बेथानचोक : काभ्रे जिल्लको बेथानचोक गाउँपालिकामा गृहिणी महिलालाई व्यावसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ५ दिने व्यावसायिक तालिमबाट ५२ जान गृहिणी महिलाहरुले तालिम लिएको थियो ।
वागमती प्रदेश सामाजिक विकास मन्त्रालयकर र बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । तालिम आषाढ १६ गतेबाट शुरु भई २० गते सम्पन्न भएको थियो । ५२ जान गृहिणी महिलाहरुलाई तालिम प्रशिक्षक मिरा बजगाईले प्रदान गर्नु भएको थियो । प्रशिक्षक आफै पनि एक उधामी भएको कारणले तालिम सहज रुपमा प्रदान गरेको थियो ।
तालिम पस्चात गृहिणी महिलाहरुले व्यवासय दर्ता गरि व्यवासय सुरु गरेमा बेथानचोक गाउँपालिकाले वजारीकरणको लागि सहज बनाउने अधिकृत भण्डारीले जानकारी दिएको छ ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले महिला सीपवान भए आर्थिक समुन्नति हुने बताउनु भयो । उहाँले महिलाका सीप चुलो चौको मै सिमित हुँदा आर्जित सीप व्यावसायिक नभएकोले आय आर्जनका सवालमा महिला पछि परेको औल्याउनुभयो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिमले महिलाहरुलाई आत्मबल बढाउने, आर्थिक रुपले अगाडी हुने हुँदा सीपमुलक तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्ना समेत आग्रह गर्नुभएको छ । उहाँले जनप्रतिनिधिले महिलाको सीप, दक्षता विकासमा ध्यान दियौं भने महिलाले व्यहोरेको अपमान, असमानता विस्तारै न्युनीकरण हुँदै जाने कुरा औल्याउनु भयो ।
सहभागीहरुले तालिममा १२ प्रकारको अचार बनाउन सिकेको थियो । आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, हरियो अकबरे खुर्सानीको मसला अचार, मथीको टुसाको अचार, खुर्सानीको धुलो र टिमुरको अचार, कागतीको अचार, मेथीको धुलो तथा लेदोको अचार बनाउन सिकेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिनुभयो ।