काभ्रे / काभ्रेको खानीखोला गाउँपालिकाको वडा नः ४ ले यहि फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।
माझी समुदायले १५ गते आफ्नो मुख्य लदी पर्व कोसी पूजा मनाउँदै छन् । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार विशेष पर्वको रूपमा लदी पर्व मनाउने गर्दछन् ।
लदी पर्वको अवसरमा माझी समुदायको बाक्लो बसोबास रहेको गाउँपालिकाको नः ४ वडाले सार्वजनिक बिदा दिएको छ । लदी पर्वको दिन वडा भित्र रहेको विद्यालय, संघसंस्था र सरकारी कार्यलयहरु बिदा हुने निर्णय भएको वडा अध्यक्ष निसान मोक्तान बताए ।
माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहँदै आएको छ । जसअनुसार नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजा आज गर्दै मनाउँदै आएको छ ।
माझी समुदायले त्यो दिन खोलाको संगममा सामूहिक विशेष पूजाआज गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने चलन रहि आएको छ ।
खानीखोला वडा नः ४ मा माझी समुदायको बाक्लो बसोबास रहेको छ ।