काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार एक विशेष कार्यक्रमका साथ गाउँपालिकाव्यापी कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा १० विद्यालयका २७ छात्रछात्राको उपस्थित रहेको थियो । प्रतियोगितामा आफ्ना उत्कृष्ट कविता वाचन गरेर दर्शकहरूको मन समेत जितेको छ । प्रतियोगिता अत्यन्त उत्साहजनक र प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा श्री कृष्णगोपाल माध्यमिक विद्यालयकी छात्रा कुसुम तिमल्सिनाले ’ऊ र म’ शीर्षकको कविताले प्रथम स्थान प्राप्त गरिन् । उनले आफ्नो कविता मार्फत गहिरो भावनात्मक प्रभाव पार्न सफल भइन् । द्वितीय स्थान ’मलाई मन छ’ शीर्षकको कविता प्रस्तुत गरेर सरस्वती माविकी छात्रा उषा श्रेष्ठले हासिल गरिन्, जसले बाल्यकालका सपनाहरूलाई समेटेको थियो । तृतीय स्थानमा ’म को हुँ’ शीर्षकको कविता मार्फत वर्षा तामाङले आफ्नो पहिचान खोजीलाई मार्मिक रूपमा प्रस्तुत गरिन् ।
सोनिका सेन्चुरी, इन्द्रबहादुर लोप्चन, डोल्मा तामाङ र सरिता सुनारले सान्त्वना पुरस्कार सोत जिते । निर्णायक मण्डलमा रहेका कवि अभय श्रेष्ठ, विश्व सिग्देल र दीपक सापकोटाले प्रतिस्पर्धी कविताहरूको उत्कृष्टतामा अचम्म माने । कवि विश्व सिग्देलले बालबालिकाहरूका कविता परिपक्व र कुसल शिल्पीले बुने झैँ रहेको बताउँदै उनीहरूको प्रयासको प्रशंसा गरे ।
प्रतियोगिताको दोस्रो सत्रमा बेथानचोकका प्रतिभावान व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिएको थियो। प्रख्यात संगीतकार राजेश थापा मगर र १०+२ मा विज्ञान संकायतर्फ नेपालभरि सर्वोत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थी रजित दाहाललाई विशेष सम्मान प्रदान गरियो ।
सम्मानित व्यक्तित्व र प्रतियोगिताका विजेताहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकालले दोसल्ला र प्रमाणपत्र प्रदान गरे। अध्यक्ष ढकालले यस्ता कार्यक्रमहरूले बालबालिकाको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू पुनः आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न र सिर्जनशीलतालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस किसिमका कार्यक्रमहरूले गाउँपालिकाको शैक्षिक र सांस्कृतिक विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।