काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थित ताराखसे लेकमा रहेको पोखरीमा धार्मिक घुम्न आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ । केही वर्ष अघिसम्म सुनसान हुने यो ठाउँमा अहिले पर्यटकीय संरचनाहरुको निर्माणसँगै आन्तरिक पर्यटकहरुको भीड बढ्न थालेको हो ।
समुन्द्री सतहबाट २ हजार ५५० मिटर अग्लो ठाउँमा रहेको पोखरी र नजिकै रहेको महादेवस्थानको दर्शन गर्न सकिने यो स्थलमा संघीय सरकारको १ करोड अनुदानमा पूर्वाधार निर्माण भएपछि त्यहाँ घुम्न जानेहरुको संख्यामा वृद्धि भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले वताएको छ । प्राकृतिक तथा धार्मिक महत्व बोकेको काभ्रेको रोशी गाउँपालिका र महाभारत गाउँपालिकाको संगम ताराखसे लेकको पोखरीमा धार्मिक व्यक्तिहरु जनैपूर्णिमाका दिन दर्शन गर्नेको बाग्लो भिड रहेको थियो ।
पछिल्ला वर्षहरूमा प्रत्येक वर्ष करिब ३ सयभन्दा बढी झाँक्रीहरूले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि यहाँ पूजापाठ गरिने गरिएको छ । बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र तीर्थस्थलको रुपमा परिचित बन्दै गएको ताराखसे पोखरीका थुप्रै विशेषता रहेको वडाध्यक्ष धनजित लामा बताउँछन् । जंगलको बीच भागमा रहेको पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई लोभ्याउँछ । ताराखसे पोखरी प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा परिणत भएको र पछि नागहरु आएर बसेको किंवदन्ती रहेको वडाध्यक्ष लामाले जानकारी दिए । यहाँको पोखरीमा पानी कालो रंगको देखिन्छ तर भाँडामा भरेपछि निकै कञ्चन देखिनु पनि फरक विशेषता बनेको छ । पोखरीमा वरिपरिका पातहरु खसेपनि कहिले पनि तैरिदैनन् । यहाँको महादेवको दर्शन गरे र पोखरीमा नुवाउने हो भने मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । उच्च भागमा रहे पनि यहाँको पानी कहिले पनि सुक्दैन, चिसो र पिउनयोग्य छ ।
पोखरी परिसरमा सयौँ वर्ष पुराना रुखहरु, ताराकुण्ठेश्वर महादेव, सिता पाइला र केही पर हात्तीआहाल, रामलक्ष्मण मन्दिरलगायत धार्मिकस्थलहरु रहेका छन् । संरक्षण र प्रचारको पखाईमा रहेको यस पोखरी अहिले भने ऐतिहासिक, प्राकृतिक एवम् धार्मिकरुपमा चर्चामा आउन थालेको छ । यहाँबाट हिमाली मनोरम दृश्यहरुको अवलोकन पनि गर्न सकिन्छ । विशेषगरि जनैपूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्छ । यस वर्ष पनि सोमबार यहाँ विशेष मेला लागेको र मेला भर्न टाढाटाढाबाट सयौंको संख्यामा भक्तजनहरु आएका थिए ।
कसरी पुगिन्छ ?
काभ्रेको धुलिखेल नगरपालिका स्थित काभ्रेभञ्याङबाट ३० किलोमिटरको दुरीमा छ यो ठाउँ । नमोबुद्ध, दाप्चा, गहते, फलामेसाँघु, शिखरआम्बोटे हुँदै निगालेको उकालो चढेर जानु पर्छ । दुरीको हिसाबले नजिकै जस्तो लागे पनि कच्ची सडक र वर्षायाममा पानी पर्ने हुँदा यहाँ पुग्न केही बढी नै समय लाग्छ । नगरपालिकाले सबै १२ वटै वडामा कच्ची सडकहरु पुर्याएको छ । विस्तारै ती सडकलाई ग्राभेल गर्ने काम शुरु भएको र अबको केही वर्षभित्रै यस धार्मिक गन्तव्यसम्म जाने सडकलाई व्यवस्थित गराउने रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । यहाँका सडक व्यवस्थित बनाउन सके रोशीका उत्पादनहरुलाई बजार लैजान पनि सहज हुने उनको भनाइ छ ।
के के निर्माण भए ताराखसे पोखरीमा ?
धार्मिक गन्तव्य ताराखसे पोखरी अहिले उल्का पिण्ड खसे जस्तै कुनै बेला ताराको एक टुक्रा खसेर यहाँ ताल बनेको मान्यता छ । हाल पालिकाले यहाँ व्यवस्थित विश्रामस्थलहरु बनाएको छ । नजिकै खानेपानीका धारा र शौचालयहरु निर्माण भएका छन् । पोखरी वरीपरि रेलिङहरु बनाइएको छ । त्यहाँसम्म पुग्न सिंढीहरु र पिकनिकस्पटहरु पनि निर्माण भएका छन् । वरिपरिका सडकपेटीहरु पक्की बनाइएको छ । यसकै कारण यहाँ आन्तरिक पर्यटकहरु आउने गरेका पालिकाका उपाध्यक्ष मिमबहादुर वाइवाले बताए । यहाँको प्रचारप्रसार नभएका कारण पर्यटकीय गतिविधीहरु बढ्न नसकेको उनको भनाइ छ । यहाँ बाहिरी पर्यटक पनि ल्याउन जरुरी रहेको र पालिका यसका लागि सक्रियताका साथ लागिरहेको वाइवाको भनाइ छ ।
रसुवाको गोसाइँथान जतिकै धार्मिक हिसाबले महत्वपूर्ण, पर्यटकीय हिसाबले उत्कृष्ट हावापानी र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण ताराखसे पोखरीको संरक्षणका लागि पालिका सधैं सक्रिय रहेको उनले बताए । सोमबार एक कार्यक्रमका बीच यहाँ निर्माण भएका भौतिक संरचनाहरुको रोशीका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा, वडाअध्यक्ष धनजित लामालगायतले उद्घाटन गरेका थिए ।