काभ्रे : एसईई परीक्षा २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका ४० केन्द्रमा २ सय १६ माध्यमिक विद्यालयबाट ५ हजार ९ सय ५६ विद्यार्थी सहभागि हुने भएका छन् । विद्यार्थीहरुको परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरिएको छ । परीक्षामा नियमित तर्फ ५ हजार ७ सय १९, २ सय ५ प्राविधिक र ३२ जना एक्जाम्टेड छन् ।
शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उपसचिव देवका ढकालले गत वर्ष कायम भएका केन्द्रहरुलाई नै यो वर्ष निरन्तरता दिएको बताईन् । कृष्ण मावी दाप्चाले प्राविधिक कारण देखाउँदै केन्द्र राख्न असहमति गरे पछि नजिकै रहेको लक्ष्मी नारायण मावीमा केन्द्र राखिएको छ भने तेमालमा रहेको पञ्चकन्या मावीबाट नारायणस्थान मावी पोखरीनारायणस्थान सारिएको छ ।
परीक्षा केन्द्रको ब्यवस्थापन, केन्द्राध्यक्षहरुलाई तालिम, प्रश्नपत्र र उत्तरपुस्तिकको ढुवानी तथा सुरक्षा लगायतका विषयमा आवश्यक तयारी भईरहेको उप सचिव ढकालले बताईन् । परीक्षा दिनेहरुमा बहिरा विद्यालयबाट ११ जना छन् । ३४ वटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी छन् । गाउँमा रहेका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको छ । शहरी क्षेत्रका विद्यालयहरुमा नीजिमा भन्दा सामुदायिकमा धेरै देखिएका छन् ।
आजाद मावी बनेपाबाट खुल्ला तर्फका १० जना विद्यार्थी परीक्षामा सहभागि हुँदै छन् भने अनौपचारिक तर्फ १ सय ८१ जना विद्यार्थी विद्याकुञ्ज अनौपचारिक मावीबाट सहभागि हुँदैछन् । आईतबार फागुन २७ गते केन्द्राध्यक्षहरुलाई परीक्षाका बारेमा प्रशिक्षण दिईएको छ । परीक्षा चैत्र २७ गते सकिनेछ । परीक्षाका लागि आवश्यक सुरक्षा ब्यवस्थाका साथ अन्य तयारी गरिएको छ ।
स्रोतः मदानीविट डटकम