कोलोराडो, अमेरिक : तामाङ समाज कोलोराडोको आयोजनामा तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८६०औं डुग ल्हो सोनाम ल्होछार मनाइएको छ । अमेरिकको कोलोराडोस्थित बोल्डर नगरमा शनिबार ‘ल्होछार संस्कृतिक साँझ’ गरि ल्होछार मनाइएको हो । एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल र तामाङ समाज कोलोराडोको संयोजक तथा कार्यक्रमको सभापती संन्दिप लामाले संयूक्त रुपमा छ्युमे बालेर ल्होछार साँझको उद्धाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी पौडेलले सोनाम ल्होछारको शुभकामना दिदै कोलोराडोमा रहेका सबै संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढ्न एनआरएन कोलोराडो सधै तत्पर रहेको बताए । त्यस्तै तामाङ समाज कोलोराडोको संयोजक तथा कार्यक्रमका सभापती संन्दिप लामाले हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने हुँदा यसको संरक्षण तथा जगेर्नाको लागि आफ्नो सन्ततीमा हस्तान्तरण गर्दै लानु पर्ने बताए ।
उनले भने, ‘तामाङ संस्कृतीको पहिचाहन गराउनुको साथै संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको हो।’ संयोजक लामाले कार्यक्रम सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग पु¥याउने तथा कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । गायक समेत रहेका बुद्धिमान वाइबाले स्वागत मन्तव्य राख्ने क्रममा ल्होछारेको महत्व बारे प्रकाश पारेको कार्यक्रमको सन्चालन भने संगीता लामा लामीछानेले गरेकी थिइन् ।
कार्यक्रममा चर्चित गायक मिलन लामा, गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल तथा डान्सर रश्मी तामाङ लगायतका कलाकारको प्रस्तुतिले सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो भने विदेशीनु पर्ने अवस्थासँगै तामाङ इतिहास बारेको कविता समेत वाचन गरिएका थिए । कार्यक्रममा कोलोराडोमा सकृय संघ/संस्थाका प्रतिनिधी, बुद्धिजीवी, व्यवसायी, पत्रकारसँगै कोलोराडोमा बस्दै आएको नेपाली भाषी तामाङ तथा गैरतामाङ समुदायको बाक्लो उपस्थिति रहेको थियो । उनीहरु कार्यक्रममा जातीय पहिचान तथा संस्कृति झल्किने पहिरहनमा सजिएर सहभागी भएका थिए ।