस आर्थिक वर्षबाट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्रश्नपत्र निर्माण गरिएको छ, र परीक्षालाई स्थानीय सरकार आफैंबाट व्यवस्थित ढंगले सञ्चालन गरिएको छ ।
५. हाम्रो पालिकाले प्रत्येक वर्ष SEE मा उत्तीर्ण भई उत्कृष्ट भएका अल्पसंख्यक तथा दलित विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ती प्रदान गरिएको छ ।
६. गाउँपालिकाको प्रधानाध्यापकहरूसँग निरन्तर अन्तरक्रिया, छलफल र बैठक मार्फत शिक्षाको क्रियाकलापहरूलाई अगाडी बढाउनुका साथै शैक्षिक अवलोकन भ्रमण मार्फत विद्यालय शिक्षालाई सुधार गर्नको लागि महत्वपूर्ण अभ्यास र अनुभवनहरूलाई आदान-प्रदान गरी लागु गर्ने प्रयत्न गरिएको छ ।
७. खानीखोला गाउँपालिकाको युवाहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई व्यवस्थित र संस्थागत गरिएको छ । प्रत्येक वर्ष खानीखोला कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।
८. विद्यालयका बालबालिकालाई समाज, राष्ट्र, राष्ट्रियता प्रति जिम्मेवारी बनाउन प्रेरित गर्ने उद्देश्यले विभिन्न चेतनामुलक नाटक, वक्तित्वकला एवं अन्य विविध अतिरिक्त क्रियाकलापहरूद्वारा सचेतना अभियान सञ्चालन गरिएको छ ।
९. खानीखोला सरकारको मूल नारा “एक घर एक धारा” भन्ने मूल अभियान अन्तर्गत यस वर्ष मात्रै वडा नं. १ मा २०२ वटा, वडा नं. २ मा ६७ वटा, वडा नं. ३ र ४ मा १९५ वटा र वडा नं. ५ मा १५२ वटा गरी कुल ६१६ वटा नयाँ धारा निर्माण गरी जनतालाई स्वच्छ खानेपानीको वन्दोबस्त गरिएको छ ।
१०.गाउँपालिकाको धर्म, भाषा, संस्कृती, पर्यटन सम्बन्धित क्रियाकलापहरू अन्तर्गत ल्होछार, सप्ताह, माघीपर्व, लादि पर्व, तमुल्होछार, वाप्पा तालीम, जनजाती, दलित तथा अल्पसङ्ख्यकको संस्कृति परम्परासँग सम्बन्धित क्रियाकलापहरूलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन विभिन्न क्रियाकलापहरू मार्फत गरिएको छ ।
११. जेष्ठ नागरिक तथा दीर्घरोगीहरूको लागि घुम्ती स्वास्थ्य परीक्षण नियमित एवं प्रभावकारी रहेको छ ।
१२. बागमती प्रदेशभित्र स्थायी बसोबास गर्ने गृहिणी महिलाहरूको लागि सञ्चालनमा रहेको “गृहिणी महिला सशक्तीकरण कार्यक्रम यस खानीखोला गाउँपालिकामा लागु गरी विभिन्न वडामा महिलहरूलाई सिपमुलक तालिमको व्यवस्था गरिएको ।
१३.गाउँपालिकाका यूवाहरूलाई विभिन्न सिपमुलक तालिमबाट दक्ष बनाई स्वदेशमानै रोजगार गर्न सक्ने क्षमताको बनाएर यूवाहरूलाई विदेशजानबाट रोक्न सचेतनामुलक अभियानहरू सञ्चालन गरिएको छ ।
(ग) पूर्वाधार क्षेत्र
१. हामी सबैमा विधितै छ, हाम्रो गाउँपालिका भौगोलिक दृष्टिले आति नै विकट छ । यहाँको भु- बनौट, श्रोतको अपर्याप्ताले पनि हामी पूर्वाधार विकासको लागि गुणात्मक नतिजा हासिल गर्न सकिरहेको छैनौं । यद्यपी यसका वावजूद गत वर्षको एक वडा एक ठूला योजना छनौटले हाम्रो सबै वडामा बाह्रै महिना बाह काल (All Weather) चल्ने सडक निर्माणमा केही मद्दत पुगेको छ । गाउँपालिकाको लक्ष्य अनुरूप सँघ तथा प्रदेश सरकारको सहयोगमा बन्दै गरेको जनमुक्ति मार्ग, ठूला दुर्लुङ र खानीखोला पूल, च्याल्टी-फलामेटार-ताल्ढुंगा, खोपासी-ताल्ढुंगा, खानीखोला करिडोर, सुकुमफेदी महाँकाल सडकको शुरुवातले हामीलाई निकै नै उत्साही बनाएको छ । गाउँपालिका केन्द्र ताल्ढुंगा बजार ( वडा नं. ५ र ६ मा निर्माणाधिन उदयीमान शहरी विकास कार्यक्रम हाम्रो अत्यन्तै गर्विलो उपलब्धि हो । यसलाई विवादरहित ढंगले अघि बढाउने हामी सबै एकीकृत दायित्व हो र हुन आउँछ ।
२. यस गाउँपालिकाको हाम्रो सरकारले गत आर्थिक वर्षमा लिइएको लक्ष्य अनुरूप सबैभन्दा दुर्गम वस्तिलाई सडक सञ्जालले जोड्नको लागि जुरे बाङ्गे-धनमना- पाकडोल- देउपालको नयाँ नाका खोल्ने, बाँसघारी जगथलीको नयाँ ट्र्याक जोड्ने कार्य शानदार ढंगले सम्पन्न भएको छ ।
३.गाउँपालिका सडक गुरुयोजना (MTMP) र स्वच्छ खानेपानी गुरूयोजना ( Wash Plan) निर्माण गरिएको छ ।
४. गत आर्थिक वर्ष गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि गरिएको प्रयत्नले सार्थकता पाएको छ । पालिकाको प्रशासकीय भवनको ठेक्का भई निर्माण कार्य शुरु भएको छ । वडा नं. २ को कार्यालय भवन निर्माण कार्य तिव्र ढंगले अगाडी बढेको छ भने वडा नं. १ को कार्यालय भवनको लागि जग्गा प्राप्ति भई ठेक्का कार्य गर्ने चरणमा प्रवेश गरेको छ ।
५. गाउँपालिकाको आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न हुने अन्ति चरणमा पुगेको छ भने फलामेटार स्वास्थ्य चौकीको आधुनिक भवन र वडा नं. ६ को देउराली स्वास्थ्य चौकी भवन सम्पन्न भई सञ्चालनमा ल्याइएको छ । ६. यस आर्थिक वर्षको आरम्भकालैबाट गरिएको हाम्रो जोडदार प्रयासबाट गाउँपालिका विद्युतिकरण कार्य तीव्र रूपले अगाडी बढेको छ र हालसम्म १००० घरधुरीमा केन्द्रीय विद्युतिकरण भइसकेको छ ।
७. गाउँपालिका केन्द्र तालढुङ्गालाई संचारको सेवा व्यवस्थित गर्न मकवानपुरको वल्देउमा नेपाल टेलिकमको नयाँ टावर निर्माण भई संचालनको प्रक्रियामा रहेको छ ।
(घ) वातावरण तथा विपद व्यवस्थापन
१. गएको आर्थिक वर्ष हाम्रो लागि प्रकृतिको प्रकोपका कारण ठूलो धनजनको क्षति भयो । बाढी पहिरो र आगलागी जस्ता घट्नाबाट हाम्रा नागरिकहरू पीडित भए । ५ जना नागरिकले बाढिबाट ज्यान गुमाउनुका साथै खानीखोला दोस्रो लघुजलविद्युतको भवन क्षति भई विद्युत अवरुद्ध हुन पुग्यो । आगलागी र बाढिबाट क्षतिग्रस्त नागरिकको लागि राहत स्वरूप विपद व्यवस्थापन समितिको सिफारिस आधारमा गाउँपालिकाले यस आर्थिक वर्षमा ६८ जनालाई रु.२६ लाख प्रदान गरिएको छ र आगामी संभावित विपदको जोखिम न्युनिकरणको लागि पनि गाउँपालिका सरकारको तर्फबाट विपद प्रतिकार्य कार्यक्रमहरू गरिएको अवस्था छ ।
(ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१. गाउँपालिकाको सेवा प्रवाहलाई अझ नियमित एवं सुव्यवस्थित गर्न वडाबाटै कार्यसम्पादनको जिम्मेवारी तोकिएको कर्मचारीहरूलाई आफ्नै कार्यक्षेत्रमा बढी जिम्मेवारी बनाउन वडा अध्यक्ष मार्फत नै हाजिरि प्रमाणित गर्ने बन्दोवस्त मिलाईएको छ ।
२. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८०.२५ अंक प्राप्त गरी काभ्रेपलाञ्चोक जिल्ला भरीकै उत्कृष्ट गाउँपालिका हुन सफल भई सम्मानित भएको ।
३. महालेखा परिक्षकको बेरुजु प्रतिवेदनमा हाल सम्मकै कम बेरुजु (१.३%) ल्याउन सफल भएको ।
समग्रमा “हामी बनाउँछौँ, हाम्रो खानीखोला” अभियान अगाडी बढेको छ ।
सभाका सदस्यज्यूहरू,
अब म गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति प्रस्तुत गर्न चाहन्छुः
४. वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति
४. १ नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेखित नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानु पर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, सोह्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम तयार पारिएको छ ।
४.२ गाउँपालिकाको सहभागितामूलक योजना सहभागितामूलक योजना तर्जुमा तथा लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय शासन व्यवस्थाको मर्म अनुरुप राष्ट्रिय अखण्डता, • सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा अधिकाधिक रूपमा सहभागिता गराई नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशित गरे अनुरुप प्रक्रिया मार्फत टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी गरी टोल तथा बस्ती स्तरबाट छनौट भई आएका योजनाहरूको प्राथमीकरण गरिएको छ ।
४.३ गाउँपालिका भित्रका आवश्यक सम्भाव्य स्रोतहरूको समुचित पहिचान गरी आपसी परामर्शको आधारमा नीति, कार्यक्रम तर्जुमा गरिएको छ ।
५. सोंच
“हामी बनाउँछौँ हाम्रो खानीखोला” भन्ने मूल नारालाई सम्पूर्ण खानीखोलाबा नागरिकहरूको साझा नाराको रूपमा स्थापित गरी सोही बमोजिम सम्पूर्ण नागरिकलाई विकास र परिवर्तनको मार्गतर्फ एकीकृत र केन्द्रीकृत हुने वातावरण सिर्जना गरी स्वस्थ, स्वच्छ, सभ्य एवम् समुन्नत खानीखोला सबै दृष्टिले सुविधा सम्पन्न बनाउने सोंच यस नीति तथा कार्यक्रमले बोकेको छ ।
६. लक्ष्य
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गरि रहँदा यस गाउँपालिकालाई समुन्नत, समृद्ध र आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम र योजनाहरूलाई प्राथमिकता दिइएको छ । जनताबाट प्रत्यक्ष माग भएका तथा यस गाउँपालिकाको दीर्घकालीन महत्वका योजनाका रूपमा पहिचान भएका योजना तथा कार्यक्रमहरूलाई समावेश गरी यस गाउँपालिकाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरेको व्यहोरा अवगत गराउँछु । “भौतिक पूर्वाधार युक्तः बेरोजगार मुक्त” उत्पादनले भरिपूर्ण समावेशी समानुपातिक चरित्र बोकेको, उद्यमशील नागरिक, गरिबी र विभेद रहित खानीखोला निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।
गाउँसभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०६१ / ०८२ को विषयगत एवम् क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
७. आर्थिक विकास
नेपालका सबै निर्वाचित निकाय एवम् राजनितीकर्मीहरूले आर्थिक समृद्धि विषयलाई आफ्नो प्रमुख एजेण्डाको रूपमा प्रस्तुत गरि गरिरहेको कुरा हामीमा सर्व विदितै छ तर समृद्धिको आधार समृद्धिको खाका र समृद्धि सम्बन्धी ठोस योजना बन्न नसक्दा फेरि समृद्धि केवल राजनीतिक एवम् चुनावी भाषणको मिठो शब्द बाहेक केही बन्न नसकेको आजको तितो यथार्थ हो । यसर्थ खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रूपमा केन्द्रित गर्न चाहि रहेको छ जसको निम्ति तपसिल बमोजिमको नीति लिइएको छ ।
(क) कृषि
१. यस गाउँपालिकाको नागरिकको आर्थिक जीवनको स्तरवृद्धि गर्नका लागि गाउँपालिकाले कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको र यस कार्यक्रम प्रति किसानहरूको व्यापक आकर्षण भएकोले उक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ / दिदै लगिनेछ । साथै कफीलाई गाउँपालिकाको पहिचान हुने गरी ब्राण्डिङ र लेभलिङ्ग गरी राष्ट्रिय अन्तराष्ट्रिय बजारमा निर्यात गर्न पहल गरिन्छ ।
०४. खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तार गरिनेछ ।
५. कृषि तथा पशुपंक्षी तथ्याङ्क अद्यावधिक गरी किसान सूचीकरणलाई व्यवस्थित गरिँदै लगिनेछ ।
६. गाउँपालिकाको केन्द्रमा किसानहरूद्वारा उत्पादित वस्तुहरूलाई व्यवस्थित एवम् बजारीकरण गर्न स्थापना भएका कृषि हाट बजारलाई थप प्रभावकारी ढंगले सञ्चालनमा ल्याइनेछ ।
७. किसानहरूलाई कृषि समूह र सहकारीमा सङ्गठित गरी उपलब्ध खेतीयोग्य जमिनका साथै बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन (कागती र खयर) बढाउने कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
(ख) पशुपंक्षी
१. पशु पालन क्षेत्रमा गाईभैंसी तथा बाखा पालनको लागि अति अनुकुल वातावरण भएकोले दूध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।
२. पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिनेछ । औषधी र खोप सेवालाई प्रभावकारी बनाइनेछ ।
३. रेबिज, लम्पिस्किन जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।
४. पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपंक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत माछाका भुरा, उन्नत घाँसका बिउँ बेर्ना, दाना, औषधि खोप लगायतका सामग्रीको प्रबन्ध गरिनेछ ।
५. दूधको व्यवस्थित भण्डारण गर्न चिस्यानकेन्द्र स्थापना गरिनेछ र दूग्धजन्य उद्योग स्थापना गरिनेछ ।
(ग) सिंचाई
१. खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरूमा अनिवार्य सिंचाईको व्यवस्था गरिनेछ । भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आँपटार, बेलटार, महादेवटार, महाङ्काल, बोरनबेसी, तालढुङ्गा, हात्तीसार, माझीटार, सतिघाट, बाहुनबिर्ता, बलदेउ जस्ता फाँटहरूमा सिंचाईको उचित प्रवन्ध मिलाइनेछ ।
(घ) उद्योग, व्यापार तथा व्यवसाय
१. स्थानीय उत्पादकत्व वृद्धी गराई बजारीकरणमा सहजीकरण गर्नका लागि स्थापना गरिएको स्थानीय उत्पादन खरीद बिक्री केन्द्रलाई निरन्तरता दिइनेछ / दिदै लगिनेछ ।
२. आर्थिक वर्ष २०८१ / ०८२ मा अन्य सबै प्रकारको अनुदानलाई घटाउँदै उत्पादनमा आधारित अनुदानलाई थप स्थापित र विस्तार गर्न खुवामा पनि प्रति विक्री मूल्यको १% अनुदान प्रदान गर्न व्यवस्था मिलाइनेछ ।
३. खानीखोलामा उत्पादित कफी र खुवालाई खानीखोलाकै आफ्नै पहिचान खुल्ने गरी ब्राण्डिङ्ग र लेभलिङ्ग गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
४. गाउँपालिका भित्र भएका ढुङ्गा, गिट्टी, बालुवा र नदीजन्य पदार्थ उत्खनन् गरी आयोजनाहरूमा प्रयोग गरे बापत आयोजनामा प्रयोग भएको परिमाणका आधारमा शुल्क लिने नीति लिइनेछ र नदीजन्य पदार्थ ठक्का गरी पालिकाको आन्तरिक आम्दानी बृद्धी गराइनेछ ।
५. दूध तथा दूध जन्य पदार्थको उत्पादनलाई केन्द्रीकृत गर्न उद्योग स्थापना गरिनुका साथै कार्यविधि निर्माण गरी साना उद्योगलाई प्रोत्साहन अनुदानको व्यवस्था मिलाइनेछ ।
६. यस गाउँपालिकामा जन्मनु भई गाउँपालिकाभित्र र गाउँपालिका बाहिर रहनु भएका व्यवसायीहरुलाई यसै गाउँपालिकामा सामूहिक लगानी गरी व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई लगानीमा आकर्षित गरिनेछ ।
७. खानीखोला गाउँपालिका आफैं खानी नै खानी भएको भूगोलको अर्को नाम हो । यहाँ तामाखानी, फलामखानी, चुनखानीको सम्भाव्यता सम्बन्धी प्रारम्भिक अध्ययन भइसकेको छ । यसर्थ यहाँको खानीलाई उत्खनन गरी निर्यात गर्न सकेमा यहाँको आर्थिक विकासको लागि ठूलो मद्दत पुग्ने हुनाले सो सम्बन्धी योजना बनाई कार्यान्वयन गर्न पहल गरिनेछ ।
(ङ) पर्यटन
१. गाउँपालिका भित्रका सम्पूर्ण सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धनमा जोड दिइनेछ साथै भाषा, कला, संस्कृति तथा धर्म संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । भाषा, कला, साहित्य तथा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक तालिम, प्रतियोगितात्मक शोध तथा कार्यशाला कार्यक्रमहरू अगाडि बढाइनेछ ।
२. गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी, पौवा, सतल, कुवा पधेरो, अन्तिम दाह संस्कार गर्ने घाट सम्पदाहरूको पुनःनिर्माण तथा संरक्षण गरिनेछ ।
३. तामाङ सामुदायको संस्कृतिसँग जोडिएको अति लोकप्रिय बाजा डम्फु र सो डम्फुको नामसँग जोडिएको पेङदोर्जेको प्रतिमा सहित पहिचान झल्किने गरी पेङदोर्जे डम्फु पार्क निर्माण गरिनेछ ।
४. यस खानीखोला गाउँपालिकाबाट दस वर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगी सहादत प्राप्त गर्नु भएका महान् सहिदहरूको स्मृतिमा एक सहिद पार्क निर्माण गरिनेछ । सहिद, बेपत्ता तथा घाइते परिवारलाई रोजगारीमा प्राथमिकता दिइनेछ ।
५. गाउँपालिकाभित्र भिमसेनथानमा भिमसेनको मन्दिर स्थापना गरिनेछ र लाप्चेको चमेरे गुफा ( अर्विन्द गुफा संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।
६. गाउँपालिका क्षेत्रमा मनाइने जात्रा, मेला उत्सव लगायत स्थानीय पर्वहरूको प्रवर्द्धनका लागि आवश्यक प्रचार प्रसार गरी संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने कार्यक्रमको व्यवस्था गरिनेछ ।
७. जनसंख्या, भूगोल र सामुदायिक प्रभावलाई मूलयाङ्कन गरी गाउँपालिकास्तरीय पर्व विदा घोषणा गरिनेछ ।
८. खानीखोलाबासी नागरिकको सांस्कृतिक मूल्य, मान्यता र जागरणलाई संबोधन गर्ने गरी दशैं, ल्होसार र माघी जस्ता पर्वहरुको संरक्षण संवर्द्धन गरिनेछ र यहाँ रहेका सबै समुदायको भाषा, संस्कृति, धर्मको पहिचान झल्कने गतिविधिहरूको संरक्षण गर्नुका साथै प्रवर्द्धन गरिनेछ ।
९. गाउँपालिकाको पूर्व-पश्चिम – उत्तर – दक्षिण चारै सीमाना नाकामा सहिदगेट सहितको प्रवेशद्वार तथा गाउँपालिकाका महत्वपूर्ण स्थलहरूको परिचयको लागि Location Board राखिनेछ ।
१०. खानीखोला गाउँपालिका केन्द्र रहेको बस्ती तालढुङ्गा स्वयं एक ऐतिहासिक र आफैंमा आश्चर्य लाग्दो अनौठो ढुङ्गाबाट बनेको र छुट्टै परिचय बोकेको तथ्यलाई थप स्थापित गर्न र सोही मार्फत तालढुङ्गाको सौन्दर्य र पर्यटन विकासको सम्भावना रहेको अवस्थालाई कार्यक्रम मार्फत पर्यटन प्रवर्द्धन गरिनेछ ।
११. खानीखोला वडा नं. ६ नयाँबस्तीमा बुद्धमूर्ति निर्माण र खानीखोला वडा नं. ५ सिक्रे दोभानमा त्रिवेणी मन्दिर निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटन मार्फत पर्यटक आकर्षित गरिनेछ ।
(च) भूमि व्यवस्था, सहकारी तथा वित्तीय सेवा
१. यस गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन भई निस्सा समेत प्राप्त भइ सककोले सो विवरण अनुसार जग्गाको नाप नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गरिनेछ ।
२. गैरसरकारी संस्थाद्वारा सञ्चालन हुने कार्यक्रमहरू अनिवार्य रूपमा प्रस्तावका रूपमा पेश गर्नु पर्नेछ । गैरसरकारी संस्थाबाट प्रस्तावित कार्यक्रमको आवश्यकता र औचित्य पुष्ट्याइँ भएपछि स्वीकृति प्रदान गरिनेछ ।
३. गाउँपालिकाबाट स्वीकृत गैर सरकारी संस्थाको कार्यक्रमको लागत, लाभान्वित समूह, क्षेत्र, बजेट, योजनाका कार्यान्वयन तालिका, परियोजना सञ्चालन अवधि खुल्ने गरी संस्थाको फोकल पर्सनको नाम, सम्पर्क नम्बर सहितको योजना बोर्ड गाउँपालिकामा अनिवार्य राख्न लगाइनेछ ।
४. गाउँपालिका क्षेत्रभित्र रहेका ऐलानी पर्ति जग्गाको अभिलेखीकरण गरिनेछ । यस किसिमको जग्गाको संरक्षण र उचित प्रयोगमा पहल गरिनेछ । साविक नापी हुँदा आली, कान्ला कटाई नापिएका चार किल्ला कायम भएको जग्गालाई छुट जग्गाको रूपमा वर्गीकरण गरी जग्गाको आधारमा जग्गा धनी प्रमाण पुर्जाको व्यवस्था गर्ने नीतिलाई अगाडि बढाइनेछ । प्रमाणित नहुने ऐलानी पर्ति जग्गा प्रयोग गर्नु भएको हकमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरिनेछ ।
५. पालिकाभित्र रहेको बाँझो जमिनलाई उपयोगमा ल्याउन प्रोत्साहित गरिने छ । जमिनलाई उपयोग बिहिन अवस्थाको अन्त्य गर्न माटो परिक्षण गरी उपयुक्त कृषि उपज विकास गर्ने र उपयोगमा नल्याउनेलाई नीति बनाई जरिवाना तोकिनेछ ।
६. गाउँपालिका सडक गुरुयोजना (MTMP) निर्माण भई सकेकोले सडक गरूयोजना अन्तर्गत पर्ने सडक मापदण्ड अनुसार तोकिएको सडकहरूको जग्गाको लगत कट्टा गरिनेछ ।
(छ) श्रम, रोजगारी तथा गरिबी निवारण
१. यहाँको आर्थिक विकासको स्रोत र सम्भाव्यताको मूल पक्ष भनेकै कफी र पशुपालन क्षेत्र रहेको भन्ने विषय पहिचान भई सकेकोले कफी र पशुपालनतर्फ आम नागरिकलाई प्रोत्साहित गरी यसमा उद्यमशील बनाउने र गाउँपालिकाले उत्पादनको मूल क्षेत्र कफी र पशुपालनलाई नै ठानेर विशेष अनुदानको व्यवस्था गरिनेछ ।
२. खानीखोलाको अथाह जडिबुटीलाई उत्पादन तथा सङ्कलन गरी सामूहिक जडिबुटी खेती मार्फत परिचालन गरिनेछ र खानीखोला गाउँपालिकास्तरीय जडिबुटी केन्द्र स्थापना गरी आर्थिक स्रोतको माध्यम बनाइनेछ ।
३. वातावरणीय प्रभाव मूल्याङ्कन गरी गाउँपालिकाभित्र साझेदारीमा क्रसर उद्योग स्थापनालाई प्रोत्साहन गरिनेछ ।
४. खानीखोला बाहिर स्वदेश तथा विदेशमा रहेको युवाहरूलाई गाउँमा नै श्रम गर्ने उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने कार्यलाई अघि बढाइनेछ ।
५. गाउँपालिकाको बेरोजगार युवाहरूलाई रोजगार सेवा केन्द्रमा सूचीकृत गरी बेरोजगार युवाहरू मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गरिनेछ ।
६. बागमती प्रदेश सरकारद्वारा घोषणा गरिएका गृहिणी महिला सशक्तिकरण कार्यक्रम, युवा रोजगारी कार्यक्रम, खास क्षेत्र खास उत्पादन कार्यक्रम लगायतका विविध कार्यक्रममा साझेदारी गरी सञ्चालनमा ल्याइनेछ ।
८. सामाजिक विकास
क) शिक्षा
बालबालिका शिक्षा प्रति अभिभावकहरूलाई पूर्ण जिम्मेवारी बनाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै व्यवस्थापन समितिको भूमिकालाई थप प्रभावकारी बनाउने विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरूको बैठक राखिनेछ र विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरूलाई अन्तर पालिका शैक्षिक अवलोकन भ्रमण गरिनेछ ।
२. खानीखोला गाउँपालिकाको शैक्षिक स्तर उन्नतीका लागि माध्यमिक तहका विद्यालयहरूलाई आवसिय बनाउने नीति लिइनेछ । साथै आगामी तिन वर्ष भित्रमा कम विद्यार्थी भएका विद्यालयहरूलाई भौगोलिक अवस्था हेरी विद्यालय एकीकरण गर्दै लगिने तर्फ जोड दिइनेछ ।
३. माध्यमिक तहका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षा शिक्षण गर्ने विकल्प खुला गरिनेछ ।
४. प्राथमिक तहका कक्षालाई Digitalization गर्न शुरूआत गरेको योजनालाई आगामी दुई वर्ष भित्रमा समापन गरिनेछ ।
५. शिक्षाको मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्नका निम्ति पालिका स्तरीय परीक्षालाई प्रश्नपत्र निर्माण कार्यशालाहरूको आयोजना गरिनेछ ।
६. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवन उपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाइनेछ ।
७. गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागू गरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ ।
८. विद्यालयहरूको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइ सुविधा र आधारभूत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरूको पेशागत क्षमता विकासका लागि निरन्तर तालिम सञ्चालन गरिनेछ ।
९. विषयगत शिक्षकहरूको अभिलेख व्यवस्थापन गरी गाउँपालिकाको शैक्षिक विकासमा उनीहरूको अनुभवलाई उपयोग गरिनेछ ।
१०. सबै विद्यालयहरूमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ ।
११. सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाइनेछ ।
१२. आफ्ना बालबालिका र विद्यालयप्रतिको भूमिकाबारे जिम्मेवार बनाउन विद्यालय व्यवस्थापन समिति र अविभावक बीच निरन्तर अन्तक्रिया र अनुशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. “जसको कोही छैन उसको गाउँपालिका सरकार छ भन्ने मुलनाराका साथ अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।
१४. सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।
१५. गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।
१६. विद्यालयको भौतिक निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ र निर्माण आरम्भ गरिनेछ साथै आ.व. २०८१/०८२ मा दुईवटा विद्यालयमा छात्रावास सुरुवात गराइनेछ ।
१७. अविभावकसँग निरन्तर अन्तक्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावकसँग र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पुऱ्याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।
१८. आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।
१९. गाउँपालिकाका अल्पसङ्ख्यक र दलित समुदायबाट एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक/एक जनालाई स्नातक तहसम्मको अध्ययनको लागि दिदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२०. सामुदायिक विद्यालयका शिक्षण कार्यलाई गुणस्तरीय र परिणाममुखी बनाउन गाउँपालिका शिक्षा शाखा र सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरिनेछ । साथै गाउँपालिकाको सम्पूर्ण विद्यालयका शैक्षिक कार्यक्रममा एक रुपता ल्याउन शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न गराउन लगाइनेछ ।
ख) स्वास्थ्य
१. सुत्केरी महिलालाई प्रदान गरिएको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तर दिईनेछ ।
२. खानीखोला गाउँपालिकास्तरीय निर्माणाधीन अधुरो अस्पताल भवन सङ्घ तथा प्रदेश सरकारसँग पहल गरी छिटै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
३. खानीखोला गाउँपालिकाका सबै वडाहरुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिनेछ ।
४. खानीखोला गाउँपालिकामा विगत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको मासिक घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५. वर्षमा एक पटक खानीखोलास्तरीय एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
६. नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ ।
७. गाउँपालिका क्षेत्रभित्र हुने परम्परागत औषधिजन्य वनस्पतिको संरक्षण, जडिबुटी खेती प्रवर्द्धन र प्रशोधनका कार्यहरू सञ्चालन गरिनेछ ।
८. महिला स्वयंसेविकाहरूको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरूको सेवालाई प्रभावकारी तुल्याइनेछ ।
(ग) खानेपानी तथा सरसफाई
१. खानीखोला सरकारको मूल अभिभारा “एक घर एक धारा” भन्ने मूल नारालाई सफलयुक्त पार्न विभिन्न साझेदारी संस्थासँग समन्वय गरी स्वच्छ खानेपानी “एक घर, एक धारा” लाई निरन्तर विस्तार गर्दै लगिनेछ र सो कार्यक्रममा आगामी आर्थिक ३ ( तीन ) वर्ष भित्रमा सम्पन्न गरि सक्ने लक्ष्य लिइएको छ ।
२. खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहद् खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ । साना खानेपानी आयोजना निर्माणलाई प्राथमिकतामा राखी उचित बजेट विनियोजन गरिनेछ ।
३. खानेपानीको लागि नेवा (NEWAH) संस्था सँग सहकार्य गरी ७०/३० प्रतिशत साझेदारी लागतमा बृहत खानेपानी आयोजना कार्यान्वयन गरिनेछ ।
(घ) लैङ्गिक समानता र सामाजिक समावेशिकरण
१. “समृद्ध महिला उन्नत गाउँपालिका ” नारालाई सार्थक बनाउन महिला उद्यमी निर्माण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
२. अपाङ्गता भएका व्यक्तिलाई सीप, अवसर र सहयोगी सामग्री सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
३. जेष्ठ नागरिक विश्राम स्थल चौतारो निर्माणमा जोड दिइनेछ र विभिन्न ठाउँ मन्दिरमा प्रतिक्षालय बनाइनेछ ।
४. बालमैत्री स्थानीय शासनको सूचकहरूलाई सहयोग पुग्ने कार्यक्रमहरू तय गर्दै आ.व २०७१/०८२ बाट पूर्ण रूपमा बालमैत्री बनाउने नीति प्राथमिकताका साथ कार्यन्वयन गरिनेछ । प्रत्येक वडा र विद्यालयम बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप बाल क्लबहरू तथा बाल क्लब सञ्जाल गठन गरिनेछ । साथै सबै माध्यमिक विद्यालयमा विद्यार्थी सञ्चालित सामूहिक कोष सञ्चालनमा ल्याइनेछ ।
५. अपाङ्ग बालबालिका, अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
६. बालविवाह तथा बहुविवाहलाई निरुत्साहित गर्ने असल मनशाय सहित विवाह गर्नुपूर्व अनिवार्य रूपमा वडा कार्यालयबाट विवाह अनुमति सिफारिस लिएर मात्र विवाह गर्ने पद्धति विकास गरिनेछ ।
७. “विवाहवारी २० वर्ष पारी’ भन्ने मूल नाराका साथ बाल विवाह रोकथामका लागि सचेतना कार्यक्रम आयोजना गरिनेछ ।
८. यस गाउँपालिकाका गर्भवती महिलाहरुको आकस्मिक उद्धारको लागि राष्ट्रपति महिला उद्धार कार्यक्रममा यस गाउँपालिका पनि सूचीकृत गर्न महिला, बालबालिका मन्त्रालयमा विगतमा गरिएको पहलमा निरन्तरता दिइनेछ ।
(ङ) युवा तथा खेलकुद
१. खेलकुदको विकास गर्न विभिन्न खेलहरूका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ ।
२. विपन्न, गरिब र सुकुम्बासी परिवारका युवाहरूलाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, व्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरू प्रदान गरी गरिबी न्यूनीकरण र जिवीकोपार्जनमा सहजीकरण गरिनेछ ।
३. युवा क्लब गठन तथा युवा स्वयंसेवक परिचालन र युवाको मुद्दामा बहस पैरवी कार्यक्रम सञ्चालन गरिनेछ ।
४. सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी गाउँपालिकास्तरीय एक रङ्गशाला निर्माण गरिनेछ ।
५. गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी गाउँपालिकाभित्रका खेलकुदका गतिविधिलाई व्यवस्थित बनाउँदै लगिनेछ ।
६. गाउँपालिकास्तरीय खानीखोला गाउँपालिका कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
७. गाउँपालिकाका सम्पूर्ण खेलकुदसँग सम्बन्धित गतिविधिहरु खेलकुद विकास समिति मार्फत सञ्चालन गरिनेछ ।
८. युवा स्वयम्सेवक विकास, युवा क्लब गठन तथा नमूना संसद् अभ्यास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
च) संस्कृति
१. गाउँपालिकाभित्र आयोजना हुने महोत्सवहरूमा विविध जातीय भेषभुषा, कला साहित्य, सङ्गीत लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।
२. गाउँपालिकाका सबै जाति, आदिवासी जनजाति, अति सीमान्तकृत, सीमान्तकृत समुदायको धर्म, भाषा, संस्कृति, परम्परा, कला, साहित्य, परम्परागत ज्ञान, सीप, क्षमता, अनुभव र योग्यताको संरक्षण र संवद्र्धन गरिनेछ ।
३. गाउँपालिका भित्र बोलिने सबै भाषा, सबै समुदायका परम्परागत पर्वहरु र झाँकीहरु, डम्फु, खैंजडी, टुङ्गना लगायतका बाजाहरुको समूह बनाई संरक्षण गरिनेछ साथै लामा, ताम्बा, बोम्बो, कोसे लगायतका धार्मिक एवम् सांस्कृतिक क्रियाकलापको संरक्षण र प्रतिस्पर्धात्मक किसिमले पुनःस्थापित गरिनेछ ।
छ) अपाङ्ग, जेष्ठ नागरिक तथा महिला बालबालिका
१. महिला, बालबालिका, अल्पसङ्ख्यक, भूमिहीन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिष्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
२. ऐतिहासिक कालदेखि दलित तथा शिल्पी समुदायले जीवन निर्वाहको रूपमा अपनाइ आएका परम्परागत पेशालाई व्यावसायिक उद्यमको रूपमा विकास गर्न पूँजी लगानी सहयोग गरिनेछ ।
३. विकासका कार्यक्रमहरूमा टोल विकास संस्थाहरूलाई प्रभावकारी रूपमा सहभागी गराइनेछ, सघन परिचालन गरिनेछ साथै प्रत्येक बस्ती टोल सुधार समिति गठन गरी आफ्नो विकासको अपनत्व आफैले लिने वातावरण बनाइनेछ ।
४. “हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान” भन्ने अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ । पारिवारिक हिंसाद्वारा पीडितको संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।
५. महिला उद्यमशीलता विकासका लागि महिलाद्वारा प्रवद्र्धित व्यवसायमा निश्चित शत प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
६. गर्भवती महिलाको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
७. गाउँपालिका तथा वडास्तरीय बाल क्लब सञ्जाललाई प्रभावकारी रूपमा परिचालन गरिनेछ ।
८. दलित तथा उत्पीडनमा पारिएका उपेक्षित समुदायको क्षमता विकास, सचेतना कार्यक्रम, सीप विकास तालिम, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरिनेछ र दलित समुदायको परम्परागत सीप तथा ज्ञानलाई आधुनिकीकरण गरिनेछ ।
(ज) सामाजिक सुरक्षा तथा पञ्जीकरण
१. गाउँपालिका सरकारले जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
९. पूर्वाधार विकास
विगत लामो समय देखि विकट एवं दुर्गम भनि परिचय बनाएको यस पालिकाको परिचय बदल्नका लागि पूर्वाधारको विकासको क्षेत्रमा आमुल उन्नती गर्न सम्पूर्ण पहल केन्द्रित गरिनेछ ।
(क) भवन, आवास तथा बस्ती विकास
१. गाउँपालिकाको प्रशासकीय भवन र २ नं. वडा कार्यालयको भवनहरू छिटै सम्पन्न गरिनेछ र ठेक्का हुन बाँकी रहेका वडा कार्यालयहरूलाई छिट्टै ठेक्का गरिनेछ ।
२. बाँकी वडा कार्यालय भवन निर्माण गर्न जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा वडा कार्यालय भवन निर्माण कार्यलाई आगामी ३ वर्षभित्र पूर्णता दिइनेछ ।
३. बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको ताल्ढुंगा उदयीमान सहरी बिकास कार्यक्रमलाई यथाशिघ्र सफल बनाउने तर्फ जोड दिइनेछ । साथै गाउँपालिकाको सहरी विकासको सम्भावना बोकेको जगथली, महाङ्काल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइनेछ ।
(ख) सडक, पुल तथा यातायात
१. निर्माणाधिन जनमुक्ति मार्ग, सिक्रेदोभान पुल, खानीखोला र दुर्लुङ खोला पुल सम्पन्न हुँदा खानीखोला विकासमा नयाँ क्रान्ती नै थपिने भएकोले उक्त आयोजना समयमै सम्पन्न गर्न गाउँपालिका सरकारले सम्पूर्ण पहल गरिनेछ ।
२. खानीखोला गाउँपालिकाको गौरवको योजना विन्दु जोडिने खोपासी- ताल्ढुंगा सडक कालोपत्र गर्न, गाउँपालिकाको मेरूदण्ड सडक खानीखोला करिडोर च्याल्टी- फलामेटार-ताल्ढुंगा सडक, ताल्ढुंगा – महाङ्काल- हेल्टार वडा नं. ७ हुँदै बेथानचोक सडक खजुलीवेसी, धाप्ले मिल्चे, दयाँगाउ महादेवटार देउराली कुस्पा, तालढुङ्गा, जुरे भाड्टार कुपिन्टारलाई पालिकाको उच्च प्राथमिकतामा राखी स्तरोन्नती गरिनेछ ।
३. खानीखोला गाउँपालिका भित्रका सडक पुलहरूलाई निर्माणको लागि पहल गरिनेछ र यस गाउँपालिकाको खानीखोला करिडोर अन्तर्गत बेलिबिज्रहरू निर्माण गरिनेछ साथै बाहुनबिर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि सङ्घ र प्रदेशसँग समन्वय गरी आगामी तीन वर्षभित्र पक्की पुल निर्माण गरिनेछ ।
४. सबै वडा केन्द्रहरूमा सडकको पहुँच सुलभ बनाउन यस अघि गरिएका प्रयासलाई निरन्तरता दिई सोही अनुरूपको कार्यक्रम बनाइनेछ ।
५. आगामी तीन वर्षभित्र सबै वडा केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पूर्वाधार विकास गरिनेछ ।
६. आगामी तीन वर्षभित्र सबै बस्तीहरूमा सडक सञ्जालसँग जोडिने व्यवस्था मिलाइनेछ ।
७. खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रूपमा विस्तार एवम् विकास गरी प्रदेश राजधानी हेटौंडासम्म जोडिनेछ ।
८. गाउँपालिका भित्रका झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्थानहरूमा आगामी ४ वर्ष भित्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
९. सडक एवम् अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी सङ्घ र प्रदेशसँग समपूरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।
१०. सडक निर्माण गर्दा दिगो विकासको नीति बमोजिम योजनाको २ प्रतिशत बायो इन्जिनियरिङ्ग सम्बन्धी कार्यक्रम लागू गरिनेछ ।
१२. गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरवका आयोजनाका रूपमा कार्यान्वयन गरिनेछ ।
१३. गाउँपालिकाभित्रका महत्वपूर्ण सडक आयोजनाको नयाँ ट्र्याक खोल्ने भन्दा पनि भएका सडकलाई दीगो र मजबुद बनाउन नाला, ग्ग्राबेलिङ, सोलिङ, ढलान, ग्याबिन आदिमा प्राथमिकता दिइनेछ ।
१४. गाउँपालिकाभित्रका सडकहरु जुनसुकै बेला क्षति भई आवागमन अवरुद्ध हुने भएकाले यातायात सुचारु गर्न आपतकालीन सडक मर्मत सम्भार कोष सम्बन्धी कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
(ग) जलस्रोत तथा ऊर्जा
१. आर्थिक वर्ष ०८१/०८२ भित्रै खानीखोला गाउँपालिकाभरि केन्द्रीय विद्युत प्रसारण लाइन सबै घर धुरीमा विस्तार गर्ने कार्य सम्पन्न गरी पूर्ण विद्युतिकरण घोषणा गरिनेछ ।
२. गाउँपालिकाको केन्द्र तालढुङ्गा, जगथली र महाङ्काल लगायतका मुख्य बजार क्षेत्रमा वैकल्पिक ऊर्जा मार्फत सौर्य सडक बत्तीको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
३. गाउँपालिका भित्रको लघु जलविद्युत आयोजनाहरूको संरक्षण एवम् सम्वद्र्धन गरी उक्त आयोजनाबाट उत्पादित उर्जा स्रोतलाई केन्द्रीय प्रसारण लाइनसँग जोडिनेछ ।
४. पोखरी संरक्षण, पहिरो तथा खहरे नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण, नदी उकास क्षेत्रको संरक्षण गरी जल, जमिन, जङ्गल र जलाधारको संरक्षण गरिनेछ ।
(घ) सूचना तथा सञ्चार प्रविधि
१. सबै वडाहरूमा इन्टरनेट सेवाको अभावले गर्दा अनलाइन मार्फत दिइने सेवा प्रवाहमा बाधा पर्न गएकोले सम्पूर्ण वडाहरूमा इन्टरनेट सेवा विस्तार गरी अनलाइन सेवाको विकास गरिनेछ ।
२. गाउँपालिकाभित्र रहेको एक मात्र संचार सेवा एकदमै कमजोर तथा फितलो भई गाउँपालिका निवासी सम्पूर्ण नागरिकको दैनिक सूचनामा बाधा परेकोले सञ्चार सेवालाई थप व्यवस्थित गर्न थप सञ्चार टावरको विस्तार गरिनेछ ।
३. चुस्त, दुरुस्त गति तथा पारदर्शीताका साथ सेवा प्रवाह दिन विभिन्न सेवाहरू अनलाइन / अफलाइन सफ्टवेयर मार्फत प्रदान गरिनेछ ।
४. डिजिटल गाउँपालिका निर्माणमा सिङ्गो गाउँपालिकाको जनशक्ति स्रोत साधनलाई समेत परिचालन गरी सफ्टवेयरमा केन्द्रीकृत गरिनेछ र गाउँपालिकाको वार्षिक Video Documentary निर्माण गरी अभिलेखिकरण गरिनेछ ।
५. सबै वडाको पञ्जीकरण सम्बन्धी सेवा प्रवाह व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत गरिनेछ ।
१०. वन, वातावरण तथा विपद् व्यवस्थापन
(क) भू—संरक्षण तथा जैविक विविधता
१. वन अतिक्रमण तथा डढेलो नियन्त्रणलाई निरुत्साहित गर्न वृक्षरोपणका कार्यक्रम लागू गरिनेछ । गाउँपालिका भित्रका सामुदायिक वनहरूलाई जिम्मेवारी बनाउन आवश्यक कार्यहरू गरिनेछ ।
२. वन क्षेत्रबाट बग्ने नदी खोला र खोल्सीहरूमा थुपारिएका ढुङ्गा, गिट्टी, वालुवा जस्ता नदी जन्य पदार्थहरूको सोही स्थानमा तटबन्ध बनाउनुको साथै बाँकी नदीजन्य पदार्थ सार्वजनिक पूर्वाधार निर्माणमा लगाउनुका साथै बिक्री वितरण समेत गरी गाउँपालिकाको आन्तरिक स्रोत बढाइनेछ ।
३. “हरियो वन फलफूलको मान: खानीखोला गाउँपालिकाको आफ्नो छुट्टै शान” भन्ने मूल नाराका साथ प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा विरुवा रोप्ने नीति ल्याइनेछ ।
४. वनलाई केवल वनको रूपमा मात्र संरक्षण गर्ने परम्परालाई परिमार्जन गर्दै वन क्षेत्रलाई उत्पादन र अर्थोपार्जनको क्षेत्रको रूपमा विकास गर्नका लागि सामुदायिक वनभित्र व्यावसायिक र उत्पादनमूलक गतिविधि सञ्चालन गर्न सामुदायिक र कबुलियती वनलाई परिचालन गर्दै वन सम्पदालाई एग्रो फरेस्ट्रीको सिद्धान्त बमोजिम वन सरसफाई सहित फलफूल रोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
५. भू–संरक्षण, जलाधार व्यवस्थापन र जल उत्पन्न प्रकोप न्यूनीकरणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन असर न्यूनीकरण तथा जैविक विविधता संरक्षणका लागि दीर्घकालीन योजना बनाई कार्यान्वयनको पहल गरिनेछ ।
(ख) फोहोरमैला व्यवस्थापन
१. गाउँपालिकाको तालढुङ्गा र अन्य बजार क्षेत्र लगायतको फोहोरलाई व्यवस्थित गर्न वातावरणीय प्रभाव मूलयाङकन गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।
२. शैचालयजन्य फोहोर व्यवस्थापनको लागि प्रत्येक घरलाई आफ्नै सेफ्टी ट्याङ्की बनाउनु पर्ने कार्यलाई अनिवार्य बनाइनेछ साथै शौचालयजन्य फोहोर नदी वा खोल्सीहरूमा व्यवस्थापन गर्न पाइने छैन ।
३. “हाम्रो घरको फोहोर हामी आफैं व्यवस्थापन गछौं”, “हाम्रो टोलको फोहोर हामी आफैँ व्यवस्थापन गछौँ”, “हाम्रो वडाको फोहोर हामी आफैं व्यवस्थापन गर्छौं भन्ने मूल नाराका साथ सम्पूर्ण गाउँपालिकाबासीहरूले हामी सफा, स्वच्छ र स्वस्थ्य रहन्छौं भन्ने प्रतिवद्धताको निम्ति अपिल गरिनेछ ।
४. हरेक वडामा स्वास्थ्य सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
५. आकस्मिक प्रकोपजन्य रोग नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
(ग) विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन
१. गाउँपालिकाभित्र बाढी पहिरो, चट्याङ, हावाहुरी, आगलागी, भूकम्प आदि विपद्का घटनाहरू निरन्तर रुपले भइरहने हुनाले प्राकृतिक विपद् न्यूनीकरणको सम्भावनालाई अध्ययन गरी विपद् न्यूनीकरणको लागि आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिका क्षेत्रको विपद् जोखिम सर्भेक्षण गर्ने र सोका आधारमा योजना निर्माण गरी कार्यान्वयन गरिनेछ र भू–संरक्षणका लागि वृक्षरोपण, तटबन्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
३. भुकम्प, बाढी, पहिरो, आगलागि, चटयाङ, महामारी, दुर्घट्ना जस्ता विभिन्न प्रकारक प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराइनेछ जसका लागि गाउँपालिका विपद् व्यवस्थापन कोष स्थापना गरिनेछ ।
४. संभावित विपदको प्रतिकार्यको लागि आवश्यक व्यवस्थापकीय कार्यलाई तयारी हालतमा राख्न आवश्यक उपकरण एवं राहत सामाग्री खरिद गरिनेछ र विपद विरुद्द स्वयंसेवक टिम निर्माण गरी परिचालन गरिनेछ ।
५. विपद् विरुद्धको प्रतिकार्यलाई व्यवस्थित बनाउन आवश्यक योजना निर्माण गरिनेछ र रेड क्रस लगायतका संस्थासँग समन्वय गरी विपद् पूर्ण अवस्थामा गरिने उद्धार तथा पुनःस्थापना कार्यलाई छिटो र छरितो बनाउन विपद् प्रतिकार्य टिम निर्माण गरिनेछ ।
११. सुशासन तथा संस्थागत क्षमता विकास
(क) नीति, कानुन, न्याय तथा सुशासन
१. खानीखोला गाउँपालिकामा भएका असल अभ्यास अनुकरणीय अभ्यास र सम्पदाहरूको बारेमा यहाँ जनपक्षीय कार्य, सार्वजनिक सूचना एवं पालिकाको गतिविधिहरूको बारेमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरिनेछ ।
२. आफ्नो कार्यालयको कार्य प्रगति, समस्या, चुनौति र समस्या सामाधान सहितको लागि विषयगत शाखाको मासिक बैठक राखिनेछ ।
३. कर्मचारीहरुको क्षमता र संस्थागत क्षमता विकासका योजना निर्माण गरी सञ्चालन गरिनेछ ।
४. भौगोलिक विकटताका कारण कर्मचारी अभावले कार्यालय कामकाजमा बाधा पर्ने हुँदा थप जिम्मेवारीको आधारमा कर्मचारी प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको यस आ.व. मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
५. गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय एवम् विद्यालय, स्वास्थ्य चौकी आदिमा सूचना अधिकारी तोकी हरेक सूचना प्रवाह गरिनेछ ।
६. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रूपमा सोको सुनुवाई गरिनेछ ।
७. गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिनेछ ।
८. गाउँपालिकाले प्रत्येक ४-४ महिनामा सार्वजनिक सुनुवाई र आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्षको पहिलो चौमासिकको पहिलो महिनामा नै सामाजिक परिक्षण अनिवार्य रूपमा सञ्चालन गरिनेछ ।
९. उपभोक्ता समितिहरूका पदाधिकारीलाई सार्वजनिक निर्माण तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
१०. गाउँपालिकाको स्वीकृत बजेटको इस्टिमेट तयार गरेर मात्र उपभोक्ता समितिसँग सम्झौता गर्ने, यस किसिमको इस्टिमेट तयार गर्दा उपभोक्ताले बुझ्ने गरी नेपाली भाषामा तयार गरिनेछ ।
११. खानीखोला गाउँपालिकाको बेरुजु न्यूनीकरणका लागि बेरुजु फर्छयौट् समिति मार्फत न्यूनीकरण तर्फ प्रक्रिया अघि बढाइनेछ ।
१२. न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादनमा जोड दिइनेछ र आवश्यकता अनुसार नीतिगत तथा कानुनी प्रबन्ध मिलाइनेछ ।
१३. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी र वडास्तरीय मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गर्न उचित तालिमको व्यवस्था गरिनेछ ।
१४. प्रारम्भिक विवादहरु वडामा क्रियाशील मेलमिलाप कर्ताबाट समाधान गर्ने नीति लिइनेछ ।
१५. हालसम्म स्वीकृत भई पारित भएका कानुनहरुलाई सङ्ग्रहीत गरी स्थानीय कानुन सङ्ग्रह प्रकाशन गरिनेछ ।
(ख) सङ्गठन तथा क्षमता विकास, जनशक्ती व्यवस्थापन र सेवा प्रवाह
१. कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Serve) गरी सोको प्रतिवेदन कार्यन्वयनमा ल्याइनेछ ।
२. गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी, कृषक, कृषक समूह, कृषि फर्म, सहकारी, स्वास्थ्य संस्था एवम् शैक्षिक संस्थाहरूलाई पुरस्कारको व्यवस्था मिलाइनेछ ।
३. गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कर्मचारीहरू नभई सेवाग्राही घर फर्कनु पर्ने अवस्थाको अन्त्य गर्दै लगिनेछ ।
४. गाउँपालिकाको सार्वजनिक सेवाको सन्दर्भमा सम्पूर्ण विवरण खुल्ने गरी गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा नागरिक वडापत्र राखिनेछ ।
५. खानीखोला गाउँपालिकाको वडा नं. १, ३, ६ र ७ सबैभन्दा दुर्गम, भौगोलिक दृटिले सबैभन्दा ठूलो भूगोल समेटिएको, जनसङ्ख्याका आधारमा धेरै जनसङ्ख्या रहेको र कतिपय बस्तीबाट वडा कार्यालयसम्म सेवा लिन न्यूनतम तीन घण्टासम्म समय लाग्ने भएकाले यी वडाहरुको पुनःसंरचना गर्न सरोकारवाला नागरिक, राजनीतिक दलको समेत सहमतिमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पेश गरिनेछ ।
(ग) राजस्व तथा स्रोत परिचालन
१. गाउँपालिकाको आन्तरिक आय बढाउनको लागी यहाँ भएका खानीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उतखनन गरी निर्यात, बिक्री वितरण गर्न कानुन बमोजिम प्रक्रिया बढाइ आवश्यक पहल गरिनेछ ।
२. गाउँपालिकाको राजश्वको दायरा बढाइनेछ र आम नागरिकलाई “राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य” हो भन्ने कुरामा प्रभावकारी अनुशिक्षण गरिनेछ ।
३. आन्तरिक आय व्यवस्थान, प्राकृतिक स्रोत बिक्री सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।
(घ) तथ्याङ्क प्रणाली तथा योजना र विकास व्यवस्थापन
१. गाउँपालिका स्थित सबै विषयगत क्षेत्रहरूको वस्तुगत विवरणको यथार्थ आँकड आउने खालको प्रोफाइल निर्माण गरिनेछ र सोही तथ्याङ्कको आधारमा खानीखोला गाउँपालिकाको भावि योजना निर्माण गरिनेछ ।
२. टोल, बस्ती तथा गाउँस्तरबाट नागरिकको छनौटमा परेका विकास योजनाहरूलाई कार्यान्वयन गर्न तत्कालीन एवम् दीर्घकालीन प्रकृतिका योजनाको वर्गीकरण गरी कार्यान्वयनमा ल्याइनेछ र तत्काल कार्यान्वयन हुन नसकेका योजनाहरू गाउँपालिका योजना बैंकमा समावेश गरी प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रियामा लगिनेछ ।
अन्त्यमा यस गरिमामय सभामा सभालाई शानदार ढङ्गले सम्पन्न गर्नका लागि उपस्थित गाउँसभाका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरू र यो नीति तथा कार्यक्रमलाई खानीखोलाको विकासको दस्तावेजको रूपमा ग्रहण गर्नु हुने सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।
ईन्द्र बहादुर थिङ
अध्यक्ष
ईति सम्वत २०८१ साल असार १० गते रोज २ शुभम् ।