काभ्रे बनेपा : महान् जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलले सहादत प्राप्त गरेको फागुन १४ गतेदेखि झापा विद्रोहको क्रममा तत्कालीन पञ्चायती शासकले जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर राजबन्दीहरुलाई हत्या गरेको दिनसम्मको अवधि(फागुन १४–२१)लाई माओवादी केन्द्रले जनयुद्ध क्रमबाट सहिद सप्ताह मान्दै आएको छ। सहिद सप्ताहको अन्तिम दिन आज नेकपा(माओवादी केन्द्र)मा आबद्ध ज.व.स. तथा मोर्चा संगठन काभ्रेको आयोजनामा सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनको बलिदान महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख अग्नी प्रसाद सापकोटाले नेपाली कांग्रेसको दम्भ र अहंकारको कारण वर्तमान गठबन्धनमा फेरबदल आएको बताउनु भया । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन, कोशी प्रदेशको सरकार गठनमा धोका दिएको,शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक सदनमा प्रस्तुत गर्न रोकेको, भ्रष्टाचारमा डुवेको मन्त्रीहरू र असक्षम मन्त्रीलाई हटाउन नचाहेको कारण गठबन्धन तोड्नु परेको स्पष्ट पार्नु भएको थियो। महान् सहिदहरूको उच्च बलिदान, पार्टी सहिको नेतृत्वमा सञ्चालन भएको महान् जनयुद्ध र जन आन्दोलनको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउनु भयो ।
महान सहिदहरूको सपना पूरा गर्न बैचारिक, राजनीतिक, साँस्कृतिक पुनरगठन गर्दै शक्तिशाली विचार मार्क्सवादलाई समृद्ध पार्दै समाजवाद र महान् साम्यवादको दिशामा लाग्नु पर्नेमा जोड दिनुभएको थियोे। कार्यक्रममा बागमती प्रदेश समितिको अध्यक्ष सरल सहयात्रीले सपना साकार पार्न सबै तहको पार्टी कमिटीहरूको तहगत नेता कार्यकर्ताहरू आफूले आफैंले पहिचान गरेर अमुर्त पार्टी खोज्ने होइन आफ्नो कर्तव्य, जिम्मेवारी बोध गरि आ–आफ्नो दायित्व पूरा गर्न देश र जनताप्रति इमानदार लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला संयोजक भोला प्रसाद अर्यालले सम्बोधन गर्नुभएको थियो। सहिद परिवारहरूको तर्फबाट सहिद शेर सिंको भाइ राज कुुमार तामाङले पनि सम्बोधन गर्नुभएको थियो।
उक्त कार्यक्रमका अतिथिहरू संघीय सांसद सूर्यमान दोङ, प्रदेश सांसद रत्न ढकाल र रुकु चौलागाईं पार्टीको केन्द्रीय सदस्यहरु दिननाथ गौतम, गंगा बहादुर तामाङ(बमध्वज),कृष्ण अधिकारी तेज बहादुर मिजार,बागमती प्रदेश समितिका सचिवालय सदस्य एवं जिल्ला सह–इञ्चार्जहरु मिम बहादुर वाईवा ज्वाला, रेणुका चौलागाईं बागमती प्रदेस समिति सचिवालय सदस्य एवं जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील) सचिवालय सदस्य मिना पाख्रिन प्रदेश सदस्यहरु आइत सिं लामा ,नारायण बानियाँ दिपेस, होम बहादुर खुलाल ,गोपाल घिमिरे, उषा अर्याल र यादव ढंगेल लगायतका नेताहरूको उपस्थिति रहेको थियोे । कार्यक्रमको अध्यक्षता अनेमसं(क्रान्तिकारी) जिल्ला अध्यक्ष सुन्तली थिङ र अखिल(क्रान्तिकारी) अध्यक्ष विजय लामाले सञ्चालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य बुद्धिजीवी संगठनको जिल्ला चन्द्रप्रसाद मैनाली र राजकुमार तामाङले दिनुभएको थियोे ।