खानीखोला, काभ्रे: जिल्लाको विकट खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन बिदा दिने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो । खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले गाउँपालिकाको ०८० माघ २४ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते ३ दिन सार्वजनिक बिदा दिएको बताए ।

अध्यक्ष थिङले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त खानीखोलाबासीलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष थिङले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् । तामाङ संस्कृति र उत्पतिबारे ताम्बा तथा डाम्फु प्रतियोगिता अध्यक्ष थिङका अनुसार ल्होछारको अवसर पारेर गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ खानीखोलाको आयोजनामा “ताम्बा तथा डाम्फु प्रतियोगिता” सहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । सो गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।
खानीखोलामा अघिल्लो बर्ष पनि ल्होछारको अवसरमा ३ दिन बिदा दिनुका साथै तामाङको संस्कृति तथा जातिको उत्पति विषयक “ताम्बा तथा डाम्फु प्रतियोगिता”, “तामाङ भाषामा व्हाइख (कविता) प्रतियोगिता”, “खानीखोला प्रतिभा सम्मान” सहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो । ताम्बा तथा डाम्फु प्रतियोगिता यसैको निरन्तरता हो । खानीखोलाले मगर समुदायको माघे संक्रान्ती, गरुङको तमु ल्होछार लगायत पालिकाभित्र रहेक सम्पुर्ण जातिको पर्वहरुमा आर्थिक रूपमा सहयोग गर्दै आएका छन् ।