यस्ताे छ बेथानचाेक सरकारकाे आर्थिक वर्ष २०८१–०८२ काे नीति तथा कार्यक्रम


१५ औं गाउँसभाको बैठक २०८१ साल असार १० गते बेथानचाेक गाँउपालिका अध्यक्ष श्री भगवान अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम

उपस्थित गाउँसभा सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारी साथीहरु, पूर्व जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, शैक्षिक संस्थाहरुबाट प्रतिनिधित्व गर्नुभएका साथीहरु, पत्रकारहरु एवम् उपस्थित महानुभावहरु ।

नेपालको संविधान, २०७२ बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा नेपाली जनताको दीगो शान्ति, सुशासन, विकास र समृद्धिको उत्कट ईच्छा पूरा गर्ने ध्येयका साथ संघ, प्रदेश र स्थानीय तहको सरकारले आफ्नो ७ वर्षे कार्यकाल पूरा गरिसकेको छ। २०७९ बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई स्थानीय सरकारको दोस्रो कार्यकालको अवधिमा बेथानचोक गाउँपालिकाको पन्ध्रौँ गाउँसभामा आगामी आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशीको अनुभूति गरेको छु ।

नेपाली जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको उपभोगका लागि स्थापित हाम्रो स्थानीय बेथानचोक सरकारले लिएको मूलमन्त्र ‘समृद्ध बेथानचोक, सुखी बेथानचोकबासी’ को दीर्घकालीन सोच प्राप्त गर्न सहयोग गर्ने सहयोगी हातहरुलाई हृदयदेखि नमन गर्न चाहन्छु । यस अवसरमा म सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्गीण विकास, समृद्धि र अग्रगमनकोलागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात-अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । देशमा राजनीतिक परिवर्तनकालागि नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेतागणसहित सम्पूर्ण नेपालीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

वर्तमान स्थानीय सरकार समाजवादउन्मुख, आर्थिक, सामाजिक रुपान्तरणकालागि सुशासन, विकास र सामाजिक न्यायसहित “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रतिवद्ध छ । बेथानचोकबासीको सुख र समृद्धिकालागि लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्दै जनतामा स्थानीय सरकारप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । विगतका नीति कार्यक्रम मार्फत निःशुल्क कृतिम गर्भाधान कार्यक्रम अन्तर्गत हालसम्म १५१५ किसान लाभान्वित भएका छन् भने माटोको उर्वराशक्ति बढाउन माटो परीक्षण शिविर कार्यक्रम सञ्चालन भएका छन् । विद्यार्थीको पठनपाठनमा नवीनता, सिर्जनात्मकता हाँसिल गर्न ‘अध्यक्षसँग घुम्ती शिक्षक’ कार्यक्रम अन्तर्गत नृत्य, संगीत, योगा, खेलकुद कक्षा सञ्चालन भईरहेका छन् । विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत काभ्रे जिल्लामा सर्वप्रथम रोबोटिक्स, विज्ञान प्रदर्शनी कार्यक्रम सञ्चालन भएका छन् । खानेपानीमा निरन्तरता तथा स्वच्छता कायम गर्न ‘एक घर एक धारा’ अन्तर्गत कार्यक्रमबाट ५०० घरधुरी लाभान्वित भएका छन् । प्रत्येक वर्ष ५ कि.मि. सडक अन्तर्गत पाटीखर्क चलालगणेशस्थान सडक सम्पन्न भईसकेको अवस्था छ भने पाट्नेखोला सोलाभञ्ज्याङ सडक कालोपत्र गर्ने काम धमाधम भईरहेको छ । स्वास्थ्यतर्फ नसर्ने रोगहरुको (मधुमेह, उच्च रक्तचाप) नियमित स्क्रीनिङ्ग तथा उपचार, १४ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्वास्थ्य शिविर, पाठेघर क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याको स्क्रीनिङ्ग गरी उपचारको लागि सिफारिस गर्ने, रेयूकाई आँखा अस्पतालमा मोतिविन्दु अपरेशनको निःशुल्क व्यवस्था, विशेषज्ञ सेवा तथा एक्सरे सेवा सहित क्षयरोग पत्ता लगाउने घुम्ती शिविर सञ्चालन जस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन भएका छन् । बेथानचोक – १ च्याम्राङवेशी चट्याङ्ग संवेदनशील ठाउँ भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि लाइटिङ्ग रड सहित Earthing गर्ने काम भएको छ । बेथानचोक नारायणस्थानमा केवलकार स्थापनाको लागि २०८१ बैशाखमा भएको लगानी सम्मेलनमा बेथानचोकको प्रतिनिधित्व भई सोकेसमा उक्त आयोजना समावेश भएको जानकारी गराउन चाहन्छु । शहरी वस्ती विकास आयोजना अन्तर्गत नयाँबस्ती दुर्लुङ्गखोला सडक कालोपत्र भईसकेको अवस्था छ ।

व्यापार घाटा, कमजोर निर्यात बजार, उच्च मुद्रास्फीति तथा आपूर्तीजन्य अवरोधका कारण उत्पादन तथा उत्पादकत्वमा कमी, आर्थिक मन्दीको कारणले नेपालको समग्र अर्थतन्त्र र कार्यप्रणालीलाई जोखिमको अवस्थामा धकेलेको छ । राजश्व संकलनमा कमी तथा वैदेशिक सहायतामा अपेक्षित सहयोग नहुँदा संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम तथा समानीकरण अनुदानमा प्रतिवद्धता बमोजिम निकासा नहुँदा हाम्रो सरकार व्यापक बजेट घाटामा रहेको छ। यस्तो जोखिमपूर्ण अवस्थालाई आत्मसात् गर्दै थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउनकालागि प्रतिवद्ध भई आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।

नेपालको संविधान २०७२ बमोजिम स्थानीय सरकारलाई प्राप्त २२ प्रकारका स्थानीय तहको अधिकार अनुसार स्थानीय सरकारको नीति तथा कार्यक्रम, ऐन, नियम, योजना तर्जुमा तथा बजेट व्यवस्था गर्ने जिम्मेवारी एवम् कर्तव्य स्थानीय सरकारको हो । सम्पूर्ण बेथानचोकबासीहरुमा परिवर्तनको महसुस गरी सुशासन र समृद्धिको अनुभूत गराउने गरी आ.व. २०८१/०८२ को गाउँपालिकाको समग्र नीति तथा कार्यक्रम एवम् बजेट व्यवस्था गरी कार्यान्वयनमा ल्याउने ऐतिहासिक दिनमा हामी उपस्थित भएका छौं ।

संविधान कार्यान्वयन, सङ्घीयताको सवलीकरण, अर्थतन्त्रको सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सवलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण गरी गाउँपालिकालेअवलम्बन गरेको समृद्ध बेथानचोक, सुखी बेथानचोकबासी निर्माणको आधारशीला तयार गर्न सामाजिक न्याय सहितको बहुआयामिक विकासलाई तीव्र रुपमा अगाडि बढाउने जमर्को गरिएको छ ।

विनियोजन कुशलता र स्रोतसाधन परिचालनमा दक्षता अभिवृद्धि गरी कार्यान्वयनमा प्रभावकारीता मार्फत वित्तीय अनुशासन कायम गरी वित्तीय संघीयतालाई प्रभावकारी र दीगो बनाइनेछ। आर्थिक तथा सामाजिक पूर्वाधारको विकास गर्दै गरिबीको रेखामुनी रहेका एवम् विभेद र वहिष्करणमा परेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदाय लगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न उपलब्ध स्रोतसाधनलाई सो दिशातिर प्रवाहित गरिनेछ ।

लोकतन्त्रका नवीन मूल्य मान्यताले लोकतन्त्रको सामाजिकीकरण, लोकतान्त्रिक मूल्य मान्यताको व्यवहारिक अवलम्बन मार्फत आत्मीकरण गर्नुपर्ने कुराको वकालत गर्छ । लोकतन्त्र उपभोग्य त्यतिबेला हुन्छ, जब यसलाई समृद्धिले लेपन गर्न सकिन्छ भन्ने कुरामा बेथानचोक सरकार सचेत छ। यसैलाई ध्यानमा राख्दै नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दीगो विकास लक्ष्य (२०१६-२०३०), सोह्रौँ योजना, नेपाल सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु, बेथानचोक गाउँपालिका तथा गाउँसभाबाट पारित ऐन, नियमावली तथा कार्यविधिहरु, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, प्रचलित कानून र मापदण्डलाई आधार बनाई ‘पब्लिक भ्वाइस र पब्लिक च्वाइस’ लाई मूलमन्त्र मान्दै यो नीति तथा कार्यक्रम तयार गरिएको छ।

माननीय सभा सदस्यज्यूहरु,

अब, आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

१) आयोजना व्यवस्थापन सम्बन्धी नीति

  • आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजना व्यवस्थापन सूचना प्रणाली लागू गरिनेछ । जसका लागि बेथानचोक गाउँपालिकामा एउटा आयोजना बैंक रहनेछ। आयोजना बैंकमा समावेश भएका आयोजना मात्र बेथानचोक गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट कार्यान्वयन गरिनेछ।

  • जनसहभागीतामूलक अनुगमन प्रणाली मार्फत नतिजा हाँसिल गर्नकालागि सरोकारवाला, जनप्रतिनिधि तथा प्राविधिक टिमको तयारी गरिनेछ ।

  • जनप्रतिनिधिहरुलाई सामान्य प्राविधिक विषयमा तालिम दिई क्षमता अभिवृद्धि गरिनेछ।

  • आयोजनामा गुणस्तर कायम गर्न गुणस्तर परीक्षणका लागि प्रोत्साहित गरिनेछ ।

  • वित्तीय सुशासन कायम गर्न आवधिक योजना र मध्यकालीन खर्च संरचना (MTEF) बीच आवद्धता कायम गरिनेछ ।

  • प्रोजेक्ट बैंक संचालनका लागि कर्मचारीहरुलाई क्षमता विकास तालिम प्रदान गरिनेछ ।

  • आयोजनाबाट प्राप्त नतिजाको प्रभावकारी मापनका लागि सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई विधिको प्रभावकारी उपयोग गरिनेछ ।

  • आयोजना सुशासन कायम गर्नका लागि १० लाख भन्दा माथिका आयोजना ठेक्का प्रक्रियाद्धारा पूरा गरिनेछ ।

२) पूर्वाधार विकास नीति

  • पूर्वाधार संरचनाले लागत घटाई अर्थतन्त्रको प्रतिष्पर्धात्मक क्षमता बढाउँछ । उत्पादन र उपभोगबीचको सकारात्मक सहसम्बन्ध कायम गराउँछ ।

  • ‘सहज यात्रा – हाम्रो संकल्प’ भन्ने नाराका साथ प्रत्येक वर्ष बेथानचोक गाउँपालिकाभित्र ५ कि.मि. सडक कालोपत्रे तथा ढलान’ कार्यलाई निरन्तरता दिइनेछ । यसै आ.व. भित्र बेथानचोकका ६ वटै वडामा कालोपत्रे सडक विस्तारको आयोजना सुरु हुनेछ ।

  • काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा दुर्लुङ्गखोला – च्याम्राङ्गवेशी सुरुङ मार्गको विस्तृत अध्ययन गरी सुरुङ मार्ग खन्न शुरु गरिनेछ । साथै हाम्रा बहुमूल्य खनिजहरुको उत्खनन् तथा अध्ययन अनुसन्धान गरिनेछ ।

  • यसै आ.व. बाट शुरु भएको सार्वजनिक जग्गा संरक्षणको कार्य सम्पूर्ण बेथानचोकभित्र शुरु गरी यसै आ.व. मा सम्पन्न गरिनेछ । यसका लागि सरोकारवालाको सहभागीतामा सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन गरी कार्य अगाडि बढाइनेछ।

  • उज्यालो बेथानचोक अभियान अन्तर्गत प्रदेश सरकार तथा संघ सरकारसँग समन्वय गरी सोलार बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • दीगो विकासको मूल मर्मलाई आत्मसात् गर्दै सडकमा बजेट विनियोजन गर्दा ड्रेन सहितको संरचना हुनेगरी आयोजना सञ्चालन गरिनेछ ।

  • नेपालको संघीयताको मूल आदर्श समन्वय, सहकार्य, सहअस्तित्वलाई आत्मसात् गर्दै छिमेकी स्थानीय तह पनौती, खानीखोला, महांकालसँग संयुक्त लगानीमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ।

  • कृषि, उद्योग, पर्यटनसँग अग्रपृष्ठ अन्तरसम्बन्ध कायम हुनेगरी पूर्वाधार बाटो, बिजुली, खानेपानीको व्यवस्था मिलाइनेछ।

  • आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योग तथा वाणिज्य क्षेत्रको विकासका लागि ग्वाभञ्ज्याङ्गमा रहेको औद्योगिक ग्राम निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत काम अगाडि बढाइनेछ ।

  • दीगो व्यवस्थित शहरी विकासका लागि विगत आ.व. का कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

  • बेथानचोक गाउँपालिकाको सानको रुपमा रहेको बाघद्धार खोलामा बहुउद्देश्यीय ताल निर्माण, स्वच्छ खानेपानी आपूर्ति तथा सिँचाई लगायत पर्यटन प्रवर्द्धन गर्न विस्तृत अध्ययन गरी आयोजना कार्यान्वयनलाई अगाडि बढाइनेछ ।

  • दीगो विकास तथा गुणस्तरीय पूर्वाधार विकास मार्फत बेथानचोकको आर्थिक, सामाजिक, मानव विकासमा सकारात्मक प्रभाव पार्नेगरी बेथानचोक गौरवका आयोजना सञ्चालन गरिनेछ ।

  • बेथानचोक पर्यापर्यटन, तीनतले झरना, शिव पार्वती गुफा, ब्राम्हणडाँडा, कपेर महांकाल, खोपासी-ढुंखर्क-च्याम्राङवेशी-सुकुमफेदी- फापरबारी सडक, भञ्ज्याङ – गोलगाउँ-भुग्देउ सडक, च्याम्राङवेशी-रतनखोला-झिङ्गे- सुकुमफेदी-छ्याङछ्याङ खोला सडक, तिपचोक-पार्थली सडक, खोपासी-तालढुंगा अन्तर्गत मदनबास-भङ्गाला-खाल्टे-गोल्माकोट सडक, छत्रे धर्मशाला-पट्गाउँडाँडा- भञ्ज्याङखर्क-हस्पिटलचोक-पार्थली सडक, टोड्के भञ्ज्याङ -थिङछाप-खेलमैदान- मेदाम्सु सडक, च्याम्राङवेशी-कलडसिं-झिंगे सडक, मेदाम्सु-थापाडाँडा-कोप्तिल- तीनधारा सडक, सयँले ठूलाघर-घोडाबाँधे – नारायणस्थान सडक, पाट्नेखोला- आहाले-कोलकाटे सडक, मल्पी तिप्चोक सडक, लड्कुखोला कोरिडोर, गणेशस्थान- सिक्रिघ्याङ-भञ्ज्याङखर्क-कुनेखर्क-गोल्माकोट सडक, च्याल्टी – खरिडाँडा-बालुवा मोटरबाटो, च्याल्टी-खेलमैदान-माझीटोली-ताङ्गीटोल-बेतिनी – पौवा मोटरबाटो, मदनबास-गुम्बुडाँडा-पार्थली मोटरबाटो आदि आयोजनालाई प्रदेश तथा संघसँग समन्वय गरी सञ्चालन गरिनेछ ।

  • विद्युत्बाट हुने सम्भावित विपद्लाई टार्नका लागि बेथानचोक गाउँपालिकाभित्र काठका पोल विस्थापित गरी स्टिल पोलको स्थापना गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाभित्र नीजि लगानीका सम्भावनाको ढोका खोल्न लगानी सम्मेलन गरिनेछ।

  • यस आ.व. मा. ‘एक वडा एक पार्क’ को कार्यक्रम शुरु गरिनेछ।

  • यस बेथानचोक गाउँपालिकाको ‘नक्शापास कार्यविधि’ बन्नुअघि निर्माण भएका घरलाई स्थानीय सरकार संचालन ऐन र बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम अभिलेखीकरण कार्य अगाडि बढाइनेछ।

३) पर्यटन नीति

  • बेथानचोक गाउँपालिकाभित्र संचालनमा रहेका होटल, रिसोर्ट, होमस्टेहरुको प्रभावकारी नियमन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ ।

  • बेथानचोकको सँस्कृति प्रवर्द्धन गर्दै पर्यटन गतिविधि बढाउन बेथानचोकमा रहेका होमस्टेहरुलाई A, B, C, D मा ग्रेडिङ्ग गरी आवश्यक सहयोग गरिनेछ ।

  • बेथानचोक गाउँपालिकालाई हाइकिङ सिटी (Hiking City) को रुपमा विकास गर्न पर्यटन विभाग तथा पर्यटन बोर्डसँग समन्वय सहकार्य गर्दै आवश्यक पूर्वाधार निर्माण, सचेतना कार्यक्रम तथा सरोकारवालालाई आवश्यकतानुसार प्रशिक्षित गरिनेछ।

  • गोर्खालीगाउँ थलीडाँडा जगराम पर्वत नारायणस्थान पदमार्ग, झरना-ताङ्गीटोली- मौवाडाँडा पदमार्ग, झिङ्गे-भैरवथान-फुर्केथली – नारायणस्थान पदमार्ग, रेलसिङ- फाइमराङ-तिनतले झरना पदमार्गको रुपमा विकास गर्न प्रयत्न गरिनेछ।

  • ‘बेथानचोक विकासको आधार, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन धार्मिक पवित्र स्थान बेथानचोक नारायण, प्राकृतिक मनोरम स्थल तीनतले झरना, ऐतिहासिक कपेर महांकाल गढीको व्यापक प्रचारप्रसार गरिनेछ । यसका अतिरिक्त गुम्बुडाँडा, क्षेत्रपाल महांकाल, भैरव अल्कापुरी, शान्ति महांकाल, पट्गाउँडाँडा, कामीडाँडा, भुग्देउ महांकाल कालीदेवी मन्दिर, तिलेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, शिव पार्वती गुफा, गजराज थुम्का पदमार्ग लगायतका ठाउँको नीजि क्षेत्र तथा संचार माध्यमसँग सहकार्य गरी प्रचारप्रसार गरिनेछ ।

  • २०८१ साल बैशाखमा भएको लगानी सम्मेलनमा सोकेसमा प्रस्तुत बेथानचोक नारायणस्थान केवलकारको सार्वजनिक नीजि साझेदारी अन्तर्गत थप विस्तृत अध्ययन गरी आयोजना अगाडि बढाइनेछ ।

  • बेथानचोकको मौलिकतालाई प्रचारप्रसार गर्न प्रभावकारी यातायात व्यवस्थापनका लागि बेथानचोक सफारीको सुरुवात यसै आ.व. बाट गरिनेछ ।

  • आन्तरिक पर्यटनलाई प्रवर्द्धन तथा प्रचारप्रसार गर्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एकरुपताको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरिनेछ।

  • गुम्बुडाँडा भ्यू टावर, हिले भञ्ज्याङ्ग भ्यू टावर र कालापानी धार्मिक स्थलको अध्ययन गरी प्रचारप्रसार गरिनेछ ।

  • रिओ पाल्देन गुम्बा, कर्मदक्षेन पालवर गुम्बा, स्याङदी पाल्की छोइलिङ गुम्बालाई संघ प्रदेशसँग समन्वय सहकार्य गरी धार्मिक पर्यटक स्थलको रुपमा विकास गरिनेछ ।

  • धार्मिक पर्यटन क्षेत्रको रुपमा बेथानचोक – ४, मा अवस्थित तिलेश्वर महादेव मन्दिरको विस्तृत अध्ययन मार्फत धर्मकुण्ड निर्माण गरी प्रचारप्रसार गरिनेछ।

४. कृषि तथा पशु सम्बन्धी नीति

  • विदेशमा सीप सिकेका, स्वदेशमा केही गर्छु भनेर लागेका युवाहरुलाई ब्याज अनुदानमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।

  • कृषिमा विविधिकरण तथा व्यवसायीकरणकालागि प्रयोगशालादेखि खेतसम्म ज्ञानको हस्तान्तरण (Lab to Land) कार्यक्रमअन्तर्गत कृषि औजारलाई सार्वजनिक नीजि साझेदारी मार्फत कृषकको खलोमा पुऱ्याइनेछ ।

  • माटोमा उर्वरशीलता मार्फत उत्पादन तथा उत्पादकत्व बढाउन माटोको स्वास्थ्य परीक्षण (Soil Health Testing) मार्फत माटोको अम्लीयपन, खनिज पदार्थको अवस्थाको आधारमा कृषि प्राविधिकबाट रासायनिक मल, कृषि चुनको समानुपातिक प्रयोग गर्न सिकाईने व्यवस्था मिलाइनेछ ।

  • कृषिलाई सम्मानित पेशाका रुपमा विकास गर्न उत्कृष्ट कृषकलाई सामाजिक सम्मानको व्यवस्था मिलाइनेछ ।

  • विपद् महामारीका कारण कृषि तथा पशुपालन व्यवसायमा हुने क्षतिपूर्तिका लागि वाली विमा र पशु विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।

  • बेथानचोकभित्र रहेको बाँझो जमीनको उपयोगको लागि भूमि बैंकको अवधारणा कार्यान्वयनमा लगिनेछ ।

  • निःशुल्क रुपमा कृत्रिम पशु गर्भाधान (AI) कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • पशुमा देखिएका समस्याहरुको पहिचान तथा निराकरण गर्नका निम्ति बेथानचोक गाउँपालिकाभित्र नै Veterinary Lab को स्थापना गरी सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।

  • कृषक तथा पशुपालकहरुलाई मागमा आधारित रहेर तालिम प्रदान गरिनेछ । ■ आकस्मिक रोग नियन्त्रण कार्यक्रमअन्तर्गत विभिन्न समयमा पशुपन्छीमा देखिने रोगहरु नियन्त्रणकालागि आवश्यक औषधी तथा खोप खरिद गरी महामारी नियन्त्रण गरिनेछ ।

  • तथ्यांक संकलन कार्यक्रमअन्तर्गत पशु तथा कृषि प्रोफाइल निर्माणकालागि यस गाउँपालिकाभित्रका सम्पूर्ण कृषकहरुको घर-घरमा गई तथ्यांक संकलन गरिनेछ ।

  • कृषकहरुलाई निःशुल्क रुपमा औषधी तथा उपचार सेवा प्रदान गरिनेछ । कृषकहरुको घरदैलोमा कृषि उपचार सेवा प्रदान गरिनेछ ।

  • कृषि उत्पादन वृद्धिको वैकल्पिक कार्यक्रमका रुपमा गोरु पालन गर्ने कृषकलाई प्रोत्साहित गरिनेछ ।

  • संघ सरकारसँगको समन्वयमा युवा कृषक तथा उद्यमीहरुसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाई केन्द्रको रुपमा विकास गरिनेछ ।

  • किसान सुचीकरण कार्यलाई सम्पन्न गरिनेछ । किसान परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने सेवा सहुलियतसँग आवद्ध गरिनेछ ।

  • बेथानचोकको सम्भावनाको रुपमा रहेको कृषि क्षेत्रको विकासकालागि प्रदेश सरकारसँग सहकार्यमा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम, मौरापालन प्रवर्द्धन, बाखा प्रवर्द्धन कार्यक्रम, पशुपालन प्रवर्द्धन (गाईभैंसी) कार्यक्रम सञ्चालन गरिनेछ ।

  • १ वडा एक पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

५) शिक्षा नीति

  • अनिवार्य तथा निःशुल्क शिक्षालाई निरन्तरता दिन विद्यालयमा सञ्चालन गरिने विद्यार्थी उपलब्धी परीक्षामा लाग्ने सम्पूर्ण उत्तरपुस्तिका गाउँपालिकाबाट उपलब्ध गराइनेछ।

  • पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीलाई विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको व्यवस्था मिलाइनेछ ।

  • साक्षर बेथानचोक घोषणा गरिसकिएको अवस्थामा निरन्तर शिक्षालाई प्राथमिकता दिइनेछ ।

  • विद्यालय स्वयंको मूल्यांकनका आधारमा उत्कृष्ट विद्यालय छनोट गरी प्रोत्साहन कार्यक्रम उपलब्ध गराइनेछ ।

  • शिक्षकहरुमा व्यवसायिकता विकासको लागि आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिनेछ ।

  • गाउँ शिक्षा समितिको नेतृत्वमा एक कार्यदल गठन गरी सबै सामुदायिक विद्यालयहरुको स्थलगत अवलोकन मार्फत विद्यालयहरुको आवश्यकताको प्राथमिकीकरण गरी सबै विद्यालयहरुको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय विकासको रणनीतिक योजना निर्माण गरिनेछ ।

  • गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको पठन-पाठनमा एकरुपमा कायम गर्न स्थानीय विषयको पाठ्यक्रम नमूना परीक्षण सम्पन्न गरी कार्यान्वयनमा ल्याइनेछ।

  • गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष विद्यालयको स्वमूल्यांकन गरी सोही आधारमा विद्यालयहरुलाई अनुदान दिने व्यवस्था मिलाइनेछ ।

  • विद्यालयको शिक्षण सिकाइमा प्रभावकारीताकालागि शिक्षकहरुलाई कक्षाकोठामा सुपरीवेक्षक वा अनुभवी शिक्षक मार्फत समयसमयमा कक्षा अवलोकन गरी Feedback प्रदान गर्न नियमित कक्षा अवलोकन तथा सुपरीवेक्षण प्रणालीको विकास गरिनेछ।

  • प्रविधिमैत्री शिक्षण सिकाई आजको आवश्यकता हो । सोका लागि गाउँपालिकाभित्र सञ्चालित विद्यालयका शिक्षकहरुको लागि आधारभूत ICT तालिम सञ्चालन गरी आगामी ४ वर्षभित्र ‘साझेदारीमा एक शिक्षक एक ल्याप्टप कार्यक्रम’ लागु गरिनेछ।

  • गाउँपालिकाभित्र सामुदायिक माध्यमिक विद्यालयहरुमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने शैक्षिक नीति बनाइनेछ। क्रमशः एक वडाका एउटा विद्यालय मार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइनेछ ।

  • गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुबाट तहगत वार्षिक परीक्षामा सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने बालबालिकाहरुलाई पढाईमा थप प्रोत्साहनका लागि पुरस्कृत गरिनेछ।

  • बेथानचोक गाउँपालिकाको शिक्षालाई प्रोत्साहन गर्न व्यवस्थापन, मानविकी, विज्ञान, इञ्जिनियरिङ्ग संकाय अन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति स्वरुप रु.५००००/- (पचास हजार) प्रदान गरिनेछ। यसबाट विद्यार्थीहरुको उत्प्रेरणा बढ्ने आशा लिएको छु ।

  • यस बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी एम.वि.वि.एस. (MBBS) अध्ययन गर्ने विद्यार्थीलाई एक पटक रु. २०००००।- (दुई लाख) छात्रवृत्ति प्रदान गरिनेछ ।

  • गाउँपालिकाको अनुमतिमा सञ्चालनमा रहेका प्राविधिक विद्यालयलाई स्तरोन्नति गर्ने साथै उक्त विद्यालयलाई बहुप्राविधिक विद्यालयको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ ।

  • विद्यालयको शैक्षिक गुणस्तर विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको पढाईप्रति संवेदनशील बनाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

  • शून्य दरबन्दी भएका विद्यालयहरुलाई विगतमा यस गाउँपालिकामार्फत उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।

  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाले आफ्नो छुट्टै शिक्षा ऐन निर्माण गरी वैज्ञानिक आधारमा गाउँपालिकाभित्र जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नीति अवलम्बन गरिनेछ ।

  • गाउँपालिकाभित्र हुने करार शिक्षक नियुक्तिमा एकरुपता र विद्यालयलाई आर्थिक भार कम गर्न शिक्षकको विज्ञापन गरी नियुक्ति प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च विद्यालयलाई गाउँपालिकाबाट भुक्तानी गरिनेछ ।

  • ‘हप्ताको शुक्रबार, अतिरिक्त क्रियाकलापको विस्तार’ अन्तर्गत सीपमूलक शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने नीति लिइनेछ । हरेक शुक्रबार व्यवहारिक सीप सिकाईमा जोड दिइनेछ ।

  • बौद्धिक सम्पत्तिको संरक्षण र संवर्द्धन गर्नका लागि बेथानचोक गाउँपालिकाको बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र रु.१०००००।- (एक लाख) सहयोग प्रदान गरिनेछ । यसबाट देशविदेशसम्म गाउँपालिकाको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

  • राज्यको नीति पनि ठूला तथा सुविधा सम्पन्न विद्यालय बनाउने रहेकाले भूगोल, विद्यार्थी संख्या, विद्यालयको भौतिक सुविधा र विद्यार्थीको पहुँचलाई मध्यनजर गरी विद्यालय गाभ्ने वा कक्षा तह घटाउने नीति अवलम्बन गरिनेछ । यसकालागि ठूला विद्यालयलाई सुविधा सम्पन्न बनाउने, आवासीय रुपमा विकास गर्ने, यातायात साधनको व्यवस्था गर्ने प्रयत्न गरिनेछ ।

  • विद्यालय, शिक्षक र गाउँपालिकाबीचको सम्बन्ध सुमधुर बनाउन र शिक्षकलाई जिम्मेवारीप्रति थप प्रेरित गर्न प्रत्येक वडामा वर्षको एकपटक ‘शिक्षासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम’ वडागत रुपमा सञ्चालन गरिनेछ ।

  • बेथानचोकको ग्रामीण भेगमा रहेका विद्यालयहरुमा शिक्षक अभावको समस्या न्यूनीकरणकालागि गुणस्तरीय शिक्षा प्रदान गर्न ‘ अध्यक्षसँग घुम्ती शिक्षक कार्यक्रम’ लाई निरन्तरता दिइनेछ । तोकिए बमोजिमका सिकाई क्षमता हाँसिल गर्न नसक्ने सिकारुकालागि थप सिकाईको अवसर प्रदान गर्न ‘ अध्यक्षसँग घुम्ती शिक्षक मार्फत ‘ उपचारात्मक कक्षा सञ्चालन गरिनेछ ।

  • शिक्षामा नवीन प्रविधियुक्त युवा जनशक्ति आकर्षित गर्न ५० वर्ष उमेर पूरा भएका शिक्षक अवकाश भएमा निश्चित प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।

६) सामाजिक विकास तथा समावेशीकरण सम्बन्धी नीति

  • ‘समुन्नत बेथानचोकको आधार, महिला क्षमताको विकास’ भन्ने सोचलाई कार्यान्वयन गर्न महिला सशक्तिकरण मार्फत क्षमता अभिवृद्धि गर्न ‘उपाध्यक्षसँग महिला पहिला कार्यक्रम’ लाई निरन्तरता दिइनेछ ।

  • बेथानचोकमा प्रचलित धार्मिक, साँस्कृतिक, ऐतिहासिक पर्व, मेलाको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।

  • ‘आहातलाई राहत’ भन्ने मूलमन्त्रलाई मान्दै विपद्मा परेका, जटिल रोग लागेकालाई सामाजिक संरक्षणको जीवनचक सिद्धान्तअन्तर्गत ‘वडाअध्यक्ष मार्फत विपद् सहयोग’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • समाजमा रहेका कुरीति, कुसँस्कार, जातीय विभेद, अन्धविश्वास, लैङ्गिक हिंसा, दाइजोप्रथा विरुद्ध कानूनी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

  • सामाजिक वञ्चितीकरणमा परेका तथा आर्थिक रुपमा विपन्न महिला, दलित, जनजाति, एकल महिलालाई सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बन्न प्रेरित गरिनेछ।

  • श्रमलाई सीपसँग, सीपलाई प्रविधिसँग, प्रविधिलाई उत्पादनसँग जोड्न एड्भान्स लेभलको तालिम संचालन गरिनेछ । वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुको सीप अभिलेखीकरण गरी उद्यमशीलता विकासका लागि व्याज अनुदानमा वित्तीय संस्थाबाट ऋण प्रवाहको व्यवस्था मिलाइनेछ । यस्ता व्यक्तिबाट उत्पादित सामानहरु चोयाको डोको, टपरी, दुना, बोता, ढाका, माडा, सातु, अचार आदिलाई बजारीकरणका लागि सहयोग पुऱ्याउन बेथानचोक कोशेली घरको स्थापना गरिनेछ ।

  • अपांगता भएका व्यक्तिहरुकालागि नेतृत्व विकास, क्षमता विकास सम्बन्धी तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

  • सार्वजनिक प्रशासनमा समावेशीताको संख्या बढाउन बेथानचोक गाउँपालिकाका युवा युवतीहरुकालागि निःशुल्क रुपमा लोकसेवा आयोग तथा शिक्षासेवा आयोगको कक्षा सञ्चालन गरिनेछ ।

  • बालमैत्री स्थानीय शासनलाई प्राथमिकताका साथ लागू गरी कार्यान्वयन गरिनेछ।

  • लैङ्गिक हिंसा निवारण कोषलाई थप व्यवस्थित गर्दै लगिनेछ ।

  • आमाबाबु विहिन बालबालिकालाई शिक्षामा पहुँच पुऱ्याउन आवश्यक सहयोग गरिनेछ।

  • समुदायको परम्परागत ज्ञान, सीप र पेशाको आधुनिकीकरण गरी जिविकोपार्जन सुधार गरिनेछ ।

  • जातिय परम्परामा आधारित ज्ञान, सीप, प्रविधि र पेशालाई आधुनिकीकरण गर्दै उद्योगको रुपमा विकास गरिनेछ । यसका लागि घट्ट सुधार कार्यक्रम, आरन सुधार कार्यक्रम सञ्चालनमा ल्याइनेछ।

  • बेथानचोकमा अवस्थित पुरातन पाटी, पौवा, चौतारो, पँधेरोको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइनेछ ।

  • निर्माण क्षेत्रमा कार्यरत रहने मजदुरहरुको मानवीय सुरक्षा, आर्थिक सुरक्षा, सामाजिक सुरक्षाका लागि विमा गर्न प्रोत्साहित गरिनेछ ।

८) खेलकुद नीति

  • खेलकुदको माध्यमबाट बेथानचोकलाई चिनाउनका लागि ‘एक वडा एक खेल मैदान’ निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।

  • ‘राष्ट्रकालागि खेलकुद, स्वास्थ्यकालागि खेलकुद’ भन्ने नारा सहित राष्ट्रिय खेल भलिबललाई प्राथमिकता दिई ‘बेथानचोक कप भलिबल प्रतियोगिता’ लाई निरन्तरता दिईनेछ । साथै फुटबल, सितोरियो कराँते, तेक्वान्दो लगायतका खेलकुद प्रतियोगितालाई पनि प्रोत्साहित गरिनेछ ।

  • राष्ट्रिय खेल भलिबललाई विद्यालयतहसम्म नियमित प्रशिक्षण सहित सञ्चालन गरिनेछ।

  • बेथानचोक गाउँपालिकाभित्र सम्भावना रहेका खेलहरुलाई बाह्य प्रशिक्षकको प्रशिक्षणमा राखी जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी गराइनेछ ।

९) सहकारी नीति

  • सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गर्न सबै सहकारी संस्थाहरुलाई अभिप्रेरित गरिनेछ ।

  • सहकारी सुशासन मार्फत सर्वसाधारणको बचत सुरक्षित गर्न संघ तथा प्रदेशको समन्वयमा सहकारी अनुगमनलाई प्रभावकारी रुपमा लगिनेछ ।

  • सहकारी साक्षरता बढाउन सहकारीसँग सम्बन्धित सरोकारवालाहरुलाई व्यवस्थापन, लेखा तथा COPOMIS (कोपोमिस) सम्बन्धी आधारभूत तालिम प्रदान गरिनेछ।

१०. वन तथा वातावरण नीति

  • बेथानचोकमा रहेका जडीबुटीहरुको पहिचान, उपयोग तथा प्रचारप्रसारका लागि अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ ।

  • वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई कार्यान्वयन गर्न झाडी फँडानी गरी फलफूल तथा जडीबुटीको वृक्षारोपण गरिनेछ ।

  • सामुदायिक वनको सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक कार्यविधि तयार गरी वन कार्ययोजना निर्माण, कार्यान्वयन तथा बहुउद्देश्यीय उपयोगको व्यवस्था मिलाइनेछ ।

  • सामुदायिक वन भित्र ‘बोटानिकल गार्डेन’ निर्माण गरी पर्यटन प्रवर्द्धन गरिनेछ।

  • प्रभावकारी तथा वातावरणमैत्री फोहोरमैला व्यवस्थापनकालागि गाउँपालिकाभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडि बढाइनेछ ।

११. न्यायिक समिति सम्बन्धी नीति

  • बेथानचोक गाउँपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुलाई आवश्यकताका आधारमा तालिम प्रदान गरिनेछ ।

  • गरिब तथा असहाय व्यक्तिलाई निःशुल्क कानूनी सहायता प्रदान गरिनेछ।

  • न्यायिक कार्यलाई थप व्यवस्थित साथै कानून सम्बद्ध बनाउनकालागि घरसारको लिखत प्रमाणीकरण सम्बन्धी जनप्रतिनिधिहरु र सरोकारवालाहरुबीच क्षमता अभिवृद्धि प्रशिक्षण तालिम सञ्चालन गरिनेछ ।

  • न्यायिक समितिबाट निःशुल्क रुपमा प्रवाह गरिरहेको न्याय सञ्चालन गरिनेछ।

  • कानूनी साक्षरता सम्बन्धी कार्यक्रम वडा तथा टोल स्तरमा सञ्चालन गरिनेछ ।

  • प्रत्येक वडामा मेलमिलाप केन्द्र निर्माण गर्न प्रोत्साहित गरिनेछ ।

  • न्यायिक समिति र जनताबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी उठेका माग र समस्याहरु समाधान गर्ने कार्य गरिनेछ ।

  • न्यायिक समितिमा पेश हुने लिखत मस्यौदा सम्बन्धी सरोकारवालाहरुबीच कार्यक्रम सञ्चालन गरिनेछ ।

  • बालविवाह, आत्महत्या र अपराध संहिता सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

  • अदालतबाट इकाई, न्यायिक समिति र सरोकारवालाहरुबीच मुद्दा व्यवस्थापन सम्बन्धी पालिकास्तरीय कार्यक्रम सञ्चालन गरिनेछ।

१२) राजश्व नीति

  • करको दायरा बढाई राजश्व संकलन बढाउन व्यवसाय दर्ताको संख्या बढाइनेछ । बेथानचोकको सम्भावनाको रुपमा रहेको बोधीचित्त (बुद्धचित्त) लाई कानून बनाई करको दायरामा ल्याइनेछ ।

  • बेथानचोक गाउँपालिकाभित्र अव्यवस्थित रुपमा सञ्चालित खानीहरु पूर्ण रुपमा बन्द गरिनेछ। सम्भावित खानी क्षेत्रमा खानी सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकनको आधारमा दर्ता भएका खानीलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाको लगानीमा सम्पन्न भएका पर्यटकीय पूर्वाधारहरु बेथानचोक नारायणस्थान तथा तीनतले झरनाको सेवा शुल्क उठाइनेछ ।

  • स्रोत परिचालन र व्यवस्थापनमा बेथानचोक गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन प्रचलित कानुन बमोजिम लगाउन सकिने सबै स्रोतहरुको वास्तविक पहिचान, विश्लेषण तथा राजश्व सम्भाव्यताको विस्तृत अध्ययन गरिनेछ ।

  • ग्रेनाइड, ढुंगा, रोडा, स्लेट, वालुवा लगायत खानीजन्य उद्योगहरुलाई नियमानुसार दर्ता गर्न प्रोत्साहित गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाभित्र उठ्ने राजश्वलाई राजश्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध गरी पारदर्शीतालाई प्रवर्द्धन गरिनेछ।

१३) सुशासन प्रवर्द्धन सम्बन्धी नीति

  • सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।

  • गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउन डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइनेछ ।

  • सूचना तथा जानकारीहरुलाई नागरिक समक्ष पुऱ्याउन फेसबुक पेज तथा वेबसाइटलाई नियमित अपडेट गरिनेछ ।

  • गाउँपालिकाको कार्य प्रणालीलाई स्वचालित पद्धतिमा आवद्ध गर्न वडा कार्यालयहरुमा समेत क्रमशः डिजिटल प्रविधि जडान गरिनेछ ।

  • संस्थागत सम्झना तथा संस्थागत क्षमता अभिवृद्धि मार्फत सेवा प्रवाहमा सिघ्रता तथा गुणस्तरीयता अभिवृद्धिकालागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिनेछ ।

  • सेवा प्रवाहमा समावेशीता तथा समतामूलक व्यवहारकालागि First Come First Service मात्र होइन Last Come First Service को नीति पनि अवलम्बन गरिनेछ । यसबाट अशक्त, अपाङ्गता, भौगोलिक विकट क्षेत्रमा रहने सेवाग्राही लाभान्वित हुनेछन् ।

  • स्थानीय सरकारलाई छुन सकिने सरकार, देखिने सरकारको अनुभूति दिन ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत प्रत्येक वडामा अन्तरसंवाद मार्फत गुनासो व्यवस्थापन गरिनेछ ।

  • गाउँपालिकाभित्र शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख गर्न गाउँ प्रहरीको गठन गरिनेछ ।

  • बेथानचोकका मुख्य-मुख्य स्थानमा हुने सम्भावित दुर्घटना तथा चोरी नियन्त्रणका लागि CCTV जडान गरिनेछ ।

  • स्थानीय तहको संस्थागत क्षमता मूल्यांकन (LISA ) र वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा उत्कृष्टता कायम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।

  • बेथानचोक गाउँपालिकाको स्वीकृत दरबन्दी अनुसार कर्मचारीको व्यवस्था मिलाइनेछ ।

१३) विपद व्यवस्थापन तथा जलवायू परिवर्तन सम्बन्धी नीति

  • जलवायू परिवर्तन अनुकूल क्षमता अभिवृद्धि तथा प्रतिकूल प्रभाव न्यूनीकरणकालागि साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ ।

  • विपद् जोखिम पूर्वानुमान, पूर्वतयारी, प्रतिकार्य र पुर्नलाभ सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन भू-संवेदनशील योजना, विपद् प्रतिकार्य योजना तयार गरी लागू गरिनेछ।

  • ‘विपद्बाट बचौँ, उत्थानशील समाज निर्माण गरौं’ भन्ने नारा मार्फत प्रभावकारी विपद् व्यवस्थापनकालागि जिल्ला सुरक्षा समितिको सहयोगमा आवश्यक तालिम कार्यक्रम सञ्चालन गरी Flying Squad को निर्माण गरिनेछ।

  • आयोजना व्यवस्थापनमा विपद् जोखिमलाई मध्यनजर गरी आयोजना अगाडि बढाइनेछ ।

  • प्रकोप व्यवस्थापन कोषमा थप रकमको व्यवस्था गरी विपद् व्यवस्थापन गरिनेछ

  • आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउनको लागि गेल्डुङ बजार क्षेत्रमा पाइलट प्रोजेक्टको रुपमा अग्नि नियन्त्रक उपकरण जडान गरी सञ्चालनमा ल्याइनेछ । यसबाट सम्भावित आगलागी नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

१४) स्वास्थ्य नीति

  • गर्भवती सुत्केरी र २ वर्ष मुनिका बालबालिकाहरुको पोषणकालागि समुदायस्तरमा कार्यक्रम सञ्चालन गरिनेछ ।

  • समुदायस्तरमा देखिन सक्ने महामारीजन्य तथा अन्य रोग नियन्त्रणकालागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा समुदायको माग बमोजिम आवश्यकताका आधारमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

  • ६० वर्ष पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घ सेवा सम्मान सहित विदाई गरिनेछ । साथै महिला स्वयंसेविकाहरुलाई थप प्रोत्साहनको व्यवस्था मिलाइनेछ ।

  • जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास तथा वैकल्पिक उर्जाको व्यवस्था गरी स्वास्थ्य संस्थाबाट २४ सै घण्टा सेवा दिन सकिने गरी आवश्यक व्यवस्था मिलाइनेछ।

  • प्राकृतिक प्रकोप तथा महामारीको समयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उच्च मनोबल कायम राख्न आवश्यक सेवा सुविधाको व्यवस्था गरिनेछ ।

  • स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न आवश्यक विभिन्न तालिमहरु सञ्चालन गरिनेछ।

  • नागरिक आरोग्य सेवालाई विस्तार गर्दै लगिनेछ ।

  • नागरिकहरुको रोग प्रतिरोधी क्षमता अभिवृद्धिकालागि परम्परागत तथा आयूर्वेद चिकित्सा पद्धति एवम् योगको प्रवर्द्धन गर्दै स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको उत्पादनकालागि प्रोत्साहित गरिनेछ ।

  • विश्वव्यापी रुपमा बढ्दै गईरहेको नसर्ने रोग, मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणकालागी सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाईने छ साथै जेष्ठ नागरिक, अशक्तता र अपाङगता भएका नागरिककालागि चौमासिक रुपमा समुदायस्तरमा नै कार्यक्रम सञ्चालन गरिनेछ।

  • ढुंखर्क स्वास्थ्य चौकीमा चिकित्सक सहितको ओ. पि. डि. सेवा सञ्चालन गरिनेछ ।

  • घरमा सुत्केरी हुने दरलाई शून्यमा राख्न आमा समूहमार्फत समुदायस्तरमा गर्भवती सुत्केरी भेटघाट तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ साथै सुत्केरी घरभेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम बेथानचोकवासीको सहज र सरल पहुँचको व्यवस्था गरिनेछ साथै नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारमा औषधी र औषधीजन्य सामग्रीको बाह्रै महिना सहज आपूर्ति गरी स्वास्थ्य संस्थाहरुमा आवश्यक औजार उपकरणको व्यवस्था गरिनेछ।

  • स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधारकालागि आवश्यक व्यवस्था मिलाइनेछ ।

  • समुदायस्तरमा सञ्चालनमा रहेका खोप तथा गाँउघर क्लिनिकहरुको आगामी ३ वर्ष भित्र भौतिक संरचनालाई व्यवस्थित गरी गुणस्तरीय सेवा सञ्चालनको व्यवस्था गर्दै लगिनेछ।

  • जेष्ठ नागरिकहरुको उपचारकालागि जिल्लाभित्र रहेका अस्पतालहरुसँग समन्वय गरी सहज, सरल र निश्चित छुटको व्यवस्थापनमा पहल गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाभित्र नियमित गर्भ परिक्षण गरिरहेका गर्भवती महिलाहरुलाई बेथानचोक भित्रका बर्थिङ सेन्टरहरुमा सुत्केरी हुन आउँदा थप उपचारको लागि अस्पताल पठाउनु पर्ने अवस्था आएमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

  • गर्भवती उत्प्रेरणा तथा सुत्केरी यातायात खर्चलाई निरन्तरता दिइनेछ ।

  • ढुंखर्क स्वास्थ्य चौकीबाट मासिक रुपमा सञ्चालन भैरहेको Dental Clinic लाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।

  • संघसंस्थाबाट दिने दीर्घरोगीलाई प्रोत्साहन रकम औषधी उपचार कोषको व्यवस्था गरी प्रदान गरिनेछ ।

  • जेष्ठ नागरिकहरुकालागि निःशुल्क रुपमा आंशिक वा पूर्णरुपमा नयाँ दाँत राख्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

  • क्षयरोग नियन्त्रणलागि समुदायस्तरमा विशेषज्ञ सेवा सहित भिडियो एक्सरेको माध्यमबाट क्षयरोगी पत्ता लगाई निःशुल्क उपचारको व्यवस्थालाई विस्तार गर्दै लगिनेछ ।

  • विकास मानवको अनुहारबाट मापन गर्नुपर्छ भन्ने विश्वव्यापी मानव विकासको मान्यतालाई आत्मसात् गर्दै बेथानचोकका जेष्ठ नागरिकहरुलाई दाँत भर्नका लागि आवश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।

माथि उल्लेखित नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्न यस आ.व. ०८१/०८२ का लागि रु. ६४ करोड १२ लाख ४८ हजार बजेट विनियोजन भएको जानकारी गराउन चाहन्छु।

अन्त्यमा, यो नीति कार्यक्रमको केन्द्रविन्दुमा जनता हुनेछन् । यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि सहकार्य र समन्वय आवश्यक छ । यसको प्रभावकारी कार्यान्वयनको लागि सबैको अर्थपूर्ण सहभागीता हुनेमा विश्वस्त छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुऱ्याउनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सभाका सदस्यज्यूहरु, विषयगत समितिका पदाधिकारी, वुद्धिजिवी, समाजसेवी, राजनीतिकदलका प्रतिनिधि, शिक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै नीति तथा कार्यक्रम अनुसार यस बेथानचोक गाउँपालिकालाई ‘समृद्ध बेथानचोक, सुखी बेथानचोकवासी’ को पथमा हिँड्न सबैलाई आव्हान गर्दछु ।
धन्यवाद ।

भगवान अधिकारी

अध्यक्ष
बेथानचोक गाउँपालिका

मिति : २०८१-०३-१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

संबन्धित समाचार

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
नेपालीहरुको महान पर्व दशैको सम्पुर्णमा शुभकामनानेपालीहरुको महान पर्व दशैको सम्पुर्णमा शुभकामना
ADVERTISEMENT

ताजा समाचार