काभ्रे : जिल्लाको पनौती नगरपालिकाको १५ औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख रामशरण भण्डारीले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अर्ब ६० करोड बजेट विनियोजना गरेको जानकारी दिएका छन । नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
कृषि तरकारी बजार क्षेत्रलाई व्यवस्थित गरिनुका साथै देशका अन्य ठुला शहरमा रहेका तरकारी तथा कृषि बजारसँग आवद्ध गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रत्येक वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुर्याइने, पनौती नगर क्षेत्र भित्रका व्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुनेगरी भवनको अग्र भागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशत नबढ्नेगरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराइने नगर प्रमुख भण्डारीले बताएका छन ।
नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्रका जटिल रोगबाट प्रभावित व्यक्ति, सुत्केरी,जेष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ । यस्तै चालु आर्थिक वर्षमा उल्लेख्य उपलब्धी हासिल गरेको नगर प्रमुख भण्डारीको दाबी छ ।
हालसम्म २ दशमलव ७ किलोमिटर सडक कालोपत्रे, ७ दशमलव ४ किलोमिटर ढलान, ६ किलोमिटर नयाँ ट्रयाक खन्ने कार्य भएको उनले बताए । यस्तै ७ दशमलव ३ किलोमिटर पक्की नाला निर्माण, ११ वटा ट्याङकी निर्माण हुनुका साथै ७ वटा मन्दिर पाटी पौवा निर्माण भएको उप–प्रमुख गिता बञ्जाराले जानकारी दिइन् ।
चालु आर्थिक वर्षमा १ सय ९ जना विरामीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनले बताइन् । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने लगायत नगरसभा सदस्य, विभिन्न शाखा प्रमुखको उपस्थिती रहेको थियो । नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रममाथी जिज्ञासा राखेका थिए भने सभाअध्यक्ष नगर प्रमुख रामशरण भण्डारीले जिज्ञासा सम्बोधन गरेका थिए ।