काठमाण्डौ / काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ ।
आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ ।
आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो । पानी पर्न रोकिएपछि हिजो बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।