जीवन तामाङ
खानीखोला, काभ्रे : जिल्लाको खानीखोला गाउँपालिका–४ फुलडाँडास्थित श्री वीर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई टपरी बुन्न सिकाएका छन् । विद्यालयका प्रधानाध्यापक भरत लामाले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षातर्फ जोड दिन अतिरिक्त समयमा विद्यार्थीलाई टपरी बुनाई सिकाएको जानकारी दिए ।
प्रधानाध्यापक लामाले गाउँमा नै उपलब्ध स्रोतलाई प्रयोग गर्दा प्लास्टिकजन्य सामाग्री खपत कम भइ आर्थिक भार नपर्ने, पर्यावरणका लागि वनस्पतिको प्रयोग राम्रो हुने र विद्यार्थीहरूले परम्परागत सीप पनि सिक्ने भएकाले टपरी बुन्न सिकाएको बताए ।
‘किताबका पानाको घोकाइमा भन्दा कहिलेकाहीँ जीवन चलाउनका लागि आवश्यक पर्ने सीपलाई पनि प्राथमिकतामा राखेर विद्यालयले केही न केही गर्ने गरि अघि बढिरहेका छौँ’, प्रधानाध्यापक लामा भने ’रुचि अनुसारको सीप सिकाउने र त्यसमा व्यावसायिकता प्रदान गर्न सक्ने हो भने स्वदेशमा बेरोजगारीको अभावमा कमी आउने छ ।’ यस्तो उपयोगी कार्यक्रम गाउँपालिकाले अभियानकै रूपमा सुरु गर्नु पर्ने प्रधानध्यापक लामाको भनाइ छ ।
त्यस्तै शिक्षक विषणु दाहालले अहिले पेपर प्लेट वा प्लास्टिकजन्य सामग्रीहरू आयात गर्ने चलन बढिरहेको अवस्थामा पातबाट बनाइएका टपरीहरू करिब विस्थापित भइसकेको बताए ।
त्यस्तै शिक्षिका मिममाया मोक्तानले गाउँमा पाइने जैविक वस्तुहरूको महत्त्व र ‘प्लास्टिक’को ठाउँमा कुहिने वस्तुहरूको प्रयोगको बारेमा सबैले एक भएर नसिकाए पृथ्वीमा देखिएका अनेक प्रकारका पर्यावरणीय समस्या हाम्रै पालामा देखिने बताइन् ।
विव्यस अध्यक्ष ज्ञान बहादुर थिङले अहिलेको पुस्ताले ‘लाइफ स्किल’ सिक्न नखोज्ने, पुरानाले नसिकाउने तथा सिकाउन सक्ने पुरानो जनशक्तिको अभाव पनि हुँदै गएकाले परम्परागत सीपमा लोप हुँदै गएको बताए ।
अर्का शिक्षिका रेलीमाया मोक्तानले विद्यार्थीको उमेर सिक्नका लागि आतुर हुने र सिकाएको कुरा पनि छिटो सिक्ने हुँदा जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राखी विद्यालय केही न केही सीपहरूलाई व्यवहारिक रूपमा सिकाउन लागि परेको बताइन् । शिक्षक युकेश वाइबाले अध्ययनमा कम उपलब्धि स्तर हासिल गरेका विद्यार्थीले पनि जीवनोपयोगी सीप सिकाई र प्रयोगमा राम्रो गरेको देखिएको बताए ।
विद्यालयले विद्यार्थीको इच्छा अनुसार ‘बुक फ्री डे’ मा टपरी बुन्ने प्रतियोगिता नै सञ्चालन गर्ने योजना समेत रहेकोे जनाइएको छ ।
खानाको लागि प्रयोग गरिएका प्लास्टिकजन्य वस्तु नकुहिएर माटोमा असर गरिरहेका छन्। तर पातबाट बनेका टपरी केही समयमा नै कुहिने भएकोले यसको प्राङ्गारिक मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
आयातित वस्तुको पहुँच नभएको बेलामा नेपालकै मौलिक र परम्परागत वस्तु र सीपले सदियौँदेखिको दैनिकी चलिरहेको भए पनि पछिल्लो समयमा आयातित वस्तुले त्यसलाई विस्थापन गर्दा मौलिकता र सीप नै जोखिममा परेको छ ।