नेपालको नमुना गाउँ तथा पुर्ण साहाकारी, पुर्ण साक्षरता भएको गाउ को रुपमा परिचीत नेपालको संघीय संरचना अन्तरगत २ नं प्रदेश स्थित नेपालकै मध्ये तराइ क्षेत्रमा रहेको साविक नारायणी अंचल, रौतहट जिल्ला अर्न्तगत साविक डुमरिया गा.वि.स. वडा नं २ हाल चन्द्रपुर नगरपालिका वडा नं. मा स्थित नजरपुर गाउमा पिता गोपाल प्रसाद तिमल्सिना, माता मिरादेवी तिमल्सिना को कोखबाट बि.स २०४४ साल मंसिर ४ गतेका दिन जन्म लिएका नवीन कुमार तिमल्सिना अहिले Health Assistant, Social Work, MPAको अध्ययन गर्दै आफ्नो संगीत को यात्रा लाई निरन्तर अगाडि बढाउदै आएका छन ।
प्रस्तुत छ इन्द्रेणीमाला डटकमका लागि सन्तोष बजगाईले संगीत को क्षेत्रमा लागेका भर्खरका युवा संगीतकार, बाद्यबादक एवं विभिन्न कार्यक्रम प्रस्तोता नवीन कुमार तिमल्सिना सङ्ग गरेका कुराकानी…….
– तपाई अहिले के मा व्यस्त हुनुहुन्छ ?
श्री निजानन्द सम्प्रदाय, श्रीकृष्ण प्रणामी धर्म सर्ग सम्बन्धित विभिन्न साङ्गितिक, आध्यात्मिक एवं धार्मिक कार्यक्रमको निर्माण र प्रस्तुतीको प्रयासमा छु ।
– तपाईले यो संगीतको क्षेत्र किन रोज्नु भयो ?
संगीतको क्षेत्र रोजेको भन्दा पनि यो त मेरो बालककाल देखिनै निरन्तर मन मष्तिस्कमा बसेको कुरा हो । मैले रोज्नु अघि नै धेरै गीत, संगीत, भजन, आदि ले मेरो मन मष्तिस्कमा स्थान पाईसकेका थिए ।
– तपाईले यो संगीतको क्षेत्र कहिले वाट सुरु गर्नुभयो ?
मेरो गाँउ श्री निजानन्दधाम, नजरपुर अध्यात्म सगं सगै संगीत उर्वरा भुमी हो। मैले थाहा पाउदा देखिनै हामी हरेक साँझ मन्दिर जान्थ्यौ र हार्मोनियम, ढोलक, आदि बजाउदै सुन्दर ढगले सेवा पुजा गाउथ्यौ । मैले जानेर संगीत क्षेत्र मा प्रवेश गर्नु अघिनै संगीतले मलाई आफ्नो क्षेत्रमा तानिसकेको थियो ।
– तपाईलाई यस संगीतको क्षेत्रमा लाग्दा कस्तो अनुभव भईरहेको छ त ?
मलाई संगीत सहितको जिवन पूर्ण लाग्छ। हामी कुनै चिजको गहिराईमा पुग्न चाहान्छौ भने काहि न काहि संगीतको साहारा चाहिन्छ, चाहे त्यो सांसारिक भौतिक होस् चाहे धार्मिक आध्यात्मिक। मेरो हरेक दिनको केहि हिस्सा संगीतलाई छुट्टाएको हुन्छु, जसले मलाई जिवन साच्चै शुन्दर छ भन्ने आभास दिलाएको महसुस गर्छु ।
– तपाईले संगीतको क्षेत्रलाई कुन रुपमा लिनुहुन्छ ?
संगीत क्षेत्रलाई ठ्याक्कै यहि हो भनेर प्रस्तुत गर्न त गाह्रो होला। यो सागर हो। दुख र एकान्तको वेला साथी हो, सुखको वेला उत्सव हो, संगीत गहिरो भावना हो, संगीत पेशा पनि हो र जीवन भोगाईको पर्याय पनि । अवस्था र परिवेश अनुसार म संगीतलाई विभिन्न रुपमा पाउछु ।
– तपाईले संगीत को क्षेत्रमा लाग्दा कुनै अवार्डहरु पाउनु भएको छ ?
म २०६६ सालको राष्ट्रिय भक्ति संगीत प्रतियोगिताको उत्कृष्ट रचनाकारको रुपमा पुरस्कृत भए, सन् २०१४ मा अन्तर कलेज म्यूजिक कम्पिटिसनमा वाद्यवाधनमा बाँसुरी तर्फको विजेता भए, २०७८ मा नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड, सन् २०२१ मा स्पर्श म्यूजिक भिडियो अवार्ड, सन् २०२४ मा स्टार म्यूजिक भिडियो अवार्ड आदिमा वर्ष उत्कृष्ट म्यूजिक एरेन्जरको रुपमा उत्कृष्ट ५मा मनोनयन भएका क्षणहरुले संगीत क्षेत्रकै वरिपरि रहिरहन प्रेरणा मिलेको छ।
– तपाईले आजसम्म कति एल्वम निकालिसक्नु भयो त ?
मेरो एकल म्यूजिक एरेन्जमा अहिले सम्म ४ वटा एल्वमहरु विमोचन भईसकेको छन् भने केहिको रेकर्डिङ्ग सकिएको छ । त्यस अलावा करिव ३ दर्जन गीत भजन आदिमा संगीत गरेको छु भने करिव ३०० गीत, फिल्मी गीत, भजन आदिमा म्यूजिक एरेन्ज गरिसकेको छु ।
– अब तपाई के गर्नु हुन्छ त ?
म हरेक दिनको केहि हिस्सा जसरि संगीतलाई छुट्टाउने गरेको छु त्यसरिनै निरन्तर रुपमा संगीतमा संस्कार सहितको नयाँ प्रयोगमा लागि रहनेछु ।
– संगीतको क्षेत्रमा लाग्ने युवाहरुलाई तपाई के भन्न चाहानुहुन्छ।
भाईरल र ट्रेन्डिङ संगीत भन्दा हृदय स्पर्श गर्न सक्ने संगीतले लामो समय आफ्नोपन पाउन सक्छ । संगीत क्षेत्रमा आजको भोली नै प्रतिफल देखिदैन तर निरन्तरताले एक दिन पक्कै सफलता देखाउनेछ । ट्रेन्डिङ संगीत भन्दा पनि आफू भित्रको मौलिक संगीतलाई सुन्ने हो भने सफलता सर्गसगै आत्मा सन्तुष्टि मिल्छ र त्यसैलाईनै प्राथमिकतामा राखौं भन्न चाहान्छु ।
– नेपालमा तिब्र रुपमा बिकास गर्नका लागि सरकार मा रहने लाई तपाईं के सुझाव दिनुहुन्छ ?
विशेषगरी नेपाल धार्मिक ,प्राकृतिक विविधताले भरिपूर्ण देश हो।यहाँ पर्यटनको यति धेरै सम्भावना छ कि जुन तरिकाबाट गएपनि हरेक समुदायमा हरेक क्षेत्रमा सङ्गीतको अलग्गै किसिमले रचना गरिएको हुन्छ जस्तै नेवारी ,राई ,लिम्बु,ब्राह्मण सबै सम्प्रदायमा फरक फरक महत्व र स्थान छ।यसरी विविधतामा एकता भएको देशमा पर्यटकीय दृष्टिबाट हाम्रो देशको विकासक्रम चरम सिमामा पुर्याउन सकिन्छ।अर्थात् हाम्रो पुर्वीय सभ्यताको संस्कृत श्लोक, ध्वनि , प्रतिध्वनि र त्यसको आवाजले उनिहरु यहाँ आएर पर्यटन विकास हुन्छ भन्ने मेरो धारणा हो।
– तपाईलाई साङ्गेतिक क्षेत्रमा लाग्न को लागि स्थानीय सरकार वा नेपाल सरकार बाट कस्ता नीति लेराउनु पर्छ जस्तो लाग्छ ?
नेपालमा भएका प्रत्येक धार्मिक स्थलमा हुने जस्तै सन्ध्या आरती, धार्मिक अनुष्ठान, आदि द्वारा तिनिहरुको वास्तविक पहिचान के हो, त्यहाको सङ्गीतको स्ट्याटस्ले के झल्काउने गर्छ, त्यसलाई सरकारी स्तरबाटै बजेट र प्रोत्साहन दिएर अगाडि बढ्न सहयोग गर्नुपर्छ अनि पर्याप्त प्रचार प्रसारको लागि पनि राज्यले सहयोग गरि कयौं वर्षबाट लुप्त रहेका विविधताहरुको उत्थानमा र प्रवर्द्धनमा सहयोग हुने नीति लेराउनु पर्छ जस्तो मलाई लाग्छ।
– अन्त्यमा तपाईं के भन्नू हुन्छ?
अन्त्यमा तपाईं को पत्र पत्रीका का सबै टिम लाई धन्यवाद र यहीँ सङ्गित लाई सधैं अघि बढाई आउने दिनमा बिगतको जसरी नै नयाँ नयाँ कोसेली प्रस्तुति लिएर हजुरहरुलाई मनोरञ्जन दिईराख्ने छुि