काभ्रे / जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकमा अनशन सुरु गरेका छन । धुलिखेल खावा सडक निर्माण कार्य सुस्त भएको र जनताले दुःख पाएको भन्दै उनले अनशसन सुरु गरेका हुन् । निर्माण कार्यमा भएको ढिलाई अन्त्यका लागि अनशन बसेको उनले बताएका छन ।
चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको भन्दै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पटक–पटक संसदमा आवाज उठाउने गरेका छन भने समन्वय प्रमुख गौतमले सरोकारवालासँग पटक–पटक छलफल गरेका थिए । तर निर्माण कार्य अलपत्र छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत धुलिखेल–खावा सडक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटोभन्दा छिटो बाटो बनाउन पहल गर्ने बताएका हुन् । उनले यहाँबाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दा छिटो बाटो बनाउनका लागि पहल गर्ने बताएका थिए । तर हालसम्म कुनै प्रगति भएको छैन ।
प्रधानमन्त्री प्रचण्डले भने, म यहाँ आउँदै गर्दा बाटोमा धुलिखेलबाट मैल सोचेको थिएँ यो बाटो अब त बनिसक्यो होला,अब त सरर जान पाइएला भनेको बाटो त । बाटोभरी मैले ड्राइभरलाई पनि म सँग बस्ने सुरक्षा अधिकारीलाई पनि के भएको यो अहिले पनि उस्तै रहेछ भन्दै आएँ ।
यहाँ आउँदा अहिले ज्ञापनपत्र पनि देखेँ । यहाँबाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दान छिटो यो बाटो बनाउनका लागि पहल गर्ने विश्वास म तपाइहरुलाई दिलाउन चाहन्छु ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो ।
तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।
निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको छ । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् भने दैनिकजसो दुर्घटना हुने गरेको छ ।
काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । स्रोतः मदनी विट