काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बेथाानचोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थान स्वास्थ्य चौकीमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । शिविर वडा अध्यक्ष कृष्ण पाख्रिनले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
मोतिविन्दुु पत्ता लगाउने र निःशुल्क उपचार गर्ने उद्देश्यले सञ्चालन गरेको सो शिविरमा १ सय ३४ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाका अनुसार चेकजाँच गर्ने क्रममा २१ जनामा मोतीबिन्दु भेटिएको छ । पीडितहरूलाई शुक्रवार (भोलि) निःशुल्क अप्रेसनको लागि बनेपा स्थित बुडोलमा रहेको रेयूकाई आँखा अस्पतालमा लगिने तिम्सिनाले बताए ।
रेयूकाई आँखा अस्पतालको प्राविधिक सहयोग, विन्ध्यवासिनी सहकारीको यातायात सहयोग र उपचारको लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने स्वास्थ्य शाखा प्रमुख तिम्सिनाले जानकारी दिए ।
शिविर चालु आर्थिक वर्ष भित्रमा सबै वडामा सञ्चालन गर्ने लक्ष्य रहेको तिम्सिनाले बताए । ‘यो शिविर हामीले सबै वडामा सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।’ उनले भने, ‘आजबाट शिविर प्रारम्भ भयो । गाउँपालिका जनताको स्वास्थ्य प्रति गम्भीर छ भन्ने प्रमाणित गर्नेछौँ ।’
कार्यक्रममा रेयूकाई आँखा अस्पतालका डाक्टरहरु, स्वास्थ्य शाखाको नर्सिङ निरीक्षक सरस्वती सिंह लगायतका सहभागिता थियो ।